त्यो गाउँ, यो गाउँ र अबको गाउँ

त्यो गाउँ : बिहानैदेखि पाल्पा खस्यौली गाउँ पञ्चायतको वरडाँडामा जम्मा भएका मानिस पूर्वतर्फ फर्केर कुनै अपूर्व वस्तु आउने प्रतीक्षा गर्दै थिए । उपस्थितमध्ये धेरैजसो मानिसलाई न त प्रधानमन्त्रीको नाम थाहा थियो, न उनको आगमनसँग कुनै सरोकार । त्यहाँ मानिस वास्तवमा हेलिकोप्टर हेर्न जम्मा भएका थिए । प्रधानमन्त्रीको आगमनको प्रचार गर्न खटिएका चलाख मानिसले प्रधानमन्त्री नभई हेलिकोप्टर आउने हल्ला गरेका थिए । जसरी पनि मानिस जम्मा गर्नु थियो । डेढ÷दुई घण्टाको पर्खाइपछि हेलिकोप्टर ‘ल्यान्ड’ भयो । सारा वातावरण एकक्षणका लागि धुलोले ढपक्क ढाकियो । प्रधानमन्त्री डा. तुलसी गिरी आफूलाई हेर्न र सुन्न ठूलो भिड जम्मा भएको ठानेर मक्ख परे । उनी सारगर्भित भाषण गरिरहे, किन्तु मानिस अलि पर उभिएको हेलिकोप्टर हेर्नमै मग्न रहे ।

स्कुल जाने केटा अँगारको कालो पोतिएको काठको ‘पाटी’ र बस्नका लागि सानो गुन्द्री बोकेर स्कुल जान्थे । कमिज र ‘कट्टु’मा सजिएर स्कुल जाने केटाको लहरमा जुत्ता लगाउनेको संख्या नगण्य हुन्थ्यो । ९५ प्रतिशत जनताले ‘मोटर’ शब्द सुनेका थिएनन् । पाँच÷दश माना मट्टीतेलले वर्ष दिन निर्वाह गर्ने जनताले पेट्रोल र डिजेल’bout सुन्ने कुरा भएन । फाट्टफुट्ट देखिने गोरोवर्णका अमेरिकी र युरोपियन ‘फिरंगी’लाई नजिकैबाट हेर्न केटाकेटी परसम्म पछि लाग्थे । १५ सालको चुनावमा कांग्रेसको पक्षमा भोट दिने धेरैजसो पश्चिम पाल्पाका जनताले काशीनाथ गौतमलाई भोट दिएको सम्झेका थिए । तर, पश्चिम पाल्पामा अच्युतराज रेग्मी कांग्रेसका उम्मेदवार थिए ।

धेरैजसो घरमा रेडियो थिएन । तानसेनबाट पश्चिमतर्फ गोरखापत्र पुग्दैनथ्यो । हजारमा एक जनालाई पनि अखबार’bout थाहा थिएन । झन्डै शतप्रतिशत महिला र ९५ प्रतिशत पुरुष निरक्षर थिए । मानिसलाई सरकार’bout तीन कुरा थाहा थियो । मालपोत उठाउने, दण्डसजाय गर्ने र झारामा काम गर्न खटाउने । देशमा राजा छन् भन्ने कुरा सबैलाई थाहा थियो । मुलुकमा कस्तो राजनीतिक प्रणाली छ र यसको भूमिका के हो भन्ने कुरा ९० प्रतिशत जनतालाई थाहा थिएन । समाजमा सामान्यतः डर , लाज र अनुशासन थियो । मानिसका आकांक्षा सीमित थिए । निर्वाहमुखी जीवनपद्धति थियो । पैसा कमाउने धुन सवार भएको थिएन । केही युवा भारतीय सेनामा भर्ना हुन जान्थे । १६÷१७ वर्षको उमेरमा भर्ती भएका किशोर ३५ वर्षको ढल्दो युवा अवस्थामा घर फर्कन्थे ।

‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नारा यदि सच्चा मनसायले ल्याइएको हो भने गर्ने बेला यही हो

कमाएको पैसा गाउँमै आउँथ्यो । सहर पस्ने ‘चस्का’ लागेको थिएन । सरकार जनताको पहुँचबाट धेरै टाढा थियो । सर्वसाधारण मानिसमा भरसक सरकारी अड्डाभित्र पस्न नपरे हुन्थ्यो भन्ने मानसिकता थियो । जनतामा सरकारी सेवामा प्रवेश पाइएला भन्ने आशा थिएन । साधारण पोसाक, साधारण खाना, साधारण सोच र साधा जीवन नै गाउँको विशेषता थियो । सरकारी नापीमा आवादी जनिएका सबै जमिनमा खेती गरिन्थ्यो ।

महिलाहरू धोती-सारी लाउँथे । अविवाहित बालिकाहरू जामा लाउँथे । कुर्ता÷सुरुवालको चलन धेरैपछि मात्र आएको हो । जनजातिका महिला छड्के घलेक लाउँथे । पुरुषको पोसाक कमिज÷सुरुवाल, धोती र कछाड या लामो दौरा र लँगौटी हुने गर्दथ्यो । हिन्दुस्तानबाट आएका केही व्यक्तिहरू पाटे लुंगीमा सजिन्थे । बाहुन परिवारका केही केटा संस्कृत पढ्न रिडी, मटिहानी या भारततिर जान्थे । २०२५-३० सालपछि धेरैले छोरीलाई पनि स्कुल पठाउन थाले । तर पाँच÷छ कक्षा पढ्दापढ्दै उनीहरूको विवाह हुन्थ्यो ।

पञ्चायती व्यवस्था सुरु भएको आठ-दश वर्षपछि जनस्तरबाट विद्यालय खोल्ने अभियान चलेको थियो । त्यस बखतका शिक्षाप्रेमीको योगदान ठूलो छ । चन्दा उठाएर विद्यालय भवन बने, फर्निचर बने, घरबाट गुन्द्री बोकेर जानुपरेन । सबै जातिका छात्र÷छात्रा एकै ठाउँमा बसेर पढ्दथे । सबै उस्तै देखिन्थे । बोर्डिंङ स्कुलको नामोनिसान थिएन । २०२३-२४ सालपछि काठका पाटीको बदला ‘सिलोट’ र भित्तामा कालोपाटी टाँगेर चकले लेख्ने चलन आयो । राजा महेन्द्रको जन्मदिनमा ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ नारा घन्काउँदै जेठको तातो घाममा लामो यात्रा गर्नुपर्दथ्यो ।

विपन्न घरमा पनि एक हल गोरु र एउटा भैंसी अवश्य पालिएको हुन्थ्यो । कसैकसैले बाख्रा पाल्दथे । जनजाति र अन्य जातिले कुखुरा र सुँगुर पनि पाल्दथे । बाहुन कुरा गर्न सिपालु भए तापनि डोको, नाम्लो, स्याकु बुन्ने आदि शिल्प जान्दैनथे । हलो जोते ‘जात जाने’ त्यस बखतमा निमेक दिने रकमको अभाव हुने बाहुनको जीवन दुष्कर थियो । छुवाछूतको भावना थियो । किन्तु जातीयताका आधारमा हेप्ने र हेपिने चलन थिएन । अपमान र घृणाको वातावरण थिएन । मेलाजात्रामा रक्सी खाएर बाटाघाटामा पल्टिनेप्रति कुनै घृणाभाव राख्ने चलन थिएन । ससुराल जान हिँडेको युवक बाटैमा मदहोस हुनु खासै नौलो कुरा थिएन । ‘खाने जात’ले खानु र खाएपछि तलबितल पर्नुलाई सामान्य मानिन्थ्यो । तर, खाएर मारपिट गर्नुलाई राम्रो मानिन्नथ्यो । केही बाहुन पनि लुकिछिपी मदिरापान गर्न सिक्दै थिए ।

दिनहुँ दारी जुँगा काटेर साध्य नै थिएन । छ्यास्स दारी पाल्ने, यथा समयमा कपाल नधुने र टाउकाको पछाडितर्फ ढल्काएको टोपीमा ३०-३५ उमेरका मानिस बूढा देखिन्थे । २५ वर्षको उमेरमा चार-पाँच सन्तान जन्माएका र खुराक नपुगेका महिला टिठ लाग्दा देखिन्थे । प्रायः अग्लो स्थानमा रहेका गाउँमा पानीको अभाव थियो । पशुलाई खुवाउनका लागि टोलैपिच्छे वर्षाको पानी जम्मा गर्ने पोखरी हुन्थे । दिनदिनै नुहाएर मात्र खाने बाहुन एक लोटा पानीले नुहाउने र लँगौटी धुने गर्दथे । जस्तोसुकै जाडोमा पनि धोती फेरेर खाने चलन थियो । सात÷आठवर्षको उमेरमा व्रतबन्ध भएका बाहुन केटाले दारुण गोता खान्थे ।

दूध, फलफूल, तरकारी आदि बेच्ने बजार थिएन । फलफूल र तरकारीभन्दा अन्नको खेतीलाई प्राथमिकता दिइन्थ्यो । अहिले साह्रै स्वादिला मानिने फर्सी, फर्सीका मुन्टा, सिमी, मूला आदि तरकारीलाई हेयको दृष्टिले हेरिन्थ्यो । केराउ र झिलंगेको दाल प्रसिद्ध थिए । प्रायः सबैको प्रमुख खाना मकैको आटो हुन्थ्यो । भात खान पुग्नेको ठूलो मानमनिता थियो । खाना’boutको सोच अत्यन्त अनुचित, दम्भ र हीनभावनामा आधारित थियो । चाडपर्व र श्राद्ध÷तिथिमा अनिवार्य रूपमा भात पाक्दथ्यो । प्रायः बाहुनसमेत मांसाहारी थिए । तर, वर्षमा औसतमा पाँच÷छ पटकभन्दा बढी ‘मासुभात’ खाने साइत जुर्दैनथ्यो । बाहुनबाहेक अरू जातिमा अलि ज्यादा मासु खाने चलन थियो ।

छोरीबुहारीले तीजमा दुई जोर लुगा पाउँथे । तीजको खाजा, दसैंको रोटी, तिहारको रोटीका परिकार, माघीको ढकनी र सेल÷अर्सा ‘मीठा’ खानेकुरा थिए । रिडीको भव्य मेला, फागु, चैते दसैंमा खेलिने सराय (वाक्खै !), नेवार जातिले निकाल्ने लाखेनाच र जात्रा प्रमुख मनोरञ्जनका माध्यम थिए । स्थानीय स्कुलमा हुने नाटक र ‘कमिक्स’को ठूलो प्रसिद्धि थियो । गाउँमा एकसे एक कलाकार थिए । प्रायः पुरुष तमाखु, चुरोट र लाम्पाते सुर्तीका अम्मली थिए । ‘बाह्रमासे’ यत्रतत्र थिए ।

यो गाउँ : समयले कोल्टो फेरेको छ । गाउँगाउँमा सरकारी स्कुल छन् । शिक्षित र तालिमप्राप्त शिक्षक छन् । शिक्षा निःशुल्क छ । सबै पूर्वाधार छन् । तर, सहरको चस्का यसरी लाग्यो ! गाउँमा पढ्ने विद्यार्थी थोरै मात्र छन् । जो छन्, ‘दामी’ लुगा र जुत्ता लगाएर स्कुल जान्छन् तर पढाइ हुँदैन । सात÷आठ कक्षामा पढ्ने कतिपय विद्यार्थीले कखरा पनि जान्दैनन् । प्रायः सबै पास हुन्छन् । सबैजसो शिक्षक नेता छन् । धेरैजसो अभिभावक पनि नेता छन् । नेता अभिभावकले नेता शिक्षकलाई केही भन्न मिल्दैन । गाउँमा पनि बोर्डिङ स्कुल खुलेका छन् । चाडपर्वको रूप फेरिएको छ । भोकको महŒव बिर्सिएको छ । सबै सुकिला छन्, तर रित्ता ! गाउँमा प्रायः बूढाबूढी बस्छन् । सके सदरमुकाम, नसके स्थानीय बजारमा डेरा गरेर बस्ने ‘सहरिया’ र ‘सभ्य’ भएका छन् ।

अत्यन्तै गुणस्तरीय धान फल्ने लगभग शतप्रतिशत पहाडी खेत बाँझो छ

पहिले श्रमदानबाट मर्मत हुने बाटा कुला, पँधेरा सरकारी बजेटले मात्र मर्मत हुन्छन् । गाउँमा चुनावको समयमा मात्र नभई बाह्रैमास राजनीति हुन्छ । अत्यन्तै गुणस्तरीय धान फल्ने लगभग शतप्रतिशत पहाडी खेत बाँझो छ । ७०÷८० प्रतिशत पाखो बारी बाँझो छ । मोटर बाटोको सञ्जाल, घरघरमा पानी र बिजुलीको सुविधा, नजिकै स्वास्थ्यकेन्द्र र चौकी छन् । फलफूल तरकारी र दूध खरिद गर्ने बजार उपलब्ध छ । तर, ठूलाठूला मोटरगाडी चामल र चिउरा बोकेर गाउँमा आउँछन् र युवायुवती बोकेर फर्कन्छन् । धेरैलाई पढाइयो तर खै के पढाइयो कुन्नि ! युवाले आफ्नो गाउँमा काम गर्नुलाई हेय सम्झने संस्कृतिको विकास भयो । बरु साउदीमा ऊँट र गधा चराउने, मलेसियामा टिम्बर बोक्ने, जापानमा वृद्धवृद्धाको मल सफा गर्ने तर आफ्नो आँगनको घाँस उखेल्नुलाई बेइज्जती ठान्ने चलन आयो । सबैको हातमा मोबाइल छ । दिनको ५ सय ज्याला कमाउने युवाले २ सय ‘डाटा’मा उडाउँछ । सरकार नियन्त्रित दूरसञ्चार सेवा प्रदायक कम्पनी यस्तै कमाइमा मग्न छ । सरकार कर उठेकोमा आत्ममुग्ध छ । हाम्रो सरकार गोरुबिना हलो लिएर खेतमा जान्छ, बाँझो खेतमा बीज छर्छ । विद्यार्थीबिना स्कुल चलाउँछ । युवक विदेश पठाएर स्वदेशको समृद्धिको सपना देख्छ । कता जाँदै छौं हामी ? कस्तोखाले यात्राको रेलागाडीमा सफर गर्नमा उद्यत भए ‘हाम्रा सरकार’ ? अचम्म लाग्छ, यही कालखण्डको सरकारी सेवाको सदस्यको नाताले लज्जाबोध हुन्छ । शिर निहुरिन्छ ।

अबको गाउँ : अति भयो । किन्तु कसलाई दोष दिने ? के यो दोषी नै दोषी बस्ने देश हो ? लोकतन्त्रमा छौं । सबका सब बाठा छौं । सबैले राजनीति बुझिसक्यौं । तथापि, संघदेखि स्थानीय सरकारका पदाधिकारीलाई प्रश्न, समीक्षा र सुझाव मन पर्दैन । जान्ने भएरै त जनताले भोट दिए भन्ने अभिमान छ । समृद्धिको सपना प्रबल छ । किन्तु साकार पार्ने तरिका’bout घोर अलमल छ । स्थानीय सरकारसँग स्रोत छ । स्रोतको सदुपयोग कसरी गर्ने थाहा छैन । यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य आदि सुविधा पाएपछि गाउँका जनता गाउँमै अडिन्छन् भन्ने सिद्धान्त ‘फेल’ भयो यहाँ ।

कोभिड–१९ ले गाउँ बचाऊ, गाउँ बनाऊ, युवा जनशक्तिलाई गाउँमै राख र आत्मनिर्भर ग्रामीण अर्थतन्त्रको विकास गर भन्ने सन्देश दिएको छ । नैतिकता, अनुशासन र जन्मभूमिप्रतिको प्रेम हारेर राजनीतिले जितेको गाउँमा नैतिकता, भाइचारा, परिश्रम र प्रेम कायम गर्ने अभिभारा स्थानीय सरकारको हो । अबको अभियान भनेको अन्नमा आत्मनिर्भर हुने अवस्थाको सिर्जना हो । अनुत्पादक कार्यका लागि दिइएको रोजगारी मिथ्या भूलभुलैया मात्र हो ।

छरे फल्ने सस्यशालिनी धर्ती भएको देशमा छौं । किनेर ल्याएको अन्नको भरमा बाँच्ने वातावरण अब सह्य हुँदैन । अन्न उत्पादन गर्न जुर्मुराएर बसेको जमिनमा झाँगिएको झाडी सफा गरी उत्पादन नगर्दासम्म समृद्धि आउनेवाला छैन । सरकारले सपना देख्ने मात्र होइन, सपनाबाट जाग्नु आवश्यक छ । गाउँको माध्यमबाट राजनीति गर्ने व्यक्ति गाउँमै बस्नुपर्छ । दलले राजधानीमा घर बनाएर बस्नेलाई सांसद पदको र जिल्ला सदरमुकाममा बस्नेलाई गाउँको प्रतिनिधिमा निर्वाचन लड्ने टिकट दिनु उचित हुँदैन । पढेका मानिसले पनि खेतमा काम गर्न, गाईभैंसी, कुखुरा पाल्न र परिश्रम गर्न हुन्छ भन्ने खालको शिक्षादीक्षा दिनुप¥यो । ‘पढिस् भने डाक्टर, इन्जिनियर, हाकिम या मास्टर होलास्, नत्र हलो जोतेर जिन्दगी बिताउनुपर्ला’ भन्ने सोच र शिक्षाले बिगारेको हो हाम्रा गाउँलाई ।

साह्रै धेरै तिलस्मी सपना देखाइयो । अति नै लफ्फाजी गरियो । राजनीतिले देखाएका तिलस्मी सपना गाउँमा साकार हुँदैनन् । यति कुरा बुझेका युवायुवतीले गाउँ छाडेर जानुमा के खराबी भयो ? नेपालको मौलिक जीवन गाउँमा छ । मौलिक रोजगारी गाउँमा छ । सहरले दिने रोजगारी समृद्धिको सूचक होइन । त्यस्तो रोजगारीले नै आत्मनिर्भर गाउँलाई परनिर्भर बनाएको हो । विदेशमा पाएको रोजगारीका आधारमा रमाउन छाडौं । ‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नारा यदि सच्चा मनसायले ल्याइएको हो भने गर्ने बेला यही हो ।

तपाइको प्रतिक्रिया
(Visited 541 times, 1 visits today)

epaper

ताजा समाचार

अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन