तीन महिनामा २५ दल ‘अदलबदल’

काठमाडौं । जेनजी आन्दोलनपछिका तीन महिनामै एकता र विभाजनमार्फत् २५ राजनीतिक दल अदलबदल भएका छन् । मूलधारको राजनीतिमा प्रभाव बनाइहेका विघटित प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबाहेक सबै दलमा एकता विभाजनको प्रभाव परेको छ ।

दलमा जेनजी आन्दोलनको प्रभाव

विघटित प्रतिनिधिसभाको पहिलो र दोस्रो दलका रूपमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबाहेक तेस्रो स्थानमा रहेको तत्कालीन नेकपा माओवादी केन्द्र र चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा व्यापक फेरबदल आएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा राजनीतिक दलभित्रको कार्यशैली, पुरानो कार्यशैलीका दलको राजनीतिक दृष्टिकोण, शासकीय कार्यशैली तथा एजेण्डालाई लिएर व्यापक विरोध भएपछि राजनीतिमा नयाँ ‘ट्रेन्ड’ सुरु भएको छ ।

पुराना राजनीतिक दलका रूपमा रहेका नेपाली कांग्रेस, नेकपा एमाले, तत्कालीन नेकपा माओवादी केन्द्र (हालको नेपाली कम्युनिस्ट पार्टी), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा, राष्ट्रिय जनमोर्चालगायत दल छन् । नयाँ राजनीतिक दलका रूपमा परिचय बनाइरहेका दलमा भने डा. बाबुराम भट्टराईले थालेको वैकल्पिक राजनीतिको बहसदेखि २०७९ सालको निर्वाचनमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हुँदै जेनजी आन्दोलनपछि खुलेका दल छन् ।

नयाँ र पुरानाको ‘ट्रेन्ड’
जेनजी आन्दोलनपछि राजनीतिमा नयाँ र पुरानाको ‘ट्रेन्ड’ चलेको हो । यससँगै जेनजी आन्दोलनप्रतिको दृष्टिकोणलाई नै लिएरसमेत दलमा एकता र विभाजन देखिएको छ । अन्तरिम सरकारले आगामी २१ फागुनलाई प्रतिनिधिसभा निर्वाचन हुनेगरी मिति घोषणा गरेसँगै निर्वाचनमार्फत आफ्नो अस्तित्व बलियो बनाउन राजनीतिक तथा तथा समूह एकता अभियानले तीव्रता पाएको हो । जेनजी आन्दोलनपछि निर्वाचन तयारीकै सिलसिलामा एकताका माध्यमबाट विभिन्न २५ दल अदलबदल भएर नयाँ स्वरुपमा पुगेका छन् ।

यस्तो छ, मिलन र विलय
जेनजी आन्दोलनपछिको राजनीतिक अवस्थालाई लिएर सबैभन्दा पहिले नेकपा एकीकृत समाजवादी (एस) विभाजित भएको हो । नेकपा एस तीन टुक्रामा विभाजित भयो भने तत्कालीन अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको ठूलो समूहसहितका ८ दलले नेकपा माओवादी केन्द्रसँग एकता गरे ।

गत १६ कात्तिकमा भएको सो एकताबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा नेपाली कम्युनिस्ट पार्टी निर्माण भयो । यो जेनजी आन्दोलनपछिको राजनीतिमा नयाँ ध्रुवीकरण र पुरानो राजनीतिक अवस्थाभित्रको ध्रुवीकरण सुरुवात भएको अध्यक्ष प्रचण्डले दाबी गरे । उनले दावी गरेजस्तै यो पार्टीमा २६ कात्तिकमा मातृभूमि जागरण अभियान नेपाल पार्टी एकीकृत भयो ।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीमै गत ११ मंसिरमा जनता समाजवादी पार्टीको राजेन्द्र श्रेष्ठ नेतृत्वको समूह एकीकृत भयो । नाम, झण्डा, नेतृत्व र नीतिमा कुनै भिन्नता नहुनेगरी २६ कात्तिक र ११ मंसिरमा एकता भएका दलसँगै नेपाली कम्युनिस्ट पार्टीले आफूलाई नयाँ चरणमा उठेको दावी ग¥यो ।

औपचारिक रूपमा दर्ता भएका दलको यो संख्याबाहेक अन्य केही स्वतन्त्र समूहलाई समेत प्रचण्डले नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको घोषणा गरेका छन् । राजनीतिक समूहका रूपमा रहेकासमेत गर्दा १८ भन्दा बढी पुगेको बताइए पनि प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा दलको हैसियतमा एकता हुने भने ११ वटा छन् ।

यसैगरी, प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेका जनार्दश शर्मा र सुदन किराती, रास्वपाबाट विद्रोह गरेका सन्तोष परियारसहितका नेता मिलेर बनेको प्रगतिशील राष्ट्रिय अभियान र डा. बाबुराम भट्टराईको संरक्षकत्वमा रहेको नेसपा (नयाँ शक्ति) मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) निर्माण भयो । यो दललाई भने ‘पुरानो विचारधारा बोकेका दलभित्रका क्रान्तिकारी र नयाँ सोचकाको ध्रुवीकरण’ भन्दै नयाँ रूपमा व्याख्या गरियो ।

तत्कालीन नेकपा एकीकृत समाजवादीबाट विद्रोह गरेको घनश्याम भुसाल समूहले घोषणा गरेको नेकपा एस पुनर्गठन अभियान र नेकपा संयुक्त मिलेर ११ मंसिरमै नेकपा संयुक्त घोषणा भयो । यो पार्टीले पनि ‘आफूलाई कम्युनिस्ट विचारधाराभित्रको क्रान्तिकारी विद्रोह भएको’ दावी गरेको छ ।

त्यस्तै, राजसंस्था पक्षधरले पनि ‘आफूलाई एकता र रूपान्तरणको बाटोमा रहेको प्रमाणित गर्दै विचार मिल्ने एकठाउँ उभिने प्रयास भएको’ प्रमाणित गरे । गत ९ पुसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल मिलेर राप्रपा निर्माण घोषणा भयो । १३ पुसमा मधेशको राजनीतिमा लामो समयदेखि अलग अस्तित्व बनाएका जसपा नेपाल र लोसपा र जनता समाजवादी पार्टी सहअध्यक्ष रेणु यादवले पनि मिलेर राजनीति गर्नेगरी एकता घोषणा गरे ।

यसैगरी, थारु आन्दोलनबाट उदाएर वैकल्पिक राजनीतिको वकालत गरिरहेका रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी र प्रचण्ड संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टीबीच एकता भएको छ । १०बुँदे सहमतिमार्फत सोमबारमात्रै एकीकरण गरेको यो दलका संस्थापन रेशम चौधरी भने नागरिक उन्मुक्ति पार्टी, नेपाल नामको बेग्लै पार्टीमार्फत राजनीतिमा छन् ।

जेनजी आन्दोलनपछि ‘वैकल्पिक राजनीति’को सन्देशमार्फत रूपान्तरण एजेण्डा उठाइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहबीच पनि एकतामा हस्ताक्षर भएको छ । रास्वपा सभापति रवि लामिछाने र मेयर शाहबीच दलको झण्डा, चुनाव चिह्न र पार्टी कार्यालय रास्वपाकै हुनेगरी यही १३ पुसमै एकता हस्ताक्षर भएको हो ।

समानुपातिक उम्मेदवार सूची बुझाउने अन्तिम दिन सोमबारमात्र मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र रास्वपाबीच पनि एकता घोषणा भएको छ ।

अन्ततः मिले रवि, कुलमान र बालेन
लामो रस्साकस्सीपछि अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा)बीच एकीकरण सहमति जुटेको छ । समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन र अन्तिम समय रास्वपा र उनेपाबीच पार्टी एकताका पक्षमा हस्ताक्षर भएको हो ।

‘सहकारी ठगी प्रकरण’मा आफूमाथि लागेको बिगोबराबरको रकम अदालतले धरौटीका रूपमा स्वीकार गरेपछि थुनामुक्त भएका रास्वपा सभापति लामिछानेको सक्रियतामा आइतबारमात्र काठमाडौं महानगर प्रमुख शाह र रास्वपाबीच एकता घोषणा भएको थियो ।

सोमबार बालेनसमेतको प्रयासमा ‘जेनजी अभियन्ताका अभिभावक’ मानिने सुदन गुरुङको पहलकदमी र जोडबलमा घिसिङको उज्यालो नेपाल र रास्वपाबीच एकता भएको हो । सोमबार नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठित नागरिक उन्मुक्ति पार्टीबीच पनि एकता भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

गर्भकै नीतिको आडमा राजश्व कार्यालय सिमराको कार्य सम्पादन