काठमाडौं । आईआईएफटीः स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले काठमाडौँमा फेसन डिजाइन र मोडलिङको सम्मिश्रण १२ औँ संस्करणको ‘ड्रेस टु इम्प्रेस’ सिजन–१२ काठमाडौँमा आयोजना गरेको छ ।
सो प्रतियोगितामा ११९ जना फेसन डिजाइनर प्रतिस्पर्धामा उत्रिएका थिए । यो प्रतिस्पर्धामा ‘डेनिम फिचर’, ‘ग्ल्याम इन प्याच’, ‘एक्जोटिक फौना’ र ‘इकोज अफ टाइम’ गरी चार शीर्षकमा प्रतियोगीबिच प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत ‘डेनिम फिचर’ तर्फ रेजिना श्रेष्ठ, ‘ग्ल्याम इन प्याच’तर्फ प्रतीक गुरुङ, ‘एक्जोटिक फौना’तर्फ इमायुङ राई र ‘इकोज अफ टाइम’तर्फ युयान वाङ (सेलिना शाही) विजेता बनेका छन् ।
काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको मुख्य हलमा भएको प्रतिस्पर्धामा सामाजिक सञ्जालमार्फत ‘आई आई एफ टी मोस्ट लाइक्ड लेजेन्ड अवार्ड’ निलम दास, ‘आई आई एफ टी स्ट्रोमस सेयरड च्याम्पियन अवार्ड’ आयुषा श्रेष्ठ, ‘आई आई एफ टी पब्लिक च्वाइस अवार्ड’ प्रमीला श्रेष्ठले हासिल गरे । प्रतियोगीलाई नगदसहित अवार्ड प्रदान गरिएको थियो ।
फेशन सो कार्यक्रममा पूर्व मिस नेपाल इन्टरनेसनल २०१७ तथा कलाकार नीति शाह, ‘मिस नेपाल वल्र्ड २०२५’ लुना लुइँटेल, ‘मिस नेपाल कोस्मो २०२५’ दीपशिखा नेपाल, ‘मिस नेपाल इन्टरनेशनल २०२५’ उरुषा भण्डारी, ‘मिस नेपाल अर्थ २०२५ सोनी घले’ सो टपरको रूपमा स्टेजमा प्रस्तुत भएका थिए । सो प्रतियोगीताको निर्णायकमा फेसन डिजाइनरहरू महेश महर्जन, मुक्ता श्रेष्ठ, निशा श्रेष्ठ, मनीष राई, अञ्चु पाण्डे, अंकित माइती रहेका थिए ।
कार्यक्रम बोल्दै आईआईएफटीले बिगत १ दशकदेखि योजना गर्दै आएको सो संस्थाका प्रवन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाले बताए । उनले कार्यक्रममा भने,‘आईआईएफटीले डिप्लोमा कोर्स अध्ययन गर्दै गरेका आफ्ना विद्यार्थीहरूलाई ड्रेस टु इम्प्रेसमार्फत फेसन सम्बन्धी थप ज्ञान प्रदान गर्दै छ र उनीहरूको सृजनालाई आम जनमासमा प्रस्तुत गरिरहेको छ । यहाँ डिजाइनर आफैँले तयार पारेका पहिरनमा आफू प्रस्तुत हुने गरेका छन् ।’
फेसन डिजाइनर बन्न चाहनेहरूका लागि हब बनेको आईआईएफटीले फेसन डिजाइनिङमा डिप्लोमा र एडभान्स कोर्स गराउँदै आएको पनि उनले जानकारी गराए ।
शेर्पाका अनुसार फेसन डिजाइनिङका विद्यार्थीलाई ‘ड्रेस टु इम्प्रेस’ प्रतियोगिताले थप ज्ञान र अनुभव सँगाल्ने अवसर दिएको छ । उनले भने, ‘फेसन डिजाइन क्रियटिभ कार्य हो, जुन कार्य जनमानसमा पु¥याउन स्टेज आवश्यक हुन्छ । त्यसैअनुरूप विद्यार्थीका लागि ‘ड्रेस टु इम्प्रेस’लाई निरन्तरता दिँदै आएका हौँ ।’






