काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचन नजिकिँदै जाँदा नेपाली सेयर बजारमा अस्थिरता बढ्दै गएको छ । केही दिन निरन्तर ओरालो लागेपछि एकाएक हरियाली देखिनु, फेरि त्यसपछि करेक्सन आउनु जस्ता दृश्य पछिल्ला साता नेप्सेमा बारम्बार दोहोरिएका छन् । यसले लगानीकर्तालाई अन्योलमा पारेको छ भने बजारलाई नजिकबाट नियालिरहेका विश्लेषकहरू यस उतारचढावलाई राजनीतिक अनिश्चितता र अपेक्षाको मिश्रित परिणामका रूपमा लिन्छन् । सेयर बजार मूलतः भविष्यको अपेक्षामा चल्ने प्रणाली हो । निर्वाचन नजिकिँदै गर्दा लगानीकर्ताहरू दुई धारमा देखिएका छन् ।
एकथरी लगानीकर्ता निर्वाचनपछि राजनीतिक स्थिरता आउने, नीति स्पष्ट हुने र बजारले गति लिने अपेक्षामा सेयर संकलन गरिरहेका छन् । अर्काथरी भने चुनावी परिणाम अप्रत्याशित हुन सक्ने भन्दै जोखिम कम गर्न नाफा बुक गर्ने रणनीतिमा देखिन्छन् । यही दुई प्रवृत्तिको टकराबले नेप्सेमा दैनिक उतारचढाव बढाएको विश्लेषकहरूको भनाइ छ ।
सूचकांकभन्दा बढी घटबढ कारोबारमा
पछिल्ला दिनहरूमा नेप्से सूचकांकमा सीमित अंकको घटबढ भए पनि कारोबार रकममा असामान्य उतारचढाव देखिएको छ । कुनै दिन ८–९ अर्ब नाघ्ने कारोबार, अर्को दिन ४–५ अर्बमा झर्ने अवस्था देखिएको छ ।
यसले बजारमा छोटो अवधिका ट्रेडर सक्रिय रहेको र दीर्घकालीन लगानीकर्ता अझै ‘वेट एन्ड वाच’को अवस्थामा रहेको संकेत गर्छ । बैंकिङ, हाइड्रोपावर र विकास बैंक समूहमा बढी कारोबार हुनु पनि यही मनोविज्ञानसँग जोडिएको छ ।
चुनावी समयमा किन संवेदनशील हुन्छ सेयर बजार ?
नेपालको सन्दर्भमा निर्वाचन र सेयर बजारबीच प्रत्यक्ष कानुनी सम्बन्ध छैन । नेपालको समग्र सेयर बजार परिसूचक नेप्से सोमबार २६ दशमलव ०५ अंकले घटेर २६७२ दशमलव ३९ विन्दुमा आएको थियो । बजार घट्दा पनि हाइड्रोपावर समूहका २ वटा कम्पनीहरू खानीखोला हाइड्रोपावर र रिडी पावर सकारात्मक सर्किट लेभलमा कारोबार हुन गयो । गत साता अन्तिम कारोबार दिन २७ अंकले बढेर बन्द भएको बजार आइतबार १० अंकले घटेको थियो ।
राजनीतिक मनोविज्ञान, अर्को नयाँ सूचीकृत सेयरको बढ्दो संख्या र चार वटा कम्पनीको प्रि–आईपीओ क्लोजिङका कारण नेप्से परिसूचक घटेको विश्लेषकहरूको भनाइ छ । आईपीओका लगानीकर्ताहरू नयाँ आईपीओ भर्नका लागि पुरानो सेयर बेच्ने तरखरमा रहेकाले पनि सेयर बजारमा उतारचढाव आएको एकथरी लगानीकर्ताहरूको विश्लेषण छ ।
दोस्रो, बजारमा अहिले नयाँ सूचीकृत कम्पनीको मात्र कारोबार धेरै हुनु र मूल्य बढ्नुको कारण यही रहेको भनाइ उनीहरूको छ । यो साता चार वटा कम्पनीको प्रि–आईपीओ क्लोजिङ भएको छ । एउटा होटल, एउटा स्टिल कम्पनीका साथै दुई जलविद्युत कम्पनीको प्रि–आईपीको क्लोजिङ थियो । सामान्यतया निर्वाचन नजिकिँदै जाँदा त्यसको सकारात्मक असर बजारमा पर्ने गरेकोमा अहिले भने निर्वाचन नै होला कि नहोला भन्ने डर हाबी रहेको देखिएको छ ।
सोमबार १० अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार जलविद्युत क्षेत्रका कम्पनीका लगानीकर्ताले कमाएका छन् । सेयर मूल्य सर्वाधिक बढ्ने ५ कम्पनीमा सबै जलविद्युत कम्पनी छन् ।
पछिल्ला दिनमा बैंकिङ र हाइड्रोपावर समूहमा बढी उतारचढाव देखिएको छ । यसको मुख्य कारण बैंकिङ क्षेत्र प्रत्यक्षरूपमा नीतिगत निर्णयसँग जोडिएको हाइड्रोपावरमा दीर्घकालीन लगानीको कथा भएकाले चुनावपछि स्थिरता आए मूल्य बढ्न सक्ने अपेक्षा रहेको छ ।
यही कारणले यी समूहमा नाफा बुक गर्ने दबाब पनि बढी देखिएको छ । छोटो समयमै बढेका सेयरहरूमा करेक्सन आउनु स्वाभाविक बनेको छ । निर्वाचन नजिकिँदा बजारमा तथ्यभन्दा बढी अफवाह–आधारित विश्लेषण हाबी हुने गर्छ । कुनै दिन ‘निर्वाचनपछि बजार उछालिने’ समाचार आउँदा बजार हरियो, अर्को दिन ‘राजनीतिक संकट’ शीर्षक आउँदा बजार रातो चक्र दोहोरिँदै आएको छ ।
नियामक र नीतिनिर्माताको मौनता
यस्तो संवेदनशील समयमा पनि पुँजी बजार नियामक निकाय र नीतिनिर्माताबाट स्पष्ट सन्देश नआउनु अर्को कमजोरीका रूपमा देखिएको छ । लगानीकर्ताहरू निर्वाचनपछि पनि बजारमैत्री नीति निरन्तर रहन्छ कि रहँदैन भन्ने स्पष्ट संकेत खोजिरहेका छन् ।
सरकारले राजनीतिक परिवर्तन भए पनि आर्थिक र पुँजी बजार नीति स्थिर रहने स्पष्ट संकेत दिन सके बजारको आधा डर त्यत्तिकै हट्ने बताउँछन् । अघिल्ला निर्वाचनहरू हेर्दा नेपालमा चुनावअघिको बजार प्रायः अस्थिर र चुनावपछि परिणाम स्पष्ट भएपछि क्रमशः स्थिर हुने गरेको तथ्यांक रहेको छ ।
निर्वाचनको असर बैंकिङ र हाइड्रोमा किन बढी ?
निर्वाचन नजिकिँदै जाँदा नेपाली सेयर बजारमा देखिएको उतारचढावमध्ये सबैभन्दा बढी प्रभाव बैंकिङ र हाइड्रोपावर समूहमा परेको देखिएको छ । बजार समग्र रूपमा अस्थिर देखिए पनि यी दुई सेक्टरमा सूचक र कारोबार दुवै हिसाबले तीव्र घटबढ भइरहेको छ, जसले लगानीकर्ताको ध्यान यिनै क्षेत्रमा केन्द्रित गराएको छ ।
बैंकिङ क्षेत्र सधैँ सरकार र नेपाल राष्ट्र बैंकको नीतिसँग प्रत्यक्ष रूपमा गाँसिएको हुन्छ । निर्वाचनपछि सरकार परिवर्तन भएमा मौद्रिक नीति, ब्याजदर, कर्जा विस्तार र नियामकीय कडाइमा असर पर्न सक्छ भन्ने आशंकाले बैंकिङ सेयरहरू बढी संवेदनशील बनेका छन् । केही दिन बैंकिङ सूचकमा तीव्र उछाल देखिँदा लगानीकर्ताले निर्वाचनपछि कर्जा विस्तार सहज हुने र ब्याजदर घट्ने अपेक्षा गरेको देखिएको थियो ।
बैंकिङ सेयरको मूल्यांकन ब्याजदरसँग गहिरो रूपमा जोडिएको हुन्छ । निर्वाचनपछि सरकार स्थिर बने ब्याजदर घट्न सक्ने अपेक्षा बजारमा छ । यही अपेक्षाले केही दिन बैंकिङ सेयरमा सकारात्मक चाल देखिएको हो ।
दीर्घकालमा ऊर्जा निर्यात, औद्योगिकीकरण र विद्युत् खपत वृद्धिको सम्भावना रहेकाले लगानीकर्ताको आकर्षण हाइड्रोपावर सेक्टरमा पनि रहेको छ ।
निर्वाचनपछि नीतिगत स्पष्टता र स्थिरता आएमा यी दुवै सेक्टर बजारको नेतृत्वकर्ता बन्न सक्छन् । तर त्यो स्पष्टता नआएसम्म बैंकिङमा सावधानी र हाइड्रोमा संयमित जोखिम लिनु नै अहिलेको यथार्थपरक रणनीति देखिन्छ । बजार विश्लेषकहरूका अनुसार यो अवस्था कुनै एक कम्पनीको वित्तीय कमजोरीका कारण होइन, बरु निर्वाचनपछि आउने सरकार र त्यसले लिने आर्थिक तथा ऊर्जा नीति’boutको अनिश्चितता मुख्य कारण हो ।







