कपिलवस्तु । थारु समुदायले आफ्नो नयाँ वर्ष २६४९ मनाउन कपिलवस्तुका तीन स्थानमा माघी ९खिचडी० महोत्सव आयोजना गर्न लागेको छ। थारु जातिको भाषा, कला, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले जिल्लाका ३ पालिकामा नगरस्तरीय महोत्सव आयोजना गर्न लागिएको थारु कल्याणकारिणी सभा कपिलवस्तुले जनाएको छ ।
“हम्मन संस्कृति, हम्मनके सान, भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान” भन्ने नारासहित सञ्चालन हुनेछ। थाकस कपिलवस्तुका अनुसार बुद्धभूमि नगरपालिकामा पुस २९, ३० र माघ १ गते बुड्ढी तालमा,शिवराज नगरपालिकामा माघ १, २ र ३ गते उमरीमा र बाणगंगा नगरपालिकामा माघ २, ३ र ४ गते लखनपारामा माघी महोत्सव आयोजना हुने भएको छ ।

महोत्सवले थारु जातिको पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने थाकस कपिलवस्तुका सभापति पवन थारुले बताए । उनले थारु समुदायको हकहित र अधिकार संरक्षणका लागि माघी पर्वलाई भव्य रूपमा मनाइँदै आएको बताए ।
महोत्सवमा थारु जातिको भाषा, कला र संस्कृति झल्कने प्रदर्शनी, थारु खानाका परिकार स्टल, र थारु नाच तथा झाँकी प्रदर्शन हुनेछन् । महोत्सव अवधिभर झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता जस्ता सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछन्। यसैगरी, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले महोत्सवलाई अझ मनोरञ्जनात्मक बनाउने बताइएको छ ।






