विपन्न बस्तीमा सेनाको स्वास्थ्य शिविर

राजविराज । केही समय अघि हैजा र झाडा पखालाको प्रकोपले विरामी परी एकै परिवारका तीन जनाले ज्यान गुमाएको बस्तीमा नेपाली सेनाले शनिबार बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेपाली सेनाको राजविराज स्थित बरख गणको आयोजना तथा श्री नम्बर २७ फिल्ड अस्पताल गुल्म र छिन्नमस्ता गाउँपालिकाको सहकार्यमा एक दिने बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

वडा नम्बर ५ लोखरम स्थित विपन्न बस्तीमा आयोजित शिविरको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, बरखगणका गणपति प्रमुख सेनानी सोवित बहादुर चन्द, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले संयुक्त रुपमा उद्घाटन गरे ।

निशुल्क स्वास्थ्य शिविरमा बालरोग, स्त्रीरोग, आँखा तथा जनरल ओपीडि सेवाका साथै औषधि तथा आँखाका बिरामीलाई चश्मा समेत उपलब्ध गराइएको छ ।

पाँचसय दुईजनाले निशुल्क उपचार सेवा पाएको शिविरमा नम्बर २७ फिल्ड अस्पतालका प्रा. सहसेनानी डा. अविनाश यादव, तिलगंगा अस्पताल काठमाण्डौंका डा. टिकाराम बास्तौला, छिन्नमस्ता अस्पतालका डा. विजय गुप्ता, डा. श्रीनारायण यादव, डा महफुज आलम, सगरमाथा आँखा अस्पतालका डा. हेमा देव तथा जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

उक्त अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको छ । जसमा एक महिला सहित १६ जनाले रक्तदान गरेको बरखगणका गणपति प्रमुख सेनानी चन्दले जानकारी दिए ।

छिन्नमस्ता गाउँपालिका ५ लोखरमको मुसहर बस्तीमा केही समय अघि फैलिएको हैजा र झाडा पखालाको प्रकोपले एकै परिवारका तीनजनाको मृत्यु भएको थियो । गणपति चन्दले गरिवी र विपन्नताका कारण स्वास्थ्य सेवा नपाई समस्यामा रहेकाहरुलाई लक्षित गरी शिविर अयोजना गरिएको बताए ।

भविष्यमा समेत विपन्न बस्तिलाई लक्षित गरी यस्ता शिविर सञ्चालन गर्ने योजना रहेको उनको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढी प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा