भोजपुर । लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यस पटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश बनेका हुन् ।
गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो रु. ४१ हजारसम्म बिक्री भएको भए पनि यस वर्ष प्रतिमन रु. २८ हजारदेखि ३० हजारसम्म मात्र मूल्य पाइरहेको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान गुणराज राउतले जानकारी दिए । उनका अनुसार उत्पादनमा खासै कमी नआए पनि बजारमा माग घट्नु र मूल्य अस्थिर हुँदा किसानलाई ठूलो असर परेको छ ।
‘गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य निकै घटेको छ,’राउतले भने, ‘मूल्य घटेपछि हामी किसानमा समस्या थपिएको छ ।’
मूल्य बढ्ने आशामा आफूले उत्पादन भएको चिराइतोमध्ये १५ मन बिक्री नगरी गोदाममा सुरक्षित राखेको उनले बताए । हाल २० रोपनी क्षेत्रमा चिराइतो खेती गर्दै आएका राउतले आगामी वर्ष करिब ४० मन उत्पादन गर्ने लक्ष्य राखेका छन् ।
उनका अनुसार मूल्यमा उतारचढाव भए पनि चिराइतो खेतीबाट वार्षिक औसत रु. तीनदेखि चार लाखसम्म आम्दानी हुँदै आएको छ । तर यस वर्ष मूल्य घटिरहेमा आम्दानीमा ठूलो गिरावट आउने जोखिम रहेको उनको भनाइ छ ।
टेम्केमैयुङ–१ अन्तर्गत तिम्माको सुम्लिखा, खम्बुखा, सावालगायत लेकाली क्षेत्रहरू चिराइतो खेतीका लागि उपयुक्त मानिन्छन् । यी क्षेत्रहरूबाट वार्षिक करिब एक हजार मनको हाराहारीमा चिराइतो उत्पादन हुने गरेको स्थानीय किसानहरूले बताएका छन् । यहाँका अधिकांश किसानका लागि चिराइतो नगदे बालीका रूपमा स्थापित भइसकेको छ ।
स्थानीय जानकारहरूका अनुसार चिराइतो विभिन्न रोगको घरेलु उपचारका लागि उपयोगी मानिन्छ । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटसम्बन्धी समस्या लगायत रोगमा यसको पात, डाँठ र जरा प्रयोग गरिन्छ । औषधीय गुण उच्च भएकाले यसको माग देश तथा विदेशमा रहने गरेको छ ।
यहाँ उत्पादन भएको चिराइतो भारत, चीन र बंगलादेशलगायत मुलुकमा निर्यात हुने गरेको व्यवसायीहरूले बताएका छन् । यद्यपि अन्तर्राष्ट्रिय बजारको मूल्य घटबढ, ढुवानी खर्च र उचित बजार व्यवस्थापनको अभावका कारण किसानले उचित मूल्य पाउन नसकेको गुनासो बढ्दै गएको छ ।
किसानहरूले सरकारले चिराइतोको न्यूनतम समर्थन मूल्य तोक्नुका साथै प्रशोधन, भण्डारण र बजार व्यवस्थापनमा सहयोग गरेमा यसको व्यावसायिक खेती थप विस्तार गर्न सकिने बताएका छन् । स्थानीय तह र सम्बन्धित निकायको ध्यान नगदे बालीको संरक्षण र प्रवद्र्धनतर्फ जानुपर्ने उनीहरूको माग छ ।
सम्बन्धित समाचार
भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिँदै
मौलिक परिकारको प्रवरद्धन गर्न रैथाने महोत्सव
कजारियाले बनेपामा नयाँ विशेष शोरूम
स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्न आग्रह
यसोदा फुड्सका सम्पूर्ण भेराइटीका उत्पादनहरू एकै छानामुनि
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
एकैदिन तोलामा साढे १४ हजारले बढ्यो सुनको मूल्य
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?






