गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर २ पिपलधारालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी पूर्व शहरी विकास मन्त्री समेत रहेकी रामकुमारी झाँक्रीले पिपलधारालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८, घोषणा कार्यविधि २०७९, स्थानीय सरकार संचालन ऐन २०७४, बालबालिका सम्बन्धि ऐन २०७५ ले निर्दिष्ट गरेका सूचक र तहगत चरणहरु पुरा गरेपछि पिपलधारालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
घोषणा गर्नको लागि वडाले ०८१ असोज ९ गते घोषणाका २८ सूचकहरुको ’boutमा अभिमुखीकरणसम्बन्धि अभिमुखीकरण कार्यक्रम संचालन गरेको, बालवस्तुगत विवरण किताब तयार गरी पालिका र वडाको प्रोफाइल तयार गरी तथ्याकं अनुसार काम गरेको, घोषणाको दीगोपनाको लागि समुदायस्तरमा विभिन्न समतिहरु गठन गरिएको वडाध्यक्ष बाबुराम खड्काले जानकारी दिए ।
त्यसैगरी वडाभित्र निर्माण गरिएका भौतिक संरचनाहरु बालमैत्री तरिकाले निर्माण गरिएको, ८ बर्षदेखि १८ बर्षभित्रका बालबालिकाहरुको विद्यालय र टोलस्तरीय गरी १३ वटा बाल समुह र सबै समुहहरुको प्रतिनिधित्वसहितको बालसंजाल गठन गरिएको लगायतका कार्यक्रमहरु सम्पन्न गरिएको वडाध्यक्ष खड्काको भनाई छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेकी पूर्वमन्त्री रामकुमारी झाँक्रीले दीगो विकासको लक्ष्य हाँसिल गर्ने विभिन्न सूचकको आधारमध्ये एउटा सूचक सामाजिक विकास भएकोले यसमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाले सहयोग गर्ने बताइन् । उनले अन्य वडा र पालिकालाई पनि बालमैत्री बनाउनको लागि आग्रह गरिन् । धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले अब राज्यको लगानी मानविय पुँजीमा हुनुपर्ने बताए ।
त्यस्तै बालबालिका भविष्यका कर्णधार भएकोले आजको लगानीका आधारमा भोलीका जनशक्ति उत्पादन हुने भन्दै धुर्कोटले बालबालिकामाथि लगानी गरेको बताए । गाउँपािलका उपाध्यक्ष सीता गिरीले यसभन्दा पहिले गुल्मीमै पहिलो पटक धुर्कोटको वडा नम्बर १ नयाँगाउँ घोषणा भएको बताउदैँ अब अन्य वडाहरु पनि बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने बताइन् । कार्यक्रममै अवसरमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रममा सहयोग गर्ने विभिन्न संघ संस्थालाई सम्मान पनि गरिएको छ ।






