एसियन चेस महासंघको आयोजनामा भएको एसियन जुनियर एन्ड गल्र्स अनलाइन चेस च्याम्पियनसिप–२०२० मा नेपालले सहभागिता जनाएको छ ।
कोभिड–१९ ले विश्वलाई अक्रान्त बनाइरहेको अवसरमा आफ्ना सदस्य राष्ट्रका खेलाडीहरूलाई क्रियाशील गर्दै मानसिक पीडाबाट मुक्त गराउँदै स्वस्थ बनाउने उद्देश्यले बुधबार २७ मेदेखि ४ जुनसम्म सञ्चालन हुने च्याम्पियनसिपमा नेपालबाट पुरुषतर्फ अविश्रे श्रेष्ठ, विवेक श्रेष्ठ र निकेन कुसथा र गल्र्सतर्फ खुस्बु थापा, अनिषा न्यौपाने र कृतिसरा अधिकारीले प्रतिस्पर्धा गर्ने नेपाल चेस संघ महिला कमिसनकी प्रमुख मोनालिसा खुम्बुले जानकारी गराएकी छन् ।
प्रतियोगिता स्विस प्रणालीअन्तर्गत नौ चरणको हुनेछ । ३.२ जोनअन्तर्गत हुने प्रतिस्पर्धामा नेपाललगायत बंगालादेश, पाकिस्तान, श्रीलंका र मालदिभ्स गरी पाँच राष्ट्रले सहभागिता जनाउनेछन् । च्याम्पियनसिपमा प्रत्येक राष्ट्रका तीन पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्न पाउनेछन् । च्याम्पियनसिपमा फिडेका ३.१, ३.२, ३.३, ३.४, ३.६ र ३.७ गरी ६ जोनका छनोट चरणका खेल हुनेछन् । प्रत्येक जोनमा शीर्ष तीन स्थान हात पार्ने खेलाडीहरू फाइनल चरणका लागि छनोट हुनेछन् ।
फाइनल चरण पनि स्विस प्रणालीमा नै नौ चरणकै हुने आयोजकले जनाएको छ । छात्रातर्फ शीर्ष तीन फाइनल चरणका लागि छनोट हुनेछन् । खुला जुनियर शीर्ष तीनभित्र पर्ने छात्रा खेलाडीले जुनियर अथवा छात्रा च्याम्पियनसिप फाइनल चरण दुईमध्ये एक छान्न पाउनेछन् र यदि छात्रा च्याम्पियनसिपलाई छनोट गरेमा चौथो स्थान प्राप्त गर्नेे खेलाडी जुनियर फाइनल चरणका लागि छनोट हुनेछन् । फाइनल चरण पनि स्विस प्रणालीअन्तर्गत नौ चरणकै हुने आयोजकले जनाएका छन् ।
नेपाल रहेको जोनको प्रतियोगिता बंगालादेश समयअनुसार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । प्रत्येक खेलाडीले प्रतियोगिता सुरु हुनुअगावै अनलाइनमा दर्ता हुनुपर्नेछ । प्रतियोगिता सुरु भएपश्चात् कुनै पनि खेलाडीलाई प्रतिस्पर्धामा सामेल गराइनेछैन । खेलाडीहरूले प्रतिस्पर्धा समयसम्म अनलाइनमा नै रहनुपर्नेछ । कुनै पनि खेलाडीले आर्बिटरको अनुमतिबेगर आफ्नो कुर्सी छोड्न पाउनेछैनन् ।
विजेतालाई एसियन जुनियर (छात्रा) अनलाइन चेस च्याम्पियनसिप–२०२० घोषित गरिनुका साथै शीर्ष तीन स्थान प्राप्त गर्नेलाई नगद १ हजार ५ सय, १ हजार र ५ सय डलर, स्वर्ण, रजत र कांस्य, तथा प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, महिलातर्फ शीर्ष तीनले ७ सय ५०, ५ सय र २ सय ५० डलर नगद पुरस्कारसहित स्वर्ण, रजत र कांस्यका साथै प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, नेपाल चेस संघले वैकल्पिक खेलाडीलाई अनलाइनलमार्फत हुने च्याम्पियनसिपको अध्ययन गर्न र अनलाइनमार्फत नै जुनियर खेलाडीलाई विभिन्न प्रशिक्षण कार्यक्रमका साथै युथ इम्पावरमेन्ट सेमिनार पनि सञ्चालन गरिरहेको छ ।