आर्मी र मछिन्द्रको खेलबाटै उपाधि छिनोफानो

काठमाडौं । कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिको छिनोफानो लिगको अन्तिम खेलबाटै हुने भएको छ । बीबीसीलाई मंगलबार ३–० ले पराजित गर्दै आर्मी पुनः शीर्ष स्थान उलिएपछि यसपटकको लिगको छिनोफानो शनिबारको खेलबाट मात्रै तय हुने भएको हो ।

उपाधि जित्न आर्मीलाई बराबरी गरे मात्र पनि पुग्नेछ । मछिन्द्रलाई च्याम्पियन बन्न जित्नै पर्नेहुन्छ । १२ खेलको समाप्तिमा आर्मीको २९ अंक पुगेको छ । दोस्रो रहेको मछिन्द्रको २८ अंक छ । १२ खेलमा समान ९ जित, २ बराबर र १ हार भए पनि मछिन्द्र १ अंकले पछाडि छ । गत वर्ष लिगमा अंक तालिकाको पुछारबाट दोस्रोमा रहेका कारण मछिन्द्रको यो वर्ष १ अंक घटाइएको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार कप्तान भरत खवासको कीर्तिमानी गोलमा अग्रता लिएको आर्मीका लागि दोस्रो हाफमा विकास तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरेका थिए । पाँचौं मिनेटमा भरतको गोलबाट आर्मीले अग्रता लिएको थियो । जर्जप्रिन्स कार्कीको क्रसमा भरतले हेडमार्फत गोल गरेका थिए । ५४औं मिनेटमा गोलअन्तरलाई दोब्बर पारेका थिए । सन्तोष तामाङको पासमा विकासले पेनाल्टी बक्सबाट हेडमार्फत गोल गरेका थिए । टेकले ७०औं मिनेटमा टोलीका लागि तेस्रो गोल गर्दै जित पक्का गरेका थिए ।

मंगलबारै रुस्लान थ्री स्टार क्लब र मनाङ–मस्र्याङ्दी क्लबले जित निकालेका छन् । थ्री स्टारले न्युरोड टिम (एनआरटी)लाई १–० ले तथा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० ले पराजित गरेको हो । सुपर सिक्सको यात्रा तय गरिसकेको मनाङ २५ अंक जोडेर तेस्रो तथा थ्री स्टार २३ अंक जोडेर चौथो स्थानमा छ । तेस्रो स्थानका लागि मनाङ र थ्री स्टारबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम खेलमा जावलाखेललाई पराजित गरेमा मनाङले तेस्रो स्थान हात पार्नेछ । बराबरी या हारमा च्यासललाई हराएको अवस्थामा थ्री स्टारले तेस्रो स्थान हात पार्नेछ ।

थ्री स्टारको जितमा सब्सिच्युट खेलाडी दीपेश घलेले ७७औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । मिक्छेन तामाङको पासमा दीपेशले पेनाल्टी बक्सभित्रबाट गरेको प्रहार रोक्न एनआरटीका गोलकिपर अजित प्रजापतिले कुनै मौका पाएनन् । दीपेश ७३औं मिनेटमा सुशील राईको स्थानमा मैदान प्रवेश गरेका थिए । थ्री स्टारसँगको हारले एनआरटीको सुपर सिक्स यात्रा झिनो बनेको छ ।

यस्तै, विमल राना र अञ्जन विष्टको गोलमा मनाङले पुलिसलाई २–० ले पराजित गरेको छ । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । ३२औं मिनेटमा आदित्य चौधरीले लामो पासमा अञ्जन राईले क्लियर गर्न नसकेको बलमा विमलले गोल गरे । ४३औं मिनेटमा अञ्जनले गोल गर्दै अन्तर बढाए । निशान लिम्बूको पासमा अञ्जनले हेडमार्फत गोल गरेका थिए । पुलिस १२ खेलमा १७ अंकसहित छैटौं स्थानमा छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट उठेका कांग्रेसका बञ्जरा बिजयी