आईपीएल फ्रेन्चाइज टोलीबाट नेपाली क्रिकेटको खुलेर प्रशंसा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)का विभिन्न फ्रेन्चाइज टोलीहरूले नेपाली क्रिकेट टोलीको साहसिक र प्रेरणादायी प्रदर्शनको खुलेर प्रशंसा गरेका छन् । टी–२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध नेपालले देखाएको आत्मविश्वास, संघर्षशीलता र खेलप्रतिको समर्पणले विश्व क्रिकेटमा नयाँ सन्देश दिएको उनीहरूको प्रतिक्रिया छ ।

रोयल च्यालेन्जर्स बैंगलोरले नेपाली खेलाडीहरू निडर भएर खेलेको उल्लेख गर्दै उनीहरूले पूरै जोशका साथ प्रतिस्पर्धा गरेको प्रतिक्रिया दिएको छ । आरसीबीले नेपाली खेलाडीप्रति देखाएको विश्वास र समर्थकको लगावप्रति सम्मान व्यक्त गरेको छ ।

गुजरात टाइटन्सले विश्वकपजस्तो ठूला मञ्चमा नेपाली खेलाडीले देखाएको साहस र संगठित प्रदर्शनको प्रशंसा गर्दै नेपाल क्रिकेटको भविष्य उज्यालो देखिएको टिप्पणी गरेको छ । मुंबई इन्डियन्सले ऐतिहासिक वानखेडे रंगशालामा भएको खेललाई सम्झँदै टी–२० विश्वकपको क्लासिक प्रतिस्पर्धामध्ये एक भएको जनाएको छ । नेपालले इंग्ल्यान्डलाई कडा चुनौती दिए पनि अन्तिम ओभरमा खेल हातबाट गएको उल्लेख गरिएको छ ।

चेन्नई सुपर किंग्सले अन्तिम बलसम्म चलेको संघर्षलाई स्मरण गर्दै समर्थकहरूले पनि धैर्यका साथ खेल हेरिरहेको प्रतिक्रिया दिएको छ । सीएसकेका अनुसार नेपालले साहसिक प्रदर्शन गरेर सबैको मन जितेको छ । राजस्थान रोयल्सले अन्तिम बलसम्म जितको प्रयास जारी रहेको उल्लेख गर्दै हारलाई सहज रूपमा स्वीकार गर्न नसकिने अवस्था भए पनि नेपाली क्रिकेटको साहस प्रशंसनीय रहेको बताएको छ ।

कोलकाता नाइट राइडर्सले यो टी–२० विश्वकप इतिहासकै रोमाञ्चक खेलमध्ये एक भएको प्रतिक्रिया दिएको छ । साथै, एसियाबाट नयाँ क्रिकेट जायन्ट उदाएको महसुस भएको जनाएको छ । लखनउ सुपर जायन्ट्सले टी–२० विश्वकपमा नेपालको प्रदर्शन सबैभन्दा उत्साहजनकमध्ये एक रहेको बताएको छ । त्यस्तै, पञ्जाब किंग्सले नेपाली टोलीको खेललाई साहसिक भन्दै खुलेर प्रशंसा गरेको छ ।

आईपीएलका नामी फ्रेन्चाइज टोलीहरूको यस्तो प्रतिक्रिया पछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा थप सम्मान र पहिचान पाएको देखिन्छ । विश्व क्रिकेटमा नेपाल अब केवल सहभागीसम्म सीमित नरही प्रतिस्पर्धी राष्ट्रका रूपमा उभिन थालेको संकेत दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक