सवारी दुर्घटना न्यूनीकरणका लागि ‘स्लो बाइक’ प्रतियोगिता हुने

काठमाडौं । बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपालगन्जमा स्लो बाइक प्रतियोगिता हुने भएको छ । बास नेपालले विगत पाँच वर्षदेखि निरन्तर सञ्चालन गर्दै आएको उक्त प्रतियोगिताको छैटौँ संस्करण आगामी कार्तिक २७ गते नेपालगन्जमा हुने भएको हो ।

ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा आयोजना हुने प्रतियोगिता नेपालगन्जको न्यूरोड क्षेत्रमा सञ्चालन गरिनेछ । प्रतियोगितामा सहभागीहरूले तोकिएको १०० मिटर दूरी सबैभन्दा कम गतिमा अर्थात् बढी समय लगाएर पार गर्नुपर्नेछ । निर्धारित दूरी सुस्त गतिमा सफलतापूर्वक पार गर्ने प्रतियोगीलाई विजेता घोषणा गरिनेछ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने प्रतियोगीहरूले क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

बास नेपालका अनुसार बढ्दो सवारी दुर्घटनाप्रति सचेतना जगाउने, ट्राफिक नियमको पालना गर्दै सीमित गतिमा सवारी चलाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो। कार्यक्रममा विभिन्न सरोकारवाला निकायहरूको समेत सहकार्य रहनेछ ।

हालका दिनहरूमा विशेषगरी युवा पुस्ता तीव्र गतिमा सवारी साधन चलाउँदा दैनिकजसो दुर्घटनाको सिकार भइरहेको अवस्थामा सुस्त गतिमा सवारी चलाउँदा दुर्घटनाबाट जोगिन सकिने सन्देश आम नागरिकमा प्रवाह गर्ने अपेक्षा गरिएको बास नेपालले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले अनलाइन तथा बास नेपालको कार्यालयमा प्रत्यक्ष उपस्थित भई नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ। सवारी दुर्घटना न्यूनीकरणको अभियानमा सहभागिता जनाउन बास नेपालले सबैमा आग्रह गरेको छ ।

उक्त स्लो बाइक प्रतियोगिता कार्तिक २७ गते आइतबार दिउँसो १ बजे सञ्चालन गर्ने कार्यतालिका रहेको बास नेपालका सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

epaper

ताजा समाचार

'प्रचण्ड’सँग लड्न खेममान खड्का उम्मेदार