पोखरा । मनाङ मस्र्याङ्दी क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा थन्डरबोल्ड नर्थ युनाइटेडसँग तेस्रो क्वाटरफाइनलमा मनाङले १०५ मिनेट लामो समयसम्मको गोलको खडेरी तोड्दै निर्णायक गोल गरेको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । प्रतियोगितामा प्लेयर अफ दि म्याच समेत घोषित अशीष श्रेष्ठले अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका हुन् । यो जितसँगै मनाङले पहिलो सेमिफाइनल खेलमा आयोजक सहारा क्लबसँग प्रतिस्पर्धा सुनिश्चित गरेको छ ।
सहाराले उद्घाटन खेलमा हङकङको गोर्खा इन्टरनेशनललाई १–० गोलअन्तरले पराजित गरी विजयी यात्रा सुरु गरेकोमा क्वाटरफाइनलमा नेपाल पुलिस फुटबल क्लबलाई सडन डेथको शिकार बनाउँदै अन्तिम चारमा पुगेको हो ।
मंगलबार अन्तिम क्वाटरफाइनल हुनेछ । प्लानिङ ब्वाइज युनाइटेड र आभा फुटबल क्लब, उजेकिस्तानबीच विजेताले जावलाखेल युथ क्लबसँग दोस्रो सेमिफाइनल खेल्नेछ ।
१२ टिमले भाग लिएको प्रतियोगिताको फाइनल ९ फागुनमा हुनेछ । विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई टेलजी इलेक्ट्रिक स्कुटर प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्ड, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।






