भक्तपुर–२ मा निर्वाचन जित्न सजिलो छैन कसैलाई

भक्तपुर । फागुन २१ गते विहिबार हुने निर्वाचनको लागि सोमबाट घरदैलो अभियान सुरु गर्दैछन् । यो भन्दा अगाडी कोठे भेटघाट गरेर मत मागिरहेका दलहरु पार्टीको झण्डा बोकेर भने सोमबारदेखि जनता माझ जानेछन् ।

देशबासीले निकै चासोका साथ हेरेको भक्तपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ मा पनि राजनितिक दलका १६ जना र स्वतन्त्र १६ जना गरेर ३२ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारहरुमा नेकपा एमालेका सचिव महेश बस्नेत, नेपाली कांग्रेसका कबिर राणा, नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य, नेपाली कम्युनिष्ट पार्टीका रामप्रसाद सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका राजिव खत्री रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम थापा, आमजनता पार्टीकी देव कुमारी शाह, उज्यालो नेपाल पार्टीका जितराम लामा रहेका छन् । नेपालकालागि नेपाली पार्टीका राजेश बाडेले उम्मेदवार बनेका निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

मंगोल नेशनल अर्गनाइजेसनबाट पेम्वा घले, श्रम संस्कृति पार्टीबाट अर्जुन बासु, जसपा नेपालका नविन श्रेष्ठ, नेकपा (माओवादी)का प्रकाशराज ढुंगेल, त्रिमुल नेपालका राकेश श्रेष्ठ, नेकपा संयुक्तका लोककृष्ण दाहाल, प्रगतीशिल लोकतान्त्रिक पार्टीका जन्मदेव जैसी र नेपाल जनसेवा पार्टी जानुका पाठक रहेकिछिन् ।

स्वतन्त्र उम्मेदवारहरुमा प्रदीप कुमार रुपाखेती, सविन महत, अनिता भट्टराई, अर्चना भट्टराई, रेणु श्रेष्ठ, सुर्वण थापा, साजन ढकाल, नविन कुमार महत, ओमकृष्ण कुटु, बालकृष्ण श्रेष्ठ, लक्ष्मि बास्तोला पौडेल, श्यामकृष्ण धुख्वा, मधु प्रकाश साहुखल, आनन्द कार्की मनोज लामा रहेका छन् ।

क्षेत्र नं. २ जहाँ सूर्यविनायक र मध्यपुरथिमि नगरपालिको १९ वटा वडा पर्दछन् । यो पटकको निर्वाचनमा यस क्षेत्रमा महिला मतदाता ५० हजार २७७, पुरुष ४८ हजार ७४ र अन्य ५ जना मतदाता गरेर ९८ हजार ३५६ जना मतदाता रहेका छन् । २०७९ मंसिरमा भएको संघिय र प्रदेशसभाको निर्वाचनमा यस क्षेत्रमा ९१ हजार ९११ जना मतदाता रहेका थिए । यो निर्वाचन क्षेत्रमा ६ हजार ४४५ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भिब बहादुर विसीले जानकारी दिएका छन् ।

विगतको जनमत
यस क्षेत्रमा पर्ने दुई नगरमध्य सूर्यविनायक नगरपालिकामा एमालेका नगरप्रमुख र उपप्रमुख छन् । क्रमशः पाँच वडामा एमाले र पाँचमा कांग्रेसका वडाअध्यक्ष निर्वाचित भएका छन् । सो नगरभित्र पर्ने प्रदेश सभामा एमालेका किरण थापामगर निर्वाचित भएका थिए । मध्यपुरथिमि नगरपालिकामा नगरप्रमुख कांग्रेस, उपप्रमुख हाल नेकपा तत्कालिन (एमाओवादी), वडाअध्यक्षहरु ६ जना कांग्रेस, २ जना एमाले र १ जना नेमकिपाबाट निर्वाचित भएका छन् ।

सो नगरमा पर्ने प्रदेशसभामा तत्कालिन एकिकृत समाजवादी पार्टीका हालका नेकपाका राजेन्द्र श्रेष्ठ निर्वाचित भएका हुन् । संघीय संसदमा भने कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका थिए । विगतको जनमतलाई हेर्दा यो क्षेत्रमा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै हो जस्तो देखिन्छ । तर, बढेका मतदातासंख्या धेरै भएकाले पनि फागु्न २१ गते हुने निर्वाचनमा यो क्षेत्रमा कुन पार्टीका उम्मेदवार बिजयी हुन्छन् भन्ने सक्ने अवस्था देखिदैन् ।

२०७९को निर्वाचनमा कांग्रेसका थापाले २४ हजार २३९ मत ल्याउदाँ उनको पाटीले भने समानुपातिक तर्फ १४ हजार ८९४ मत मात्र ल्याएको थियो । त्यतिबेला सो क्षेत्रमा माओवादी र समाजबादीले कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका थिए । सो निर्वाचनमा एमालेका उम्मेदवार महेश बस्नेत २३ हजार २८२ मत ल्याए पनि उनी ९६७ मतले पराजित भएका थिए । एमालेले समानुपातिक मत १७ हजार ८७६ ल्याएको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।

यो क्षेत्रमा अर्को प्रतिस्पर्धी दलको रुपमा रहेको नेपाल मजदुर किसानपार्टीकी उम्मेदवार अनुराधा थापामगर ७ हजार १२७ मत ल्याउँदा उनको पार्टीले समानुपातिक मत ७ हजार ८६३ मत प्राप्त गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४ हजार ९८ मत मात्र ल्याउँदा उनको दलले भने समानुपातिक तर्फ तेस्रो स्थान हासिल गर्दै ११ हजार ८९६ ल्याएको थियो । राप्रपाका मोहन केसीले २ हजार ६९ मत ल्याउँदा उनको पार्टीले ५ हजार ४८९ मत प्राप्त गरेको थियो । प्रत्यक्ष तर्फ उम्मेदवार नभएको एमाओवादीले समानुपाति तर्फ २ हजार ७३१ र नेकपा एसले १६७९ मत ल्याएका थिए ।

जित्न सजिलो छैन कसैलाई
यो निर्वाचनमा यो क्षेत्रमा ६ हजार ४४५ जना मतदाता थपिएका छन् । हाल ९८ हजार ३५६ जना मतदाता रहेको यो क्षेत्रमा राजनितिक दलका १६ जना र स्वतन्त्र १६ जना गरेर ३२ जनाले उम्मेदवारी दिएका छन् । ठुलादेखि साना दलसम्मले मत तान्ते होडबाजी गर्ने भएकाले यो निर्वाचनमा सहज तरिकाले कुनैपनि उम्मेदवारको जित हुने देखिदैन् । एमाले र कांग्रेसले विगतको मतलाई आधार मानेपनि उनीहरु भित्रकै आन्तरिक कलह मिलाउन सकेनन् भने केही सय मत घट्ने देखिन्छ । रास्वपाभित्र पनि उम्मेदवारलाई लिएर तेती सहजता देखिदैन् ।

एमालेका सचिब महेश बस्नेतले सानदार ढंगले चुनाव जित्छु भन्दै आएपनि उनको पार्टीपक्तिको सकरात्मक साथ भएन भने बस्नेतलाई यो निर्वाचनमा पनि गत निर्वाचनकै जस्तो सकस हुनेछ । अर्कोतर्फ उनको स्वभाव र बोलीले समेत निर्वाचनमा प्रभाव पर्ने एमाले पार्टीकै नेताहरु बताउँछन् ।

पत्रकार भएपनि आफु लामो समयदेखि कांग्रेसको राजनिति गरेको दाबी गर्ने कबिर राणा पार्टीभित्र मात्र समिति परिचय भएका उम्मेदवार भएको कांग्रेसका नेताहरु बताउँछन् । विशेष महाधिवेशनबाट भक्तपुर दुई क्षेत्रमै सभापति गगन थापा निकटले टिकट पाएपछि कांग्रेसको पुरानो अन्तरघातको रोग निको भएन भने राणालाई यो निर्वाचनमा जित निकाल्न सक्ने छैनन् ।

सामाजिक संजालमा अन्य पार्टीका नेतालाई गालि गरेर नै टिकट ल्याएको आरोप लाग्ने गरेका रास्वपाका उम्मेदवार राजिव खत्रीले देशमा आएको पार्टीको लहर आफुने चुनाव जित्ने भाषण गर्दै हिड्ने गरेका छन् । मनोनयन दर्ताको अघिल्लो दिनसम्म साजन विकको नाम हुनु र भोलीपल्ट एक्कासी खत्रीले टिकट बोकेर आउनु पुराना रास्वपाकालागि “हर्टब्रेक” जस्तो भएको एक नेता बताए । कांग्रेस र एमालेले लय समात्ने हो भने खत्रीको माननिय हुने सपनामा ब्रेक लाग्ने स्वयम् रास्वपाकै कार्यकर्ताहरुको बुझाई छ ।

मुख्य प्रतिस्पर्धी यी दल बाहेक नेमकिपाका रमेश वैद्य, राप्रपाका विक्रम थापा, नेकपाका राम प्रसाद सापकोटा समेत यो क्षेत्रमा जनधार भएका उम्मेदवार हुन । त्यसैले भक्तपुर २ नं. क्षेत्रमा यो पटकको निर्वाचन के हुन्छ भन्न सकिने अवस्था देखिदैंन् । थपिएका धेरै भन्दा धेरै मतदाताको मन जित्नेले नै यो क्षेत्रमा जित निकाल्ने स्थानीय बासिन्दाको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

रेखा थापा ८ वर्षपछि फर्किइन निर्देशनमा