काठमाडौं । निर्वाचन आयोगका अनुसार २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यका, झापा र हिमाली जिल्ला संवेदनशील क्षेत्रका रूपमा देखिएका छन् । निर्वाचन आयोगले एकीकृत सुरक्षा संयन्त्रसँगको परामर्शमा तयार पारेको आन्तरिक प्रतिवेदनमा यी क्षेत्र संवेदनशील क्षेत्रको रूपमा नक्सांकन गरिएको छ । निर्वाचनका लागि मौसमको सम्भावित प्रतिकूलताको विश्लेषण गर्दै हिमाली जिल्लालाई संवेदनशील क्षेत्रको सूचीमा राखिएको आयोगले जनाएको छ ।
निर्वाचनका अवरोधहरूको विश्लेषण गर्दै आयोगले हुम्ला, कालिकोट, जुम्ला, मुगु र डोल्पा जिल्लाका निर्वाचन क्षेत्रहरूलाई मौसमका हिसाबले संवेदनशील क्षेत्रका रूपमा राखेको हो । काठमाडौं उपत्यका र झापालाई निर्वाचन आयोग र एकीकृत सुरक्षा संयन्त्रले सुरक्षा संवेदनशील क्षेत्रको रूपमा राखेको हो ।
झापा–५ मा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको उम्मेदवारीका कारण सम्भावित सुरक्षा संकटको समेत विश्लेषण गरिएको एकीकृत सुरक्षा संयन्त्र स्रोतले बताएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक तथा कार्यकर्ताहरूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गर्न सक्ने सम्भावित अवरोध र त्यसमाथि हुनसक्ने प्रतिकार्यको विश्लेषण गरेर सुरक्षा पूर्वानुमान गरिएको सुरक्षा सम्बद्ध स्रोतले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले हरेक निर्वाचन क्षेत्रको मिहिन विश्लेषण गर्दै सुरक्षा तयारी गरेको प्रतिवेदन बुझाएका छन् । झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताए । जिल्लामा रहेका २ सय ८५ मतदानस्थलमध्ये १ सय ४७ संवेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेको उनले जानकारी दिए ।
जिल्लामा ८ सय १५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनले बताए । प्रजिअ गेलालले झापा–५ मा सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै विगतमा भन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएपछि प्रदेशसँग थप सुरक्षाकर्मी माग गरिएको जानकारी दिए । ५ निर्वाचन क्षेत्र रहेको झापामा ७ लाख १३ हजार ५ सय ३७ मतदाता छन् ।
दुर्गमको मतपत्र तयार
निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मतपत्र छापिसकेर प्रत्यक्षतर्फको छपाइ सुरु गरेको जानकारी दिएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ हुम्ला, कालिकोट, जुम्ला, मुगु, डोल्पा जिल्लाका लागि मतपत्र छपाइ सम्पन्न भइसकेको र त्यस क्षेत्रमा समयमै मतपत्र पुग्ने प्रवक्ता भट्टराईले बताए ।
आयोगले जिल्ला निर्वाचन कार्यालयहरूमार्फत मतदाता शिक्षा सुरु गरेको छ । मतदाता शिक्षा दिन सबै जिल्लामा नमुना मतपत्र पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । कूल १० लाख ९८ हजार २ सय नमुना मतपत्र छपाइ भएको र ती मतपत्र मतदाता शिक्षाका लागि सबै जिल्लामा पुगिसकेको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
बाँकी जिल्लाका मतपत्र क्रमशः छपाइ भइरहेको पनि आयोगले जनाएको छ । २५ माघदेखि ५ फागुनसम्म १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी गर्ने योजना रहेको प्रवक्ता भट्टराईको भनाइ छ । समानुपातिकतर्फको दुई करोडभन्दा बढी मतपत्र छपाइ कार्य भने सम्पन्न भइसकेको आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
नागरिक बचाउ महाभियान र सरकारबीच १२ बुँदे सहमति
‘प्रचण्ड’सँग लड्न खेममान खड्का उम्मेदार
चुनाव सर्ने सम्भावना भएकाले बालेनको राजीनामा ‘होल्ड’
काठमाडौंँका मेयर बालेनले पदबाट दिए राजिनामा
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा
सागर ढकाल गुल्मी १ बाट चुनाव लड्ने
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
बालेन, हर्क, निकोलस र महेश बस्नेतसँग आयोगद्वारा स्पष्टीकरण माग






