नेर्पा स्पोर्टस क्लबले जित्यो प्रभुराम राई आमन्त्रित फुटबल उपाधि

उपाधि विजेता नेर्पा स्पोर्टस क्लब नेर्पाका खेलाडीहरु ।

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा सम्पन्न जिल्लाकै सर्वाधिक राशिको ‘प्रभुराम राई आमन्त्रित फुटबल कप–२०८२’ को उपाधि नेर्पा स्पोर्टस क्लब नेर्पाले जितेको छ ।

बुइपास्थित यलम्बर खेलमैदानमा आइतबार साँझ सम्पन्न रोमाञ्चक फाइनल खेलमा गछिया युवा समाज मोरङलाई ट्राईब्रेकरमा पाँच–चारको गोलअन्तरले पराजित गर्दै नेर्पा स्पोर्टस क्लबले नगद तीन लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो ।

फाइनल खेलको निर्धारित समयमा दुवै टोलीले एक–एक गोल गर्दै बराबरीमा रोकिएपछि खेल सिधै ट्राईब्रेकरमा पुगेको थियो समय अभावका कारण थप समय नखेलाइएको प्रतियोगितामा नेर्पाले पाँच–चारको रोमाञ्चक गोलअन्तरले विजयी भएको हो ।

उपविजेता गछिया युवा समाज मोरङले नगद एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ सेमिफाइनलिष्ट खारम्बु स्पोर्टस क्लब खार्मी र आयोजक बुइपा–११ स्पोर्टस क्लब बुइपाले नगद ५०–५० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीमा नेर्पा स्पोर्टस क्लबका सलिन ढकाल ‘राम’ चयन भएका छन् । उनले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विद्यागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्तामा समान पाँच–पाँच गोल गर्ने नेर्पाका बिकी चाम्लिङ र गछियाका मिक्चेन दास, उत्कृष्ट गोलरक्षकमा नेर्पाका रोहन परियार, उत्कृष्ट डिफेन्डरमा बुइपाका रामसुर राई, उत्कृष्ट मिडफिल्डरमा गछियाका योना लिम्बु, उदीयमान खेलाडीमा बुइपाका एलन राई, उत्कृष्ट फरवार्डमा गछियाका रोहन गुरुङ र उत्कृष्ट प्रशिक्षकमा नेर्पाका डिगेन्द्र गुरुङले प्रत्येकले १५–१५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

८२ वर्षीय प्रभुराम राईको सम्मानमा प्रतियोगिता
बुइपाका स्थायी बासिन्दा ८२ वर्षीय वृद्ध प्रभुराम राईको सम्मानमा उहाँको परिवारका सदस्यको प्रायोजन तथा बुइपा–११ स्पोर्टस क्लब बुइपाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको क्लबका सचिव रोशन चाम्लिङले जानकारी दिए । जिल्लाभित्रका छ र बाहिरी जिल्लाका चार गरी कुल दश टोलीले प्रतिस्पर्धा गरेका थिए ।

तत्कालीन बुइपा गाउँ पञ्चायतका प्रधानपञ्च तथा पूर्व बेलायती सैनिक प्रभुरामले फुटबल खेलको विकासका लागि बुइपाको राजावासमा क्लबको आफ्नै खेलमैदान निर्माण गर्दै उल्लेखनीय योगदान पु¥याउनुभएको छ । जिल्लामा राष्ट्रियस्तरका फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले खेल आयोजना गरिएको वुईपाका वडाध्यक्ष एबम् प्रभुराम राईका जेठा छोरा दिनेश राईले जानकारी दिए ।

उक्त प्रतियोगिताको औपचारिक उद्घघाटन अखिल नेपाल फुटबल संघ महासचिव किरन राईले गरेका थिए । माघ ७ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रायोजक प्रभुराम राई र उहाँकी श्रीमती सीता राईले विजयी क्लब तथा खेलाडीहरूलाई नगदसहित पुरस्कार वितरण गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 35 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ