खोटाङ । खोटाङमा चोरी तथा लुटपाटका घटना वृद्धि हुन थालेपछि जिल्ला प्रहरी कार्यालयले सचेतता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । जिल्ला तथा छिमेकी जिल्लाहरुमा अपरिचित व्यक्ति तथा समूह आएर विभिन्न बहानामा चोरी तथा लुटपाट गरेको उजुरी बढ्न थालेपछि प्रहरीले सार्वजनिक सूचना जारी गर्दै सचेतता अपनाउन आग्रह गरेको हो ।
गाउँ, टोल तथा घरमा जडिबुटी बेच्ने, धामी झाँक्री गर्ने, सामान बेच्ने, लत्ताकपडा बेच्ने र भिक्षा माग्ने आदि बहाना बनाउँदै आएका अपरिचित व्यक्तिहरुबाट सचेत रहन प्रहरीले अनुरोध गरेको छ । कुनै पनि व्यक्ति वा समूहले घरमा वास माग्ने गरेमा स्पष्ट परिचय लिएर अनुमति लिइ फोटो खिचेर तथा स्थानीय जनप्रतिनिधि, टोल छिमेक र प्रहरीलाई जानकारी गराएर मात्र वास दिन प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्लामा सञ्चालित होटल, लज र रेष्टुरेन्टमा वास बस्न आउने व्यक्ति तथा समूहको परिचय खुल्ने कागजातको फोटोकपि, सम्पर्क नम्बर र नजिकको आफन्तको सम्पर्क नम्बर परिचय र नाता समेत एकिन गरेर मात्र वास दिन अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।
टोल तथा छिमेकमा कुनैपनि शंकास्पद गतिविधि देखिएमा तुरुन्त नजिकको प्रहरी कार्यालय वा आपत्कालीन फोन नम्बर १०० मा जानकारी गराउन र घर तथा टोलको सुरक्षाका लागि सिसी टिभी जडान गरी सुरक्षाका उपायहरु अपनाउनसमेत प्रहरीले आग्रह गरेको छ । खोटाङ जिल्लामा पछिल्लो समय अपरिचित व्यक्तिहरुबाट विभिन्न बहानामा चोरी तथा लुटपाट हुन थालेपछि जिल्लावासी त्रसित बनेका छन् ।
यही पुस ६ गते साकेला गाउँपालिका वडा नम्बर एक बाँझेच्यानडाँडास्थित सेखुवा झगरपुरका ६६ वर्षीय ज्ञानबहादुर बुढाथोकीको घरमा लुटपाट भएको थियो । उदयपुरबाट आएर जिल्लामा काठ ओसारपसार गर्ने पेशा गर्दै आएको बताउने करिब ३० देखि ३५ वर्षीय दुई व्यक्तिले बुढाथोकी दम्पतीलाई पेस्तोल र खुकुरी देखाउँदै नगद तथा गहना लुटपाट गरेको प्रहरीमा उजुरी परेको छ ।
वास माग्दै घरमा आएर बसेका उनीहरुले सोही राति करिब नौ बजे बुढाथोकी दम्पतीको हात, खुट्टा र मुख बाँधेर पेस्तोल तथा खुकुरी देखाउँदै श्रीमतीको कानमा लगाएको एक तोलाको सुनको कुण्डल, नगद एक लाख ५० हजार ६०० रुपैयाँका साथै दुई वटा मोबाइल लुटेर लगेको पीडित परिवारले जनाएको छ ।
आफूहरु धामी झाँक्रीको कामसमेत गर्ने भन्दै वास मागेर बसेका उनीहरुले घरमा छोरा छोरी कोही नभएको मौका छोपेर नगद तथा सुनका गहना लुटपाट गरेको पीडितले बताएका छन् । घटनाको जानकारी प्राप्त भएलगत्तै कारबाहीका लागि प्रहरीलाई जानकारी गराइएको बाँझेच्यानडाँडाका वडाध्यक्ष हेमन राईले बताए ।
सम्बन्धित समाचार
आन्दोलनमा तोडफोड र आगजनी आरोपमा इलामबाट १५ पक्राउ
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
जोगिदहमा दाजुले गरे भाइको हत्या
खोटाङमा मादक पदार्थ सेवन गरी कुटपिट गर्दा एक जनाको मृत्यु
जंगली हात्तीको आक्रमणबाट सुन्दरहरैँचामा घिमिरेकाे मृत्यु
अंग्रेजी ल्याब : भाषा सिकाइसँगै विद्यार्थीको कला प्रस्फुटनको केन्द्र
इन्धनका लागि ‘गोबर ग्यास’ कार्यक्रमले स्थानीयलाई सहजता
खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुने






