इलाम । डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड त्रिभुवन आर्मी क्लबसँग ३–० गोल अन्तरले पराजित भएको छ । डोमालाल राजवंशी रङ्गशाला भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइजलाई पराजित गर्दै त्रिभुवन आर्मी झापा गोल्ड कपको क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।
खेलको २७ औँ मिनेटमा आर्मीले अग्रता लियो । दिनेश हेञ्जनको क्रस पासमा नवीन लामाले वान टचमा आर्मीका लागि गोल गर्दे टिमलाई अग्रता दिलाएका थिए । लगातार दबाबमा राखेको आर्मीले पहिलो हाफको इन्ज्युरी समयमा गर्दै अग्रता दोब्बर बनायो । कप्तान जिलेस्पीजंग कार्कीको पासमा नवयुग श्रेष्ठले गरेको प्रहार गोलमा परिणत भयो ।
८५ मिनेटमा आर्मीले फ्रिकिकमार्फत जर्जप्रिन्स कार्कीले सिधै जाली चुमाएपछि डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइज युनाइटेड पहिलो खेलबाटै घर फर्कियो । उपाधिको दाबेदार मानिएको आर्मी यो रङ्गशालामा आयोजना भएका प्रतियोगिताको चार सिजनको विजेता हो । अघिल्लो सिजनदेखि सहभागी भएको चर्च ब्वाइजले पहिलो पटक नै उपाधि हात पारेको थियो । यो पटक आर्मीसामु स्तब्ध बन्दा चर्च ब्वाइज पहिलो चरणमै घर फर्किन बाध्य बनेको छ ।
खेलको ३२ औँ मिनेटमा आर्मीका कुशल देउवाले गरेको प्रहारलाई चर्च ब्वाइजका गोलकिपर दीप कार्कीले बचाउ गरे । खेलको अधिकांश समय बल नियन्त्रणमा राख्न सफल आर्मीले ६७ मिनेटमा विमल पाण्डेले वान भर्षेस वानमा पाएको प्रहार आकासिन पुग्यो । ७० मिनेटमा किपर विटको अवस्थामा दिनेश योन्जनले सदुपयोग गर्न सकेनन् । ७८ मिनेटमा कर्नरको बललाई हेड मार्फत गोल गर्न खोजे पनि गोल पोस्टमा परेन ।
तीन जना विदेशी खेलाडीसहित मैदानमा उत्रिएको चर्च ब्वाइजले विपक्षी पोस्टमा खासै दबाब सिर्जना गर्न सकेन । चर्चका खेलाडीहरू आर्मीसामु निरीह बनेका थिए । खेलको २१ औँ मिनेटमा विदेशी खेलाडी जिडेन नाहले डिबक्सबाट गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले विफल बनाए । ७३ मिनेटमा एन्ड्रोको उत्कृष्ट प्रहार फ्रेममा परेन । ७६ मिनेटमा एन्ड्रोकै उत्कृष्ट प्रहार विकेस कुथुले विफल पारिदिए ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका नवीन लामा घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । सोमबारको पहिलो क्वार्टर फाइनल खेल आयोजक झापा–११र भारतको सिङलिङ स्पोर्टिङ क्लब सिक्किमबिच हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकले ३५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । खेलको प्लेयर अफ द म्याचले २५ हजार रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा झापा ११, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपिएफ फुटबल क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र फुटबल क्लब, लालीगुराँस एसोसिएसन नेपाल पोखरा, रोयल थिम्पु कलेज भुटान, सिंग्लिङ स्पोर्टिङ क्लब भारत र एन पेनाङ फुटबल क्लब मलेसियाको सहभागिता रहेको आयोजकले जनाएको छ ।






