काठमाडौं । नयाँ नेपाली चलचित्र ’कुमारी’को शनिवार राती काठमाडौँको भृकुटीमण्डपस्थित खुला चौरमा आयोजित कन्सर्टमा ट्रेलर सार्वजनिक गरियो । चलचित्रका पाश्र्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ’केहर एन्ड द लुङा’को कन्सर्ट र ट्रेलर रिलिजसँगै राखिएको थियो । जसका कारण कार्यक्रम स्थलमा दर्शकको उल्लेख्य भिड थियो । कार्यक्रममा केहरको ब्यान्डले यो चलचित्रको दुई सहित आधा दर्जन गीत प्रस्तुत ग¥यो । अरु ब्यान्ड ‘स्त्रीज’ र ’त्रिजा प्रदान एन्ड द टुकुचा’ले पनि आफ्ना चर्चित गीतहरूमा दर्शकलाई नचायो ।
यो चलचित्रका निर्देशक दिनेश राउत र निर्माता महेन्द्र अधिकारीले दर्शकको ठुलो उपस्थिति प्रति खुसी व्यक्त गर्दै आफूहरूले समसामयिक प्रेम कथामा आधारित चलचित्र निर्माण गरेको बताए ।
यो वर्षको प्रणय दिवसको अवसर पारेर आगामी २३ माघमा यो चलचित्र नेपालमा रिलिज हुँदैछ । चलचित्रका मुख्य कलाकारहरू अभिषेक खड्का र आकृति राजभण्डारीले पनि दर्शकको भिडलाई सम्बोधन गर्दै यो चलचित्रमा आफूहरूले निर्वाह गरेको भूमिका’bout प्रकाश पारेका थिए ।
यो चलचित्रको ट्रेलरमा अन्तरजातीय प्रेमले निम्त्याएका समस्याहरू प्रस्तुत गरिएको छ । नेवार समुदायकी युवती र क्षेत्री समुदायका युवाबिचको प्रेममा परिवारबाट भएको बाधा र त्यसलाई चिर्न उनीहरूले गरेको संघर्षको कथा प्रस्तुत छ । सार्वजनिक ट्रेलरले यसरी एक संवेदनशील र रोमाञ्चक प्रेमकथाको झलक प्रस्तुत गरेको छ ।
चलचित्र ‘कुमारी’मा नयाँ अनुहार अभिषेक खड्का र आकृति राजभण्डारीका साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांषा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको अभिनय रहेको छ । विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित तथा विकास सुवेदीद्वारा लिखित यो चलचित्रको छायाकारमा सुसन प्रजापति, सम्पादन तथा रंग संयोजनमा सुप्रिम पराजुलीको, साउन्ड डिजाइनमा उत्तम न्यौपानेको रहेका छन् ।






