काठमाडौं । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका टनेलमा करिब १२१ जना नागरिक फसेका हुनसक्ने अनुमान गर्दै सेनाले खोज तथा उद्धारलाई तीव्रता दिएको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सहायक रथी सुवाशजङ्ग थापाले सरकारले काम रोक्ने निर्णय गरेको अवस्थामा बाहेक ब्रेक थ्रु नभएसम्म टनेलमा खोज तथा उद्धारको काम जारी रहने बताए । उनका अनुसार तीव्रताका साथ निरन्तर खोजी भइरहेको छ । बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा करिब १२१ जना नागरिक फसेका अनुमान सेनाले गरेको उनले जानकारी दिए ।
रसुवागढी जलविद्युत् आयोजनामा खोज तथा उद्धार टोली र आयोजनाका प्रतिनिधिसहितको टोली ‘पावरहाउस’ तथा ‘कन्ट्रोल प्वाइन्ट’ (नियन्त्रण कक्ष) सम्म पुगेर खोजी गरेको सहायक रथी थापाले बताए । नेपाली सेनाले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धारलाई हवाई, जमिन र टनेल गरी तीन क्षेत्रमा बाँडेर अघि बढाएको जनाएको छ ।
यसैगरी सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारको निर्देशनबमोजिम विपद्सँग सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरी खोज तथा उद्धार भइरहेको जानकारी दिए । “नेपाली सेनाले नेपाल सरकारको निर्देशनबमोजिम विपद्मा सहयोग गर्ने सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरेर कार्य गरिरहेको छ । हवाई, जमिन र टनेल खोज तथा उद्धार तीन वटा क्षेत्रमा बाँडेर काम गरिरहेका छौँ”, उनले भने ।
सहायक रथी बस्नेतले विदेशबाट नेपाल आएका उद्धारकर्मीसँग सहकार्य गरी उद्धारकार्य अघि बढाइएको बताए । उनका अनुसार विपद्का क्रममा नेपाली सेनाका ४५ जना सैनिकसमेत बेपत्ता भएका छन् ।
सो अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत पुगिसकेको जानकारी दिए । अहिले हेलिकप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिइएकाले हेलिकप्टरमार्फत राहत पुर्याउनुपर्ने केही स्थानमा राहत लैजान नसकिएको उनले बताए ।
त्यस्ता क्षेत्रमा त्रिशूली, रसुवालगायत हेलिकप्टर पुग्न सक्ने नजिकका स्थानबाट खाद्य सामग्री पठाउने प्रयास भइरहेको उनले जानकारी दिए । स्थानीय सरकारसँग निरन्तर समन्वय गरी राहत वितरणको काम अघि बढाइएको उनले उल्लेख गरे ।
विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार निरन्तर भइरहेको जानकारी दिँदै डा उप्रेतीले छिमेकी मुलुकसँग समन्वय गरी खोज, उद्धार तथा राहतका लागि आवश्यक सहयोग लिइरहेको बताए । राज्यका तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखी सुरक्षा निकायलाई चौबीसै घण्टा परिचालन गरिएको उनले जानकारी दिए ।
सम्बन्धित समाचार
ताल बढ्ने क्रम जारी छ, जोखिम अझै टरेको छैन : बाढी पूर्वानुमान महाशाखा
खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
बाढीपीडित पहिचानमा सरकारले माग्यो अन्तर्राष्ट्रिय सहयोग
विष्णुमतीपछि बागमती नदीले पनि जल सतह सतर्कता तह पार गर्यो, बिहानसम्म उच्च सतर्क रहन अनुरोध
प्रधानमन्त्री राहत कोषमा ६ अर्ब रुपैयाँभन्दा बढी संकलन
बाढी अपडेट: मृत्यु हुनेको संख्या १२ सय ५९ पुग्यो, ५ हजार ८३ जना सम्पर्कविहीन
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन
भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म





