पोखरा । टिप टप न्यू डायमण्ड स्पोर्टस् क्लब पोखरामा जारी छैटौं टाइगर कप भलिबल प्रतियोगिताको फाइनल प्रवेश गर्न सफल भएको छ । हालसम्म ३ खेल खेलेको डायमण्ड अविजित रहँदै १ खेल बाँकी छँदा फाइनल प्रवेश गर्न सफल भएको हो । उसले ९ अंक बटुलिसकेको छ ।
मंगलबार नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । गत वर्ष आयोजक टिमले टिपटप न्यू डायमण्ड क्लबलाई ३–१ सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो । बुधबार डायमण्डले लिग चरणको अन्तिम खेलमा थाइल्याण्ड क्वीन्ससँग प्रतिस्पर्धा गर्नेछ ।
जारी खेलमा महिलातर्फ अब एपीएफ, थाइल्याण्ड क्विन्स र पुलिसमध्ये एक टोली फाइनल पुग्नेछन् ।
मंगबलार थाइल्याण्डले आर्मीलाई ३–० को सोझो सेटमा हराउँदै फाइनलको सम्भावना जीवित राखेको छ । बुधबार पहिलो खेल एपीएफ र पुलिसबीच हुनेछ ।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघले थप जित निकालेको छ । मंगलबार पुरुषतर्फ दोस्रो खेलमा नेपाल पुलिस क्लबमाथि सोझो सेटको जित हात पारेको हो ।
यस्तै, पर्वत जिल्ला भलिबल संघले माल्दिभ्सको टिमलाई ३–० को सोझो सेटमा हराएको छ । बुधबार पुरुषतर्फ नेपाल पुलिस र एपिएफ तथा आर्मी र पर्वत जिल्ला भलिबल संघबीच प्रतिस्पर्धा हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा जारी प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीले भाग लिएका हुन् । राउण्ड रोविन आधारमा भएको प्रतियोगितामा शीर्ष २ टिम फाइनल प्रवेश गर्नेछन् । महिलातर्फको फाइनल १६ माघमा र पुरुषतर्फको फाइनल १७ माघमा हुने आयोजकले जनायो ।






