पाल्पा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन नमूना मतदान र सुरक्षा अभ्यास गरिएको छ । निर्वाचन एकीकृत सुरक्षा समिति मतदानको दिन हुनसक्ने चुनौतीको सामना गर्न नमुना मतदान र सुरक्षा अभ्यास प्रदर्शनी गरेको छ ।
सुरक्षा चुनौती अभ्यासमा मतदान स्थलमा हुन सक्ने जोखिमलाई नियन्त्रण गर्ने विधि पहिचान गरिएको थियो । सुरक्षा रणनीति र मतदान रोकिएमा पुन सञ्चालन गर्न गर्नुपर्ने सहजिकरणको अभ्यास गरिएको दि फेमस महेन्द्र दल गण, पाल्पाका प्रमुख सेनानी शान्त कुमार थापाले बताए ।
नमुना अभ्यासले मतदान स्थलमा खटिने निर्वाचन प्रहरी, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना बीच हुनुपर्ने समन्वय र सहकार्य सीप बढाएको छ । नमुना मतदानमा सर्वसाधरणको समेत सहभागीता रहेको थियो । नमुना मतदानमा सर्वसाधारणलाई मतपत्र कहाँ लिने, स्वस्तिक छाप लगाउने र मतपत्र रद्द नहुने गरी पट्याउने विधि सिकेको पुरुषोत्तम गरैले बताए ।
एकिकृत निर्वाचन सुरक्षा विधि र नमूना मतदान अभ्यास गाउँ–गाउँमा पु¥याउन सके निर्वाचन शान्तीपुर्ण र भयरहित बनाउन सहयोग पुग्ने देखिन्छ । पाल्पाको क्षेत्र नं. १ मा एक सय १७ वटा र क्षेत्र नं. २ मा ए सय ३४ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनमा १ हजार ५ सय १८ जना कर्मचारीहरू परिचालन हुनेछन् ।






