उदयपुर । नेपालमा नै पहिलो पटक राष्ट्रियस्तरको महिला फुटबल प्रतियोगिता उदयपुरमा शुक्रवारबाट शुरु भएको छ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा शुक्रबारदेखि रेड बुल एन्फा महिला च्याम्पियन २०८२ फुटबल प्रतियोगिता शुरु भएको हो ।
शुक्रवार भएको उद्घाटन खेलमा न्युरोड फुटबल क्लब काठमाडौं (एनआरटी ) ले विजयी सुरुवात गरेको छ । एनआरटीले गाईघाट फुटबल क्लबलाई शुन्यको विरुद्ध २ गोल गर्दै जित निकालेको हो । एन्फा महिला च्याम्पियन प्रतियोगितामा न्युरोड टिम (एनआरटी) ले शानदार प्रदर्शन गर्दै गाईघाट एफसी माथि २–० को स्पष्ट जित निकाल्दै आफ्नो अभियान विजयी रूपमा सुरु गरेको छ ।
एनआरटीले संगठित खेल र आक्रामक रणनीति प्रस्तुत गर्दै खेलको अधिकांश समय नियन्त्रणमा राखेको थियो । खेलको ४६ औं मिनेटमा न्युरोडकी जर्सी नम्बर ११ की प्रतीक्षा ठकुरीले पहिलो गोल गरेकी थिइन् । त्यसपछि खेल थप रोचक बन्दै गयो । ७९ औं मिनेटमा त्यही टिमकी जर्सी नम्बर ८ कि सुशीला केसीले थप्प गोल गरेर विजयी यात्रालाई निरन्तरता दिन सफल भईन् ।
खेलको ७९ औँ मिनेटमा जर्सी नम्बर ८ की सुशिला केसीले अर्को उत्कृष्ट गोल थप्दै एनआरटीको जित सुनिश्चित गरिन् । गाईघाट एफसीका खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरे पनि अबसरलाई गोलमा परिणत गर्न नसक्दा पराजय व्यहोर्न बाध्य भए । यस जितसँगै एनआरटीले प्रतियोगितामा बलियो उपस्थिति जनाएको छ । अब फागुन ४ गते हुने आगामी खेलमा एनआरटीले त्रिभुवन आर्मी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
खेलको म्यान अफ द म्याच पहिलो गोल गर्ने प्रतीक्षा भइन् । प्रतियोगिता अबधि भर दुवै टिमले आधा दर्जन बढी गोल गर्ने अबसर गुमाएका थिए । उदघाटन खेल रोचक बनेको थियो । फागुन ९ गते फाइनल हुने प्रतियोगिताको उद्घाटन साफका महासचिव पुरुषोत्तम कटेलले गरेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा जिल्ला फुटबल संघ उदयपुरको सह आयोजनामा भएको प्रतियोगितामा देशकै उत्कृष्ट महिला फुटबल टिमको शीर्ष १० क्लबहरू सहभागी छन् । उपाधी विजेतालाई ७ लाख ५ हजार र र उपविजेतालाई ३ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको प्रतियोगिता नकआउट सिस्टममा सञ्चालन छ ।
जस अनुसार पहिलो खेल हार्ने गाईघाट क्लब बाहिरिएको छ भने एनआरटी अगाडि बढेको छ । सनिवारको खेल नेपाल पुलिस क्लब र एफसी रियल बीच हुनेछ । अन्य प्रतियोगी टिमहरुमा त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, आरएस पोखरा, चर्च ब्वाइज युनाइटेड, छहारी वाइसी र संकटा फुटबल क्लब रहेका छन् ।
एन्फा महासचिव किरण राईले नेपालमै पहिलो पटक आयोजना भएकोे यो प्रतियोगिताले उदयपुरमा खेल प्रतियोगिहरुको लागि गर्बको विषय भएको जनाए । महासचिव राईले यो प्रतियोगिता अन्तर्राष्ट्रिय फुटबल महासंघको चाहना अनुरुप पहिलो पटक नेपालमा भएको हो । विगत केही समययता नेपाली महिला फुटबल खेलाडीहरूले एकपछि अर्को सफलता प्राप्त गर्दै गएका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा निकै ठुलो प्रभाव परेको बताए । ‘एकपछि अर्को महिला खेलाडी टिमको सफलताकै उपलब्धि स्वरूप यो राष्ट्रिय स्तरको प्रतियोगिता भएको हो । महासचिव राईले भने ‘यसले नेपाली महिला खेलाडीहरूको प्रगतिमा थप मद्दत गर्ने अपेक्षा लिइएकाछौं ।
महासचिव राईले नेपाली महिला टोलीले अहिलेको भन्दा बढी प्रगति गर्ने र राष्ट्र्रिय रूपमा नेपालको फुटबल खेलको महत्व बढाउने भएकाले एन्फाले प्रतियोगिता गरेको हो । नेपालमा महिला खेलाडीहरू एकपछि अर्को उदाउँदै गरेको बताउँदै समग्र महिला फुटबलको भविष्य उज्ज्वल रहेको उनको भनाइ छ । राष्ट्र्रिय स्तरको प्रतियोगिता आयोजना हुँदा समग्र उदयपुरे खेलाडी र खेलप्रमी खुसी भएका छन् ।
पहिलो पटक भएको महिला च्याम्पियनसिपमा सहभागी हुन देशभरका चर्चित टिमहरू तथा राम्रा खेलाडीहरू भएपछि उदयपुरबासी खुसी बनाएको बताए ।






