पोखरा । टिप टप न्यू डायमण्ड स्पोट्र्स क्लबले छैटौं टाइगर कप भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । लिग चरणका खेलमा अपराजित रहँदै फाइनल पुगेको उसले अन्ततः उपाधिमाथि कब्जा जमाएको हो ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार महिलातर्फको फाइनलमा विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको हो ।
उपाधिसँगै न्यू डायमण्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेता नेपाल पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँ साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे । प्रतियोगितामा तेस्रोे थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पुरस्कार पायो ।
डायमण्डले चार खेलमा सर्वाधिक १२ अंक बटुल्दा पुलिसले २ मा जित र २ मा हार व्यहोरेको थियो । चार खेलमा समान जित र हार रहेका थाइल्याण्ड र एपिएफ सेटमा आधारमा तेस्रो र चौंथोमा सीमित भएका हुन् । अर्को टिम त्रिभुवन आर्मी क्लब चारै खेलमा हारसहित अंकविहीन हुँदै घर फर्किन बाध्य भयो ।
प्रतियोगितामा न्यू डायमण्डकी सुमित्रा रेग्मी सर्वाेत्कृष्ट खेलाडी बनिन् । उनले २६ हजार ६६६ रुपैयाँ प्राप्त गरिन् । यसैगरी, उत्कृष्ट सर्भर प्रतिभा माली (न्यू डायमण्ड), वेस्ट डिफेण्डर पुलिसकी शान्तिकला तामाङ, वेस्ट सेटर न्यू डायमण्डकी प्रगती नाथ, वेस्ट ब्लकर डायमण्डकै सुनिता खत्री, वेस्ट स्पाइकर न्यू डायमण्डकै पथ्थीया जुनगिन, वेस्ट कोच कुमार राई (न्यू डायमण्ड) घोषित भए । उनीहरुले जनही ११ हजार ६६६ हात पारे ।
पुरुषतर्फ पुलिस पाखा
गण्डकी प्रदेश भलिबल संघ र पर्वत जिल्ला भलिबल संघ वेस्ट अफ फाइभ खेल्दा विभागीय नेपाल पुलिस क्लब उपाधि होडबाट बाहिरिएको छ ।
छैटौं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ शुक्रबार उनीहरु लिग चरणको अन्तिम खेल वेस्ट अफ फाइभ खेलेका हुन् । जसमा गण्डकीले ३–२ सेटमा पराजित गर्दा पर्वतसमेत फाइनल पुग्न सफल भयो । यदि सोझो सेटको नतिजा आएको भए यसअघि १० अंक बटुलेको पुलिस फाइनलमा स्थान बनाउन सक्ने थियो ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ पर्वतलाई सुम्पिएर बराबरी खेलेको थियो । तेस्रो सेट २५–२२ ले आफ्नो पक्षमा पारेकोमा पुनः चौथो सेट २३–२५ मा पर्वतलाई दिँदा खेल पाँचौं सेटमा धकेलिएको थियो । अन्तिम सेटमा गण्डकीले १५–१३ को नतिजा निकाल्दा १ अंक पर्वतलाई दिएर आफूले २ अंकमात्र बटुलेको हो । लिग चरणमा समग्रमा ५ खेलबाट गण्डकीले ४ मा जित, १ मा हारसहित सर्वाधिक ११ अंक बटुलेको थियो । उसले १३ सेट जित्दा ६ सेट गुमाएको रेफ्री डेलिगेट टहलसिंह थापाले जानकारी दिए ।
त्यस्तै, समान १० अंक जोडेका पुलिस र पर्वतमध्ये सेट आधारमा पर्वतले गण्डकीसँग उपाधि होड पक्का गरेको हो । पुलिस र पर्वतले ५ खेलमा ३ मा जित र २ मा हारसहित समान १० अंक जोडे पनि सेटमा पर्वतको बढी छ । पर्वतले गण्डकी समान १३ सेट जित र ९ सेटमा पराजय भोग्दा, पुलिसले ११ सेट जित र ७ मा हार व्यहोरेको छ ।
फाइनल शनिबार दिउँसो २ बजे हुनेछ । त्यसअघि तेस्रो स्थानका लागि पुलिस र अर्को विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी पनि ३ मा जित र २ हारसहित ७ अंक जोडेको छ । सेटतर्फ उसको ११ मा जित र १० मा हार छ । एपिएफ र माल्दिभ्स क्रमशः पाँचौं र छैटौं स्थानमा रहे । राम्रो अपेक्षा गरिएको पाहुना टोली माल्दिभ्स भने अंकविहीन हुँदै घर फर्कियो ।
विजेताले ६ लाख ६६ हजार ६६६, उपविजेताले ३ लाख ६६ हजार ६६६ साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । तेस्रो हुने टोलीले २ लाख ६ हजार ६६६ रुपैयाँ पाउने टेक्निकल को–अर्डिनेटर यामबहादुर गुरुङले बताए ।






