काठमाडौं । संसारका विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता ‘मिसेस् वल्ड २०२५’को प्रशिक्षण शुक्रवारबाट सुरु हुँदै छ । बिहीबारबाटै यो प्रतियोगितामा भाग लिन संसार भरका महिलाहरू अमेरिका उडेका छन् ।
यो वर्ष मिसेस् वल्र्ड अमेरिकाको लस भेगास सहरमा हुँदै छ । गत वर्षको तुलनामा यस पटक मिसेस् वल्र्डमा आधा प्रतियोगी घटेका छन् । धेरै देशका प्रतियोगीहरूलाई अमेरिकाले भिसा नदिएपछि प्रतियोगी घटेका हुन् । सोही कारण अर्को वर्ष मिसेस् वल्र्डको आगामी २०२६ को सृुंखला आयोजक टिमले श्रीलंकामा गर्ने घोषणा समेत गरिसकेको छ ।

यसै क्रममा मिसेस् नेपाल वल्र्डकी प्रतियोगी तथा मिसेस् इन्टरनेशलन बिजेता डा. सञ्जु भट्ट ‘मिसेस् वल्र्ड २०२५’मा भाग लिन अमेरिका उडेकी छिन् । यो वर्ष मिसेस् वल्र्ड अमेरिकाको लस भेगासमा सुरु भएसँगै उनी अमेरिका उडेकी हुन् ।
शुक्रवारबाट प्रशिक्षण सुरु हुने र मिसेस् वल्र्डको ग्रान्ड फिनाले आगामी ३० जनवरीमा सम्पन्न हुने डा. भट्टले राजधानीलाई बताए । अमेरिका उड्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा राजधानीसँग कुरा गर्दै डा. सञ्जुले भनिन्,‘यस पटक नेपालको प्रतिनिधित्व गर्दै मिसेस् वल्र्डको लागि अमेरिका जाँदै छु र छोटो समयमा भए पनि यो प्रतियोगिताका लागि हरेक कोणबाट पूर्ण तयारी गरेको छु ।’
यो अन्तराष्ट्रिय प्रतियोगिताको तयारी’bout उनले भनिन्,‘विगतमा मिसेस् वल्र्डमा नेपालबाट जानु भएका मिसेस् नेपाल वल्र्डका विजेताहरूलाई भेटेर समेत त्यहाँ कसरी प्रस्तुत हुने भनेर मैले जानकारी लिएको छु भने मिसेस् वल्र्डमा उत्रिएपछि कसरी उपाधि जित्ने भनेर विज्ञहरूसँग सम्बन्धित विषयमा प्रशिक्षण समेत लिएर बल्ल अमेरिका उड्न लागेकी हुँ ।’
आफूले मिसेस वल्र्डको टाइटल नै हासिल गर्ने लक्ष्य लिएको पनि उनले जिकिर गरिन् । यदि मिसेस् वल्र्डको उपाधि प्राप्त हुन सकेन भने पनि अघिल्लो नेपाली प्रतियोगीले जस्तै कुनै शीर्ष टाइटल जित्ने लक्ष्य आफूले लिएको पनि उनले राजधानीलाई बताइन् ।
नेपाललाई विश्व सामु चिनाउने यो एउटा महत्त्वपूर्ण अवसर भएको डा. सञ्जुको भनाई छ । क्यान्सर रोग विशेषज्ञ डा. सञ्जुले यस पटक मिसेस् वल्र्डको प्लेटफर्ममा क्यान्सर सम्बन्धी सचेतना जगाउने लक्ष्य लिएको जानकारी गराउँदै राजधानीसँग भनिन्,‘ म नेपाली भएको र बुद्धको देशबाट त्यहाँ गएका कारण पहिला बुद्धको सन्देशसँगै सवैसँग शान्तिको अपिल गर्ने छु । पेसाले म क्यान्सरको चिकित्सक भएका कारण त्यहाँ क्यान्सर सम्बन्धी जनचेतना पनि फैल्याउने मेरो योजना रहेको छ ।’
मिसेस् नेपाल वल्र्डमा आफूलाई अघिल्लो चरणमा पु¥याउन डा. सञ्जुले मिसेस् वल्र्डको वेभ साइटमा गएर फय्वुलस फेसमा नेपाललाई भोट गर्न पनि सबैलाई अनुरोध गर्दै राजधानीसँग भनिन्,‘अत्यधिक भोट प्राप्त गर्ने प्रतियोगी सोझै सेमी फाइनलमा पुग्ने हुँदा यही २७ जनवरीसम्म मिसेस् नेपाल वल्र्डको पेजमा गएर मलाई अत्यधिक मात्रामा भोट गरी सेमी फाइनलमा पु¥याउन पनि यहाँहरू सबैलाई अनुरोध गर्दछु ।’
यस पटकको ग्रान्ड फिनाले समारोहको लागि नेपालको संस्कृति झल्कने पहिरन तयार गरेको र त्यसमै सजिएर आफू मञ्चमा उत्रने पनि डा. सञ्जुले जानकारी गराइन् । नेपाल अहिले शान्त भइसकेको छ र यहाँ पर्यटकहरूलाई सधैँ स्वागत छ भनेर आफूले सो मञ्चबाट संसारलाई नेपाल आउन निमन्त्रणा दिने पनि उनले बताएकी छिन् ।






