पूर्वमन्त्री उमेश यादव नेकपा परित्याग गरी जसपा नेपालमा प्रवेश

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । सप्तरी निवासी यादव मंगलबार जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टीमा आबद्ध भएका हुन् ।

कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पूर्वमन्त्री यादवलाई पार्टीमा स्वागत गर्दै उनको प्रवेशले पार्टी संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरे । अध्यक्ष यादवले मधेश आन्दोलन, संघीयता र समावेशी लोकतन्त्रको संघर्षलाई अगाडि बढाउन अनुभवी नेताको भूमिकाले महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै उमेश यादवले देशको वर्तमान राजनीतिक अवस्था, संघीयताको प्रभावकारी कार्यान्वयन, मधेशको अधिकार, पहिचान र सामाजिक न्यायका सवालमा जसपा नेपालको एजेन्डा स्पष्ट, जनमुखी र विश्वासयोग्य रहेको बताए । यही विश्वासका आधारमा आफू जसपा नेपालमा प्रवेश गरेको उनको भनाइ थियो ।

पूर्वमन्त्री यादव लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन् । उनी प्रचण्ड नेतृत्वको नेकपामा केन्द्रीय सदस्य रहनुका साथै पूर्व सिँचाइ मन्त्री र संविधान सभा सदस्यसमेत रहिसकेका छन् ।

यसअघि तत्कालीन जनयुद्धको क्रममा नेकपा माओवादीमा आवद्ध भएका यादवले सेल कमिटीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालेका थिए । साथै उनले मधेशी राष्ट्रिय मुक्ति मोर्चा सप्तरीको संयोजक, जिल्ला जनसरकार प्रमुख, जिल्ला जनमिलिसिया कमिसार, जनमुक्ति सेनाको बटालियन कमिसार तथा वाइसियल नेपाल मिथिला क्षेत्र संयोजकको रूपमा सक्रिय भूमिका निर्वाह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन