पोखरा । २० औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा यसपालि पनि केन्याली धावक जुलियस मुरियुकी वाहोमे च्याम्पियन बनेका छन् । उनले निर्धारित (४२.१९५ किमी) दूरी २ घण्टा २३ मिनेट ३९ सेकेण्डमा पूरा गर्दै उपाधि सहित नगद ४ लाख नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।
गजेन्द्र राईले निर्धारित दूरी २ घण्टा २४ मिनेट ४७ सेकेण्डमा पार गरी दोस्रो भए । धादिङका हरिकुमार रिमाल तेस्रो भए । रिमालले उक्त दूरी पार गर्न २ घण्टा २७ मिनेट १८ सेकेण्ड लगाए । दोस्रो र तेस्रो हुन सफल राई र रिमाललाई क्रमशः २ लाख र १ लाख नगदसहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो ।
नेपाल भूतपूर्व खेलाडी मञ्चले वार्षिक कार्यक्रमअन्तर्गत फागुन पहिलो शनिबार पोखरामा उक्त प्रतियोगिता गरेको हो । धावकले पोखरा सहरका विभिन्न भाग परिक्रमा गरी फेवाताल किनार वाराही घाटमा पुगेर आफ्ना दौड टुंगाएका थिए । संस्था स्थापनाको रजत वर्ष वर्षमा आयोजकले यसपालि विभिन्न २१ विधामा म्याराथन प्रतियोगिता गरेको हो ।
म्याराथनको नेपाल इभेन्टतर्फ गजेन्द्र राई नै प्रथम भए । २ घण्टा २४ मिनेट २७ सेकेण्ड लगाएका उनले नगद १ लाख प्राप्त गरे । हरिकुमार रिमाल दोस्रो र करण रावल तेस्रो भए । रावलले २ घण्टा ३१ मिनेट १९ सेकण्ड लगाएका थिए । उनीहरुले क्रमशः ५० हजार र २५ हजार जिते ।
गण्डकीतर्फ पर्वतका सुवास गुरुङ (२ घण्टा ३२ मिनेट १० सेकेण्ड) प्रथम, गोरखाका नीरोज भट्ट (२ घण्टा ३५ मिनेट ११ सेकेण्ड) दोस्रो र स्याङ्जाका धनु मानन्धर (२ घण्टा ३८ मिनेट २१ सेकेण्ड) तेस्रो भए । उनीहरुले क्रमशः ५० हजार, ३० हजार र २० हजार प्राप्त गरे ।
म्याराथनमै ४५ वर्षमाथि उमेर समूहमा रैवतबहादुर दाहाल प्रथम भए । उनले निर्धारित दूरी पार गर्न २ घण्टा ५७ मिनेट ५२ सेकेण्ड लगाए । दोस्रो भएका सुशीलकुमार श्रेष्ठले २ घण्टा ५८ मिनेट ४७ सेकेण्ड लगाए । चेतनाथ चालिसे तेस्रो भए । उनले ३ घण्टा १५ मिनेट १९ सेकेण्डमा निर्धारित दूरी पूरा गरे । उनीहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार पुरस्कार प्राप्त गरे ।
हाफ म्याराथनमा पुरुषतर्फ सञ्जय श्रेष्ठ प्रथम भए । नगेन्द्र सिंह रावत दोस्रो र गौतम श्रेष्ठ तेस्रो भए । महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम भइन् । नीशा सार्की दोस्रो र राज्यलक्ष्मी रावल तेस्रो भइन् । दुवै इभेन्टमा प्रथम, दोस्रो र तेस्रोले क्रमशः ७५ हजार, ५० हजार र ३० हजार प्राप्त गरेका छन् ।
२१ किमी (४५ वर्ष उमेर समूहमाथि) पुरुषतर्फ धर्म महर्जन, तेजबहादुर गुरुङ र कमल गुरुङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
१० किमी पुरुषतर्फ नगेश्वर अहिर प्रथम, उमेश विष्ट दोस्रो र महेन्द्रबहादुर वोगटी तेस्रो भए । उक्त दूरीमा महिलातर्फ दीपा परियार प्रथम, सुमित्राकुमारी चौधरी दोस्रो र नारायणी भण्डारी तेस्रो भए ।
५ किमी (५० वर्षमाथि) पुरुषतर्फ राजु भण्डारी, किशोर थापा र अइलाल शाही प्रथम, दोस्रो र तेस्रो भए । महिलातर्फ तोलमाया थापा, जगनसुब्बा गुरुङ र विष्णु ठकुरी क्रमशः प्रथम, दोस्रो र तेस्रो बने ।
कर्पोरेट दौडमा पुरुषतर्प सुसन थापा, दिवश रिजाल र राजु गुरुङ प्रथम, दोस्रो र तेस्रो भए । कर्पोरेटमै महिलातर्फ पवित्रा सुवेदी प्रथम, खड्कादेवी बास्तोला दोस्रो र विनुता पाण्डे तेस्रो भए ।
छात्र यू–१६ तर्फ रोशनकुमार माझी प्रथम, रुपेशकुमार माझी दोस्रो र सगुन लामिछाने तेस्रो भए । छात्रामा एञ्जिला जिटी, साधना परियार र अनुशा बुढा क्रमशः प्रथम, दोस्रो र तेस्रो बने ।
खुलातर्फ पुरुष (१७–४९ उमेर समूहमा) सन्तोषनाथ योगी प्रथम, बादल कार्की दोस्रो र तुलबहादुर झेडी तेस्रो भए । महिलातर्फ (१७ देखि ४४) मा टीका खड्का प्रथम, दृष्टि आले दोस्रो र पूर्णकाश गुरुङ तेस्रो भए ।
विजयीलाई नेपाल ओलम्पिक कमिटीका जीवनराम श्रेष्ठ, आयोजक मञ्च अध्यक्ष दिलबहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्कबहादुर रानाभाट, पूर्व अध्यक्ष तेजबहादुर गुरुङ, निवर्तमान अध्यक्ष हरिप्रसाद पराजुली, पूर्व धाविक इन्द्रा मल्ल, पूर्व खेलाडी जगन गुरुङलगायतले पुरस्कार वितरण गरे । म्याराथनको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा रंगशालामा आयोजित समारोहबीच उद्घाटन गरेका थिए ।
दौडमा प्रतियोगितात्मक रुपमा ३ हजार ६ सय १ र रन फर फनमा ६ हजार ५ सय गरेर कुल १० हजार दौडिएको आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चका महासचिव महेश पौडेलले जानकारी दिए ।
‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ आयोजित प्रतियोगितालाई सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजन गरेको थियो ।






