फागुन । पाल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूले आफ्ना प्रतिवद्धता पत्र सार्वजनिक गर्न थालेका छन् । क्षेत्र नं. २ का नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरे, नेपाली कम्यूनिष्ट पार्टीका उम्मेदवार सोम प्रसाद पाण्डेय र राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार टोप अस्लामीले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । त्यस्तै क्षेत्र नं. १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार हुम बहादुर सुनारी मगरले पनि चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेले सुशासनलाई कार्यशैली बनाउने गरी रिब्दीकोट गाउँपालिकाका स्थानीय नागरिकहरूको बीचमा ९ वटा विशेष क्षेत्र समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । भ्रष्टाचारमुक्त समाज र उत्तरदायी प्रशासन पहिलो प्राथमिकता हुने गरी सुशासन चुनावी नारा मात्र होइन, कार्यशैली हुनेछ भनी प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । गैरेले जनताले सरकारी सेवा लिन सास्ती भोग्नुपर्ने अवस्थाको अन्त्य गर्दै पारदर्शी र सुदृढ प्रशासनिक संयन्त्र निर्माणमा ध्यान केन्द्रित गर्ने जनाएका छन् ।
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सोम प्रसाद पाण्डेयले पत्रकार सम्मेलन मार्फत आफ्नो ५ वर्षे कार्यकालका लागि २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । वन्यजन्तुबाट हुने कृषि जन्य र मानवीय क्षति रोकथाम गर्न कानुन निर्माण र पीडितलाई क्षतिपूर्तिको पहल गर्ने, बाँझो जमिनलाई प्रयोग ल्याई व्यवसायिक कृषि मार्फत युवा रोजगारी सिर्जना गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरेका छन् ।
उम्मेदवार हुम बहादुर सुनारी मगरले पाल्पामा प्रसिद्ध तीनपाने रक्सीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी स्थानीय उत्पादनलाई आर्थिक समृद्धिको आधार बनाउने योजना अगाडी सारेका छन् । उम्मेदवार टोप अस्लामीले पढ्दै कामउँदै अभियान सञ्चालन गरी विद्यालय तहदेखि उच्च शिक्षासम्म आयआर्जनका लागी अध्यनरत विद्यार्थी केन्द्रित कार्यक्रम सञ्चालन तथा आवश्यक नीति निर्माणमा जोड दिने उल्लेख गरेका छन् ।






