गुल्मी । फोर्टिनस्टार युव क्लवद्धारा आयोजित छैठौँ फोर्टिन स्टार कपको उपाधी रेसुङ्गा नगरपालिका–१ को महेन्द्र माध्यमिक विद्यालयले जितेको छ । शनिबार भएको फाइनल खेलमा महेन्द्र माविले इस्मा गाउँपालिकाको पालुखा माविलाई २–० गोलले पराजित गर्दै उपाधी हात पारेको हो ।
महेन्द्र माविका लागि दोस्रो हाफमा आयुस घर्ती मगर र आसम नेपालीले गोल गरे । जितसँगै महेन्द्र माविले ट्रफीका साथै नगद ३५ हजार प्राप्त गरेको छ । इस्मा गाउँपालिका–१ मा रहेको बिपी पार्कमा रहेको खेलमैदानमा यही पौष ८ गतेबाट फोर्टिन स्टारको आयोजनामा गुल्मी जिल्लाभित्रका माध्यमिक विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता संचालन भएको थियो । प्रतियोगितामा १४ विद्यालय सहभागि भएका छन् ।
प्रतियोगितामा उप–विजेता भएको पालुखा माविले नगद २५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा महेन्द्र माविका उमेश श्रीस म्यान अफ द म्याच भएका छन् । त्यसैगरी भुवन ढेगां उत्कृष्ट खेलाडी, लभ बोहोरा वेष्ट मिड फिल्डर, गणेश मुखिया वेष्ट डिफेन्डर, निर्जल राना इमर्जिङ्ग प्लेयर भएका छन् ।
त्यसैगरी उत्कृष्ट कोच जोगलाल थापा, अनुशाशित खेलाडी सिजन सारु र अनुशाशित टिम रेसुङ्गा मावि भएको क्लवका अध्यक्ष नारायण आचार्यले जानकारी दिए । ग्रामीण स्तरका खेलाडीहरुको प्रतिभा पहिचानको लागि क्लवले प्रत्येक बर्ष छात्र फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
शनिबारको फाइनल कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि समेत रहेका इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले दुई करोड बढी लगानीमा बिपी पार्क र खेलमैदान निर्माण गरेको बताए । उनले खेलमैदानको लागि संघीय सरकारबाट बिनियोजन गरिएको तीन करोड बजेट जेन्जी आन्दोलनका कारण रोकिएको बताए ।






