रुकुमबाट विकास र समृद्धिको बिगुल फुक्छौं: नेकपा संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्रोहको झण्डा उठाएको रुकुमबाट अब विकास, निर्माण र समृद्धिको बिगुल फुक्ने बताएका छन् ।

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका १२ कोलमा सोमबार आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले दलित समुदायको उल्लेख्य बसोबास रहेको सो क्षेत्रमा दलित र मगर समुदायको विकासका लागि विशेष कार्यक्रम ल्याउने बताए ।

प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बनेका प्रचण्डले दलित समुदायको विकासका लागि शक्तिशाली प्राधिकरण निर्माण गर्ने घोषणा गरे ।

‘हामीले दलित समुदायमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्नेछौं’, उनले भने, ‘म प्रधानमन्त्री हुँदा दलित विकास प्राधिकरण बनाउने निर्णय गरेका थियौं । सरकार ढलेपछि त्यो काम अगाडि बढेन -। म यहाँको उम्मेदवार भएपछि दलित समुदायको विकासका लागि आफू पुरै शक्ति लगाउने प्रतिबद्धता जनाउँछु ।’

उनले दलितहरूको बाहुल्य रहेका क्षेत्रलाई संरक्षित क्षेत्र बनाएर सो समुदायलाई विशेष अधिकार दिन सकिने बताए । यसैगरी उनले रुकुम पूर्वलाई सडक सञ्जालले जोड्ने महत्त्वपूर्ण सडक योजनामा पनि प्रतिबद्धता व्यक्त गरे ।

‘हामी तकसेरा हुँदै शहीद मार्गबाट आएका छौं । त्यसको स्तरोन्नति गर्ने । तकसेरा–सानीभेरी–उत्तरगंगा–ढोरपाटन–बेनी सडक खण्ड छिचोलेर आवतजावत सहज बनाउनेतिर मेरो ध्यान रहनेछ’, उनले भने । निर्वाचित भएपछि सो सडकलाई बेनीसम्म छिचोल्ने र स्थानीयलाई सुविधा पुग्ने गरी काम गर्ने उनको भनाइ छ ।

जनयुद्धबाट संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान प्राप्त भएको स्मरण गर्दै प्रचण्डले संविधानले दलित, जनजातिलगायत सबैलाई अधिकार दिएको उल्लेख गरे । ‘अब फेरि यही क्षेत्रबाट समृद्धि र विकासका लागि नयाँ अभियान चलाउनुपर्छ’, प्रचण्डले भने ।

तपाइको प्रतिक्रिया
(Visited 24 times, 1 visits today)

epaper

ताजा समाचार

व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय