लमजुङ । लमजुङमा फोहर संकलन प्रतियोगिता गरिएको छ । सो प्रतियोगितामा बेसीशहरका सागर घिमिरे पहिलो भए ।
लमजुङ जेसीजले आफ्नो १६ औं स्थापना दिवसको अवसरमा बेसीशहर नगरपालिका– ८ का वडाध्यक्ष पवित्रा थापा रानाको प्रमुख आतिथ्यतामा उक्त प्रतियोगिता भएको हो । पहिलो हुने घिमिरेले सबैभन्दा बढी १ सय ४९ किलो फोहर संकलन गरेर पहिलो स्थान हासिल गरेका हुन् ।
प्रतियोगितामा बेसीशहर नगरपालिका– ८ को झिंगेखोला क्षेत्रलाई आधार बनाइएको थियो । बेसीशहर नगरपालिका– ७ को गैरीधाराबाट सुरु गरिएको फोहोर संकलन कार्य वडा नं. ८ झिंगेखोलासम्म भएको आयोजकको भनाइ छ । पहिलो हुने घिमिरेलाई पुरस्कार स्वरुप नगद ३ हजार रुपैया मेडल, ट्फि र प्रमाणपत्र दिइएको छ । सो प्रतियोगितामा सन्देश परियार दोस्रो भए । उनले १ सय ३३ किलो फोहोर संकलन गरेका थिए । दोस्रो स्थान हासिल गर्ने परियारलाई २ हजार नगद सहित मेडल, ट्फि र प्रमाणपत्र दिइएको छ । यसैगरी १ सय ३ किलो फोहर संकलन गरी कमला तामाङले तेस्रो स्थान हासिल गरिन् । उनलाई एक हजार नगद सहित मेडल, ट्फि र प्रमाणपत्र प्रदान गरिएको छ ।
उक्त फोहोर सकलन प्रतियोगितामा स्थानीय फूलबारी आमा समूह सहित ५५ जनाले भाग लिएको आयोजक लमजुङ जेसीजका निर्वतमान अध्यक्ष प्रतिजङ तामाङले बताउनु भयो । उहाँका अनुसार सो अवसरमा सहभागीहरूबाट एक हजार १९ किलो फोहर संकलन भएको थियो उनले भने, ‘संकलित फोहर बेसीशहर नगरापलिकाको ट्याक्टरले डम्पिङ साइडमा लगेर व्यवस्थापन गरिएको छ ।’
बेसीशहर नगरपालिकाको सहयोगमा ‘स्वच्छ सफा बेसीशहर, हाम्रो रहर’ भन्ने नाराका साथ फोहोर संकलन प्रतियोगिता भएको आयोजक संस्थाका महासचिव शान्ति श्रेष्ठले बताए । प्रतियोगिता लमजुङ जेसीजका अध्यक्ष खुशीमाया गुरुङको अध्यक्षतामा भएको थियो । लमजुङ जेसीजले १६ औं स्थापना दिवसका अवसरमा झिंगेखोला क्षेत्रलाई आधार बनाएर आयोजना गरेको फोहर संकलन प्रतियोगितामा पूर्वाध्यक्ष विष्णु उपाध्ययलगायत संस्थाका पदाधिकारीहरुको उपस्थिति थियो ।





