विराटनगर । साना तथा मझौला उद्योग (एसएमई) को समृद्धि र संरक्षणका लागि नीतिगत सुधार, सहज लगानी र सहकार्य आवश्यक रहेको निष्कर्षसहित विराट ट्रेड एक्स्पोअन्तर्गत सोमबार थिमेटिक सेसन सम्पन्न भएको छ।
“साना तथा मझौला उद्योगको समृद्धि तथा संरक्षण” विषयक प्यानल छलफलमा उद्योग, लगानी, नीति, प्रविधि र बजार पहुँचका विविध पक्षमा व्यापक चर्चा भएको थियो । प्रमुख अतिथि नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेले एसएमई रोजगारी सृर्जनाको मेरुदण्ड भएको भन्दै यसको संरक्षण बिना आर्थिक समृद्धि सम्भव नरहेको बताए। बैंकमा तरलता भए पनि ऋण प्रवाह सहज नभएको, कर र श्रम नीतिले उद्यमीलाई दबाब दिएको उनको भनाइ थियो ।

घिमिरेले ऊर्जा, श्रम र व्यापारसम्बन्धी स्थायी नीतिको अभाव, ट्रिपिङ र लो–भोल्टेजका कारण उत्पादन लागत बढेको उल्लेख गर्दै स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई नीतिगत संरक्षण दिनुपर्नेमा जोड दिए ।
उदय परियोजनाका ‘रिस्क शेयरिङ लिड’ उत्सव घिमिरेले बैंक ऋणबाहेक वैकल्पिक वित्तीय साधनको अभावले उद्यमशीलता कमजोर बनेको बताए। स्टार्टअपलाई कोलाटरल बिना सहजीकरण, सिड मनी तथा अनुदान प्रणाली व्यवस्थित गर्नुपर्ने उनको सुझाव थियो ।
युवा उद्यमी प्रतीक राउतले देशका करिब ९० प्रतिशत उद्योग एसएमई रहेको उल्लेख गर्दै २०२६ पछि ग्लोबल प्रतिस्पर्धाका लागि ब्रान्डिङ, आईटी र भ्यालु एडमा लगानी अपरिहार्य हुने बताए। फिक्स क्यापिटलका आधारमा मात्रै एसएमईको परिभाषा गर्नु उपयुक्त नभएको उनको भनाइ थियो ।
उद्यमी अमित शारडाले सकारात्मक सोच र सरकारी सक्रियताले विकास गति बढ्ने बताए भने विराट व्यापार संघका अध्यक्ष अंशु बञ्जाराले पछिल्लो समय सरकार सहजीकरणतर्फ उन्मुख भएको बताए।
घरेलु तथा साना उद्योग कार्यालय सुनसरीका प्रमुख राजन पाण्डेले उद्योग दर्ता, तालिम, प्रविधि हस्तान्तरण र ब्रान्डिङमा प्रदेश सरकार सक्रिय रहेको जानकारी दिए ।
सेसनमा बीमा, इक्विटी र लगानीसम्बन्धी विषयमा पनि छलफल भएको थियो। सहभागीहरूले विराट ट्रेड एक्स्पोलाई उद्यमशीलता विकास र निजी क्षेत्र प्रवर्द्धनको महत्वपूर्ण मञ्चका रूपमा मूल्यांकन गरेका छन्।






