पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चुनावी प्रचारका क्रममा बुधबार पर्यटकीय राजधानी पोखरा आइपुगे ।
कास्कीका तीनवटै क्षेत्रको प्रतिनिधित्व गर्ने गरी उनी क्रमशः बेगनास ताल, हेमजा र पृथ्वीचोकमा आयोजित भेलामा सहभागी भए । गाडीबाटै ओहोरदोहोर गरेका लामिछानेले मतदातालाई विश्वास दिलाउँदै भने, ‘एकपटक विश्वास गरिदिनोस् । काम गर्न सकेनौं भने अर्कोपटक भोट माग्न आउँदैनौं ।’
रास्वपा कार्यकर्ता तथा लामिछानेका समर्थकहरुले ‘रवि दाइ हाई हाई’ गर्दै नारासमेत लगाएका थिए । सबै क्षेत्रमा उनीहरुको बाक्लो उपस्थिति थियो । पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेले कास्कीका तीनवटै क्षेत्रका आफ्ना उम्मेदवारको जिम्मा लिने पनि प्रतिबद्धता व्यक्त गरे ।
रास्वपाले आगामी २१ फागुनको प्रतिनिधि सभा सदस्य चुनावमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नम्बर १ मा खड्गराज पौडेल (गनेश), कास्की २ मा उत्तम पौडेल र ३ बिना गुरुङलाई उम्मेदवार बनाएको छ ।
उनले आफ्ना उम्मेदवारलाई जिताउन तथा समानुपातिकतर्फ भारी सिट ल्याउन घण्टी चुनाव चिन्हमा मतदान गर्न मतदातासमक्ष आग्रह गरे ।
यसैगरी, उनले अब भाषणले होइन, परिणामले जित्नुपर्छ भनी जोड दिए । मुलुकमा शिक्षा, स्वास्थ्य र स्थानीय पूर्वाधार व्यवस्थित हुन नसक्दा नेपाली जनताले दुःख पाएको उल्लेख गर्दै राजनीतिलाई कमाउने नभई सेवा गर्ने माध्यम बनाउनुपर्ने बताए । लामिछानेले भने, ‘घण्टी परिवर्तनको संकेत हो, अब नेपालमा नयाँ पुस्ताले नेतृत्व गर्ने समय आएको छ ।’






