पोखरा । नेपालले भुटानलाई २–१ गोलअन्तरले पराजित गरेसँगै दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ महिला फुटबल च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । सोमबार पोखरा रंगशालामा भएको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई पराजित गरेसँगै फाइनल पुग्ने सम्भावना जिवितै राखेको हो ।
खेलको ३६ औं मिनेटमा सिर्जना बडुवालले गोल गर्दै नेपाली टिमलाई अग्रता दिलाएकी थिइन् । भुटानमाथि हावी हुँदै १–० अन्तरले पहिलो हाफ टुंगाएको नेपालले ७० औं मिनेटमा गोलअन्तरले दोब्बर पा¥यो । खेलको ६९ औं मिनेटमा प्रजिता राईले विपक्षी पोस्टमा बललाई जाली चुमाएकी हुन् ।
उता, भुटानका लागि सोनम चोदेनले खेलको ८७ औं मिनेटमा गोल गरिन् । भुटानले नेपाली खेलाडीले गरेको गल्तीको फाइदा उठाउन सकेको हो । निर्धारित ९० मिनेटसम्म भुटानले गोलअन्तर घटाए पनि बराबरीसमेत खेल्न नसक्दा उपाधि होडबाट बाहिरिएको छ । किनकि पहिलो खेलसमेत भुटानले गुमाएको थियो । बंगलादेशले भुटानलाई फराकिलो १२–० गोलअन्तरले पराजित थियो ।

नेपालले पनि पहिलो खेल भारतसँग हारेको थियो । भारतले १–० गोलअन्तरले नेपाललाई पराजित गरेको हो । तर, दोस्रो खेलमा भने भारत बंगलादेशसँग पराजित भयो । सोमबार बंगलादेशी टिमले २–० अन्तरले भारतलाई हराएको थियो । खेलको २९ औं मिनेटमा बंगलादेशकी अरपिता विश्वास अरपिताले र ४० औं मिनेटमा अल्पी अक्तरले गोल गरेका हुन् ।
सोमबारको जितपछि नेपाली टोलीका प्रशिक्षक सुमन श्रेष्ठले आफ्ना खेडाडीले अझ आफूहरुले विषय लागु गर्न नसकेको बताउँछन् । उनले आफ्नो जित भए पनि खेलबाट सन्तुष्टि नभएको प्रतिक्रिया दिए ।
नेपालले लिग चरणमा आफ्नो अन्तिम खेल बुधबार दिउँसो ३ बजे बंगलादेशसँग खेल्नेछ । २ हारसँगै उपाधि होडबाट बाहिरिएको भुटानले बुधबारको भारतको सामना गर्नेछ ।
नेपालसहित भारत, बंगलादेश र भुटान गरी ४ देशले भाग लिएको च्याम्पियनमा लिग चरणको नतिजापछि शीर्ष २ टिम उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । पोखरा रंगशालामा खेल हेर्न दर्शकको संख्या भने नगन्य छ ।









