काठमाडौं । विश्व क्रिकेटको सबैभन्दा रोमाञ्चक र दर्शकप्रिय प्रतियोगितामध्ये एक ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२६’ आगामी ७ फेब्रुअरीदेखि ८ मार्चसम्म आयोजना हुँदै छ । छोटो ओभरको रोमाञ्च, अप्रत्याशित नतिजा र नयाँ शक्ति राष्ट्र उदयका कारण ‘टी–२० विश्वकप’ क्रिकेटप्रेमीका लागि विशेष चासोको विषय बन्दै आएको छ । यसपटकको संस्करण भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दै छन्, जसले दक्षिण एसियाली क्रिकेटको प्रभाव र महŒव अझ सशक्त बनाउने विश्वास गरिएको छ ।
भारत र श्रीलंकाले पहिलोपटक संयुक्त रूपमा ‘टी–२० विश्वकप’ आयोजना गर्न लागेका हुन् । भारतका मुम्बई, दिल्ली, कोलकाता, चेन्नई, अहमदाबादजस्ता ठूला सहरका रंगशालासँगै श्रीलंकाका कोलम्बो, क्यान्डीलगायत मैदानमा खेल हुने छन् । आयोजक राष्ट्रद्वयले विश्वस्तरीय पूर्वाधार, सुरक्षा व्यवस्था र दर्शक सुविधामा विशेष ध्यान दिएको आईसीसीले जनाएको छ ।
‘टी–२० विश्वकप २०२६’मा २० राष्ट्र सहभागी छन् । प्रतियोगिता ‘समूह चरण’, त्यसपछि ‘सुपर–८’, सेमिफाइनल र फाइनल चरणमा विभाजित छन् । ‘समूह चरण’मै बलिया राष्ट्रबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई सुरुवातदेखि नै रोचक बनाउने अपेक्षा गरिएको छ । ‘समूह चरण’का खेल आगामी ७ देखि १३ फेब्रुअरीसम्म सञ्चालन हुने छन् । त्यसपछि उत्कृष्ट टोली ‘सुपर–८’मा प्रवेश गर्ने छन्, जहाँबाट सेमिफाइनल र फाइनल यात्रा तय हुने छ ।
‘समूह चरण’मै भारत–पाकिस्तान, इंग्ल्यान्ड–वेस्ट इन्डिज, अष्ट्रेलिया–दक्षिण अफ्रिकाका प्रतिस्पर्धा क्रिकेटप्रेमीका लागि विशेष आकर्षण रहने छन् । घरेलु मैदानको फाइदा उठाउँदै भारत उपाधि जित्ने लक्ष्यमा हुनेछ भने इंग्ल्यान्ड, अष्ट्रेलिया र पाकिस्तानजस्ता टोली पनि बलिया दावेदारका रूपमा देखिएका छन् । यस विश्वकपको विशेष पक्ष भनेको नेपालको सहभागिता पनि हो । ‘एसोसिएट राष्ट्र’का रूपमा निरन्तर प्रगति गर्दै आएको नेपाली क्रिकेट टोलीले विश्वकपमा पुनः आफूलाई प्रमाणित गर्ने अवसर पाएको छ । नेपालले ‘समूह चरण’मा इंग्ल्यान्ड र इटालीजस्ता टोलीसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
क्रिकेट विश्लेषकका अनुसार ‘टी–२० क्रिकेट’मा कुनै पनि दिन नतिजा पल्टिनसक्ने भएकाले नेपालजस्ता टोलीका लागि पनि आश्चर्यजनक सफलता सम्भव देखिएको छ । कप्तान रोहित पौडेल नेतृत्वको टोलीले युवा जोश र अनुभवी खेलाडीको संयोजनसाथ प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको छ ।
त्यस्तै, विराट कोहली, जोस बटलर, बाबर आजम, केन विलियम्सन, डेभिड वार्नरजस्ता विश्वप्रसिद्ध खेलाडीको सहभागिताले प्रतियोगिताको चमक बढाएको छ । ‘टी–२० क्रिकेट’मा छक्काको वर्षा, तीव्र रनरेट र अन्तिम ओभरको रोमाञ्चले दर्शकलाई टेलिभिजन र रंगशालामा बाँध्ने निश्चित छ ।
‘टी–२० विश्वकप’ले आयोजक राष्ट्रको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । पर्यटन, होटल व्यवसाय, यातायात र सेवा क्षेत्रमा ठूलो चहलपहल हुनेछ । भारत र श्रीलंकाका सहरमा क्रिकेट उत्सवको माहोल छाइसकेको छ । हालको विश्व परिवेश ध्यानमा राख्दै आयोजकले सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिएका छन् । आईसीसी, स्थानीय सरकार र सुरक्षा निकायबीच समन्वय गरेर खेल सुरक्षित रूपमा सम्पन्न गराउने तयारी छ ।
पछिल्ला संस्करण हेर्दा इंग्ल्यान्ड र अष्ट्रेलिया बलिया देखिए पनि घरेलु मैदानमा भारतलाई कमजोर आकलन गर्न सकिँदैन । यद्यपि, ‘टी–२० क्रिकेट’को स्वभाव नै अनिश्चित भएकाले नयाँ राष्ट्रले इतिहास रच्ने सम्भावना पनि उत्तिकै छ ।
‘आईसीसी पुरुष टी–२० विश्वकप २०२६’ क्रिकेट प्रतियोगितामात्र नभएर विश्वभरका करोडौं दर्शक जोड्ने खेल महोत्सव पनि हो । नयाँ प्रतिभा, पुराना प्रतिद्वन्द्वी र अप्रत्याशित नतिजाले यस संस्करणलाई अविस्मरणीय बनाउने अपेक्षा गरिएको छ । नेपाली क्रिकेटका लागि पनि यो विश्वकप गौरव, चुनौती र सम्भावनाको संगम बनेको छ ।
विश्व क्रिकेटको सबैभन्दा लोकप्रिय प्रतियोगितामध्ये एक ‘आईसीसी पुरुष टी–२० विश्वकप २०२६’मा नेपालको सहभागिताले देशभर क्रिकेटप्रेमीमा उत्साह थपेको छ । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने यस विश्वकपमा ‘एसोसिएट राष्ट्र’ नेपालका लागि विश्व क्रिकेटमा आफूलाई पुनः प्रमाणित गर्ने महŒवपूर्ण अवसर पनि हो ।
पछिल्ला वर्ष नेपाली क्रिकेटले उल्लेखनीय फड्को मारेको छ । ‘एकदिवसीय’ मान्यता प्राप्त गरेपछि नेपालले ‘टी–२० अन्तर्राष्ट्रिय क्रिकेट’मा पनि आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ । विश्वकप छनोट प्रतियोगितामा देखाएको अनुशासित प्रदर्शनकै आधारमा नेपालले सन् २०२६ को विश्वकपमा स्थान सुरक्षित गरेको हो । यो सहभागिता प्रतियोगितामा खेल्नेमात्र नभई नेपालको क्रिकेट संरचना, युवा खेलाडी र भविष्यप्रतिको विश्वासको प्रतीकका रूपमा पनि हेरिएको छ । विश्व क्रिकेटको शक्तिशाली टोली इंग्ल्यान्डसँगको खेल नेपालका लागि सबैभन्दा ठूलो चुनौती हो । गत सिजनको ‘टी–२० विश्वकप’ विजेता इंग्ल्यान्डसँग खेल्नु आफैंमा अनुभव र सिकाइको अवसर हो ।
बलिङमा सटिक लाइन–लम्बाइ र ब्याटिङमा संयमित सुरुवात गर्नसके नेपालले इंग्ल्यान्डलाई दबाबमा राख्नसक्ने क्रिकेट विश्लेषक बताउ“छन् । इटालीविरुद्धको खेललाई नेपालले ‘गर वा मर’को रूपमा लिएको छ । ‘सुपर–८’मा प्रवेश गर्ने सम्भावना जीवित राख्न नेपालका लागि यो खेल जित्नैपर्ने अवस्था छ । तुलनात्मक रूपमा कमजोर मानिने इटालीविरुद्ध नेपालले आफ्नो अनुभव र कौशल प्रयोग गर्दै पूर्ण अंक जोड्ने लक्ष्य राखेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपलाई लक्षित गर्दै लामो समयदेखि तयारी गरिरहेको छ । कप्तान रोहित पौडेल नेतृत्वमा युवा र अनुभवी खेलाडीको सन्तुलित संयोजन तयार पारिएको छ ।






