तेस्रो एनएपीएफएस रनिङ ट्रफी फुटबल प्रतियोगिता : ब्राइट होराइजन चिल्ड्रेन होम र नेपाल पुलिस स्कुल विजयी

काठमाडौं । नेपाल एपीएफ स्कुल कीर्तिपुर, काठमाडौंको आयोजनामा आइतबारबाट सुरु भएको तेस्रो ‘एनएपीएफएस’ अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता–२०८२ अन्तर्गतको आज मंगलबारको खेलमा ब्राइट होराइजन चिल्ड्रेन होम मातातीर्थ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ ।

पहिलो खेल ब्राइट एन्जल थानकोट र ब्राइट होराइजन चिल्ड्रेन होम मातातीर्थबीच भएको थियो । सो खेलमा १०–० ले ब्राइट होराइजन विजयी भएको थियो । सो खेलको ‘प्लेयर अफ द म्याच’ को ट्रफी प्रवेशसिंह ठकुरीले पाएका थिए ।

यस्तै, नेपाल पुलिस स्कुल साँगा र पेगासस स्कुल गोकर्णेश्वरबीच भएको दोस्रो खेलमा नेपाल पुलिस स्कुल साँगा २–० गोल अन्तरले विजयी भएको छ । नेपाल पुलिस स्कुल साँगाको तर्फबाट मेस्सीबहादुर शाह र सुविजन बस्नेतले १/१ गोल गरेका थिए ।

आज भएको दोस्रो खेलमा नेपाल पुलिस स्कुल साँगाका मेस्सीबहादुर शाह उत्कृष्ट भएका थिए । उनलाई विद्यालयका समादेशक सशस्त्र प्रहरी उपरीक्षक रामजंग पाण्डेले ‘प्लेयर अफ द म्याच’ को ट्रफी प्रदान गरेका थिए ।

यस्तै, भोलि पहिलो खेल राई स्कुल नक्सालविरुद्ध सनसाइन स्कुल थानकोट र दोस्रो खेल नेपाल एपीएफ स्कुल, कोहलपुरविरुद्ध जेम्स स्कुल ललितपुरबीच हुने भएको छ । ६० हजार रुपैयाँ नगद राशिसहित आयोजना गरिएको सो प्रतियोगिता आगामी फागुन ८ गतेसम्म चल्ने छ । सो प्रतियोगितामा उपत्यकास्थित ११ वटा विद्यालय, काभ्रे जिल्लाबाट १ र बाँके जिल्लामा अवस्थित नेपाल एपीएफ स्कुल कोहलपुर र सप्तरी जिल्लामा अवस्थित नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल गरी १४ वटा विद्यालयका १५ टिम सहभागी भएका छन् ।

प्रतियोगितामा नेपाल एपीएफ स्कुल कीर्तिपुर, (रातो), नेपाल एपीएफ स्कुल कीर्तिपुर (निलो), नेपाल एपीएफ स्कुल कोहलपुर, नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल सप्तरी, सैनिक आवासीय महाविद्यालय सल्लाघारी (भक्तपुर), नेपाल पुलिस स्कुल साँगा (काभ्रे), राई स्कुल नक्साल, जेम्स स्कुल, धापाखेल (ललितपुर), डीएभी सुशील केडिया स्कुल जावलाखेल, ब्राइट होराइजन चिल्ड्रेन्स होम मातातीर्थ, पिस प्वाइन्ट स्कुल बानेश्वर, ब्राइट एन्जल स्कुल थानकोट, पेगासस स्कुल गोकर्णेश्वर, सन साइन स्कुल चन्द्रागिरि र बाघभैरव स्कुल कीर्तिपुर सहभागी छन् ।

प्रतियोगिताका खेलहरू लिग कम नकआउट आधारमा सञ्चालन भइरहेको छ । सो प्रतियोगिताको सशस्त्र प्रहरी बल नेपाल मानवश्रोत विभाग प्रमुख एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले आइतबार उद्घाटन गरेका थिए । कार्यक्रमको समापन भने सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गर्ने भएका छन् ।

नेपाल एपीएफ स्कुल कीर्तिपुर (रातो) र पेगास स्कुल, गोकर्णेश्वर बीच भएको उद्घाटन खेलमा नेपाल एपीएफ स्कुल कीर्तिपुर (रातो) ६–० गोल अन्तरले विजयी भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ