पोखरा । संघीय सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले पोखरेलीहरु पर्यटन प्रवद्र्धनका लागि निकै अग्रसर हुने गरेको बताएकी छन् ।
मंगलबार १४ औं पोखरा महोत्सवको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले भनिन्, ‘मैले पोखरामा अध्ययन गर्दा होस् वा पोखरामा पर्यटन बोर्डको प्रमुखमा रहेर काम गर्दाको समयमा पोखरेलीहरु पर्यटन प्रवद्र्धनमा अग्रसर रहेको महसुस गरेकी छु ।’ साथै उनले यो महोत्सव पनि त्यसको एक उदाहरण रहेको बताइन् । उनले पोखरा महोत्सवको स्थापनाकालीन समयमा समेत आफूले सहयोग गरेको मन्त्री श्रेष्ठले स्मरण गरिन् ।
युनाइटेड क्लब पोखरा आयोजनामा सुरु महोत्सवले पोखरा आसपासको कला, संस्कृतिको प्रवद्र्धन र आर्थिक चलायमानमा समेत टेवा पु¥याउने उनको भनाइ थियो । उनले आफू विशेष परिस्थितिबाट मन्त्री बन्न पुगेको र तोकिएकै समयमा निर्वाचन गर्न राजनीतिक दलहरु समेत तयार रहेको बताइन् ।
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले युनाइटेड क्लब पोखराले महोत्सवकै आयोजना गरी पोखरामा चिडियाखानाको अवधारणा लिएर काम गर्दै गर्दा उक्त योजनालाई हाल आएर प्रदेश सरकारले चिडियाखाना निर्माणको कामलाई अगाडि बढाइरहेको बताए । क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनसँगै हाल लेखनाथमा निर्माण भइरहेको छात्राबासलाई समेत प्रदेश सरकारतर्फबाट साथ र सहयोग रहने बताए ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखरालाई हेर्न र बस्न लायक शहर बनाउनका लागि युनाइटेड क्लबले प्रयत्न गरिरहेको बताए ।
गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले क्लबले महोत्सवकै आयोजना गरी सामाजिक कामलाई निरन्तरता दिइरहेको सन्दर्भमा गण्डकी प्रदेश सरकारले समेत साथ र सहयोग गर्ने बताए ।
गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङ (श्याम) ले क्लबले पोखरामा महोत्सवको आयोजना गरेर पोखरामा मात्र नभइ नेपालभर शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनको क्षेत्रमा काम गर्दै आएको आफूले नजिकबाट नियाल्दै आएको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य राजकाजी गुरुङ, बन्दीपुर केबुलकारका उपाध्यक्ष किरण पोखरेल, प्राडा कृष्ण केसी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष माधव बराल, अमरसिंह मावि व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद कोइरालालगायतले बोलेका थिए ।
सो अवसरमा सामाजिक सञ्जाल माध्यमबाट विभिन्न पर्यटकीय गन्तव्यको पहिचान गराउन सफल मुना केसी (मुना चिया) र विश्वसाइकल यात्राको माध्यमबाट नेपाललाई विश्वमा चिनाउन सफल अजीत बराललाई सम्मान गरिएको थियो ।
महोत्सवका पहिलो दिन लोकदोहोरीतर्फ सम्झना लामिछाने, कृष्ण सुवेदी, माया गुरुङ लगायतको प्रस्तुति रहेको थियो । यस्तै, अभिनेता विपीन कार्की र विजय बरालले आआफ्नो प्रस्तुतिसँगै पोखरा महोत्सवको सफलताको कामना गरे ।
क्लब अध्यक्ष लोकबहादुर थापाका अनुसार महोत्सवपूर्र्व पोखरा रंगशालाबाट सुरु झाँकी तथा ¥यालीमा ३ सय बढी संघसंस्था तथा आमा समूहले सहभागिता जनाएका थिए । ¥यालीमा सिमलमार्ग टोल विकास संस्था पोखरा–१० प्रथम भयो । झाँकीतर्फ ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र रामबजार प्रथम भयो ।
महोत्सवमा २ सय ५० स्टल राखिएका छन् । २ लाख ५० हजारसम्म दर्शक आउने अनुमान गरिएको महोत्सव ११ माघसम्म चल्ने महासचिव दिनेश सुनारले बताए ।






