सिन्धुली । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाको लागि जिल्लामा सुरक्षा निकायहरुले संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् । शनिबारदेखि जिल्लाका सबै स्थानीय तहमा संयुक्त सुरक्षा गस्ती सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिएका छन् । नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरु गरिएको उनले बताएका छन् ।
एकीकृत सुरक्षा योजना अनुसार संयुक्त सुरक्षा गस्ती सुरु भएको उनले जानकारी दिएका छन् ।
जिल्लाका सबै मतदान स्थलहरुको अध्ययन तथा अनुगमन सकेको जिल्ला सुरक्षा समितिले संयुक्त गस्ती सुरु गरेको हो । विशेष गरि संवेदनशिल र अति संवेदनशिल निर्वाचन स्थल र उमदेवारहरुको सुरक्षालाई मध्यनजर गरि सुरक्षा गस्ती सुरु भएको उनले जानकारी दिएका छन् ।
निर्वाचनलाई लक्षित गर्दै एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार जिल्लामा संयुक्त सुरक्षा गस्ती तीव्र पारिएको छ । जिल्लाभर शान्ति, सुरक्षा र निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली दैनिक रूपमा परिचालन भइरहेको सुवेदीले जानकारी दिए ।
निर्वाचनको मिति नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तह, मुख्य बजार क्षेत्र, मतदान केन्द्र ’roundका स्थान तथा ग्रामिण भेगहरूमा समेत नियमित गस्ती सञ्चालन गरिएको छ ।
निर्वाचन सुरक्षामा नेपाल प्रहरीले मतदान स्थल र केन्द्रको सम्वेदनशिलताको आधारमा एक मतदान केन्द्रमा ३ जना प्रहरी र ४ जना निर्वाचन प्रहरी परिचालन गर्ने योजना बनाएको छ । यो सँगै एक स्थानीय तहमा दुई वटा मोवाईल टोली समेत परिचालन गर्ने छ । अन्य सुरक्षा निकायसँगको समन्वयमा कम्तिमा पनि पालिकाका सबै निर्वाचन क्षेत्रमा समस्या परेको खण्डमा बढीमा १० मिनेटमा कुनै न कुनै सुरक्षा निकायको थप सुरक्षा बल पुग्ने गरी मोवाईल टोली परिचालन गर्ने तयारी भई रहेको उनले बताए । यो तयारीलाई डिजिटल माध्यमबाट समेत अनुगमन गर्ने प्रहरीको तयारी छ । मतपत्र, मतपेटिका लगाएतका निर्वाचन सामग्रीको सुरक्षामा समेत डिजिटल अनुगमन हुने छ ।
सशस्त्र प्रहरीले पनि जिल्लाका दुई निर्वाचन क्षेत्रमा वेश क्याम्प नै स्थापना गरि निर्वाचन सुरक्षालाई अगाडि बढाएको छ । क्षेत्र नं. १ को खुर्कोट र क्षेत्र नं. २ को मरिणमा सशस्त्रको सुरक्षा क्याम्प स्थापना भईसकेको छ । त्यहिँबाट निर्वाचनमा सुरक्षा परिचालन र निगरानीका काम हुनेछन् । दुवै क्याम्पलाई सशस्त्र प्रहरी बल सिन्धुलीमाढीबाट निगरानी तथा अनुगमन गरिने छ । उता नेपाली सेनाले ८ सय सेना परिचालन गरि गस्ती नै सुरु गरिसकेको छ । आवश्यकता अनुसार सेना थप्ने र थप रणनीतिक व्यवस्था गर्ने तयारीमा छ ।
सुरक्षा निकायका अनुसार सम्भावित जोखिम क्षेत्रहरूको पहिचान गरी त्यहाँ विशेष निगरानी बढाइएको छ । संयुक्त टोलीले सवारी चेकजाँच, शंकास्पद गतिविधिमाथि निगरानी तथा सार्वजनिक स्थलहरूको अनुगमनलाई प्राथमिकता दिइएको छ ।
तीनै सुरक्षा निकायबीच सूचना आदान–प्रदान, द्रुत प्रतिक्रिया संयन्त्र र आवश्यक परेमा तत्काल परिचालन हुने व्यवस्था मिलाउने गरी तयारी स्वरुप छलफल भईरहेको प्रहरी उपरिक्षक सुवेदीले बताएका छन् ।
निर्वाचन आचारसंहिताको पालना गर्न, भ्रामक सूचना नफैलाउन र शंकास्पद गतिविधि देखिएमा नजिकको सुरक्षा निकायलाई तत्काल जानकारी गराउन सर्वसाधारणसँग सुवेदीले अनुरोध समेत गरेका छन् । एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अन्तर्गतको संयुक्त गस्ती निर्वाचन सम्पन्न नहुँदासम्म निरन्तर जारी रहने छ ।






