सिन्धुली । सिन्धुली क्षेत्र नं. १ मा प्रतिनिधिसभाको निर्वाचनमा १२ जना उमेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् । पुराना राजनीतिक दलका उमेदवारहरुमा शैक्षिक योग्यताको प्रश्न उठिरहेका बेला सिन्धुली क्षेत्र नं. १ मा चुनावी प्रतिपर्धा गरिरहेका चार दलका उमेदवारहरुको शैक्षिक योग्यता उच्च देखिएको छ ।
राजनीतिमा शिक्षित व्यक्तिहरु नहुने भाष्यलाई चिर्दै यस क्षेत्रमा मुख्य दलका उमेदवारहरु चुनावी प्रतिस्पर्धामा छन् ।
यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका चार जना उमेदवारहरुको शैक्षिक योग्यता स्नातकोत्तर रहेको पाईएको छ । नेकपा एमालेका उमेदवार प्रदीप कुमार कटुवाल, नेपाली कांग्रेसका उज्जल प्रसाद बराल, नेपाली कम्युनिष्ट पार्टीका उमेदवार डेकेन्द्र प्रसाद सुवेदी र नेकपा (माओवादी) का शुशिल हमालले स्नातकोत्तर गरेका छन् ।
ती उमेदवार मध्ये दुई जना उमेदवार निरन्तर जिल्लामै बसेर राजनीति गरिरहेका छन् । नेकपा एमालेका उमेदवार प्रदीप कुमार कटुवालले एमकम अर्थात व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका छन् । उनी भुगोलमा परिचित र सधै जनताको साथमा रहने नेताका रुपमा परिचित छन् । शिक्षण पेशा छोडेर राजनीति रोजेका कटुवाल शिक्षाप्रेमी र विकास प्रेमी नेताका रुपमा छवी बनाएका छन् । जनतासँग भुईं तहमै प्रत्यक्ष भेटिने उनले राजनीतिलाई सेवामा समर्पित गरेको जानकारहरु बताउँछन् ।
नेपाली कांग्रेसका उज्जल प्रसाद बरालले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । छोटो समय पत्रकारीता र व्यवसायसँग जोडिएका बराल जिल्लाको भुगोलमै बसेर सक्रिय राजनीतिमा छन् । बरालले २०४९–०५० मा कान्तिपुरसँग जनकपुर अञ्चल रिपोर्टरका रुपमा काम गरेका थिए । भुईं तहमा कम पुगे पनि कर्मचारी क्षेत्रमा पहुँच पुग्ने नेताका रुपमा बराललाई लिने गरिन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका उमेदवार डेकेन्द्र प्रसाद सुवेदीले कानुनमा स्नातकोत्तर गरेका छन् । उनी काठमान्डौमा बसेर वकालत गर्दै आएका थिए । प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुली क्षेत्र नं. १ बाट नेकपाको तर्फबाट उमेदवार बनि चुनावी मैदानमा छन् ।
क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार घनेन्द्र कार्कीको शैक्षिक स्तर प्लस टु रहेको छ । उनी पनि काठमान्डौ बस्दै आएका र जिल्लामा कम उपस्थिति देखाउने व्यक्ति हुन् । उक्त निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धा नेकपा एमाले, नेपाली कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा हुने आंकलन गरिएको छ ।
यस्तै क्षेत्र नं. १ मा उमेदवार बनेका नेपाल मजदुर किसान पार्टीका उमेदवार राजेन्द्र बखुन्छेले एसएलसी गरेका छन् । मंगोल नेशनल अर्गनाईजेशन पार्टीका उमेदवार सोमबहादुर घलान सामान्य लेखपढ भएका व्यक्ति हुन् । श्रम संस्कृति पार्टीका उमेदवार निम बहादुर मोक्तान एसएलसी पास, राष्ट्रिय परिवर्तन पार्टीका उमेदवार सन्तोष कुमार सुनुवार प्लस टु पास, राप्रपाका रामनारायण अधिकारी एसएलसी पास, उज्यालो नेपाल पार्टीका मोतिलाल तामाङ एसएलसी पास र स्वतन्त्र उमेदवार अमृत वि.क सामान्य लेखपढ गर्ने उमेदवार छन् ।






