गुल्मी । नेपाल काँग्रेस, जिल्ला कार्यसमिति गुल्मीले पार्टीको विशेष महाधिवेशनमा उपस्थित हुनको लागि महाधिवेशन प्रतिनिधिहरुलाई अपिल गरेको छ । पार्टी जिल्ला सभापति खिलध्वज पन्थीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यही पौष २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने विशेष महाधिवेशनमा उपस्थित हुन आग्रह गरेका हुन् ।
पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतिहरु’bout गम्भीर निर्णय लिने महाधिवेशन भएकोले उपस्थितिको लागि सबै प्रतिनिधिहरुलाई आग्रह गरेका हुन् ।
‘नेपाली काँग्रेस केवल एउटा संगठन मात्र नभई लोकतन्त्र, समावेशिता तथा समुन्नत नेपालको आधारशिला भएकोले प्रतिनिधिहरुको उपस्थितिले पार्टी र देशको भविष्यसँग प्रत्यक्ष असर गर्ने भएकाले पनि उपस्थितिको लागि अनुरोध छ ।’ विज्ञप्तीमा भनिएको छ । काँग्रेसमा गुल्मीबाट ५२ जना महाधिवेशन प्रतिनिधि छन् ।
जसमा विशेष महाधिवेशनको लागि ४६ जनाले हस्ताक्षर गरेको पार्टीका सह–सचिव छवि पाण्डेले जानकारी दिए । दामोदर भुसाल, महेन्द्र भण्डारी, चन्द्र केसी, सुवर्ण ज्वराचन र छन्द पहराईले विशेष महाधिवेशनको लागि हस्ताक्षर गरेका छैनन् । यद्यपी नेता महेन्द्र भण्डारीले भने पहिले हस्ताक्षर नगरेपनि अहिले विशेष महाधिवेशनमा सहभागि हुने बताए । काँग्रेसको एकजना महाधिवेशन प्रतिनिधिले भने पार्टी परित्याग गरेकी छिन् ।






