मेयर छोडेर संसद छिर्ने दाउमा रणबहादुर

इलाम । दोस्रो कार्यकालको बिचैमा मेयर छोडेर संसद् यात्राको रणनीतिमा होमिएका रणबहादुर राईले ‘समृद्ध इलाम’ निर्माणको सङ्कल्प सार्वजनिक गरेका छन् । फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार राईले ‘समृद्ध इलाम’ निर्माणको रणनीति सार्वजनिक गरेका हुन । राईले अलैँची, चिया, अदुवा, कुचो, सुपारी, कफी र किवीजस्ता नगदे बालीको व्यवसायीकरण, ब्रान्डिङ तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै निर्यातमुखी नीति सुधारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

इलामलाई ‘समृद्ध इलाम’ र प्रदेशकै ‘एजुकेसन हब’ बनाउने योजना

निजी साझेदारी मोडेलमार्फत उद्योगमा नयाँ लगानी भित्र्याउने, कच्चा पदार्थ र विद्युत् आपूर्तिमा देखिएका समस्या समाधान गर्ने तथा उत्पादनलाई बजारीकरणमुखी बनाउने योजना अघि सारेको बताएका छन् । मासु तथा दूध उत्पादन वृद्धि, खोरेँतमुक्त क्षेत्र घोषणा र नस्ल सुधार कार्यक्रममार्फत पशुपालनलाई आधुनिक र व्यावसायिक बनाइने योजना रहेको छ ।

किवी र गाई जोनलाई ‘सुपर जोन’मा स्तरोन्नति गर्दै आलु विकास केन्द्रमार्फत वैज्ञानिक खेती प्रविधि भित्र्याइने उल्लेख छ । कृषि तथा पशु बिमालाई घरदैलोमै पु¥याउने, सुपारी खेतीलाई औपचारिक कृषि उपजमा सूचीकृत गराउने तथा भारतको क्वारेनटाइन सूचीमा नपरेका उपजहरू सूचीकरणका लागि पहल गरिने प्रतिविद्धतामा छ । विद्यालय तथा क्याम्पसहरूलाई डिजिटल ल्याब र अनुसन्धान केन्द्रमा रूपान्तरण गरिने तथा विद्यालय तहदेखि नै कोडिङ र आइटी शिक्षा लागू गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।

इलामलाई कोसी प्रदेशकै ‘एजुकेसन हब’का रूपमा विकास गर्दै उत्कृष्ट शैक्षिक वातावरण सिर्जना गरी देशभरका विद्यार्थी आकर्षित गर्ने लक्ष्य राखिएको छ । शिक्षालाई सीपमूलक र रोजगारमूलक बनाउन तीनै तहका सरकारबिच समन्वय गरी नीतिगत सुधार गरिने उल्लेख छ । अन्तरपालिका पर्यटन गुरुयोजना निर्माण गरी धार्मिक, सांस्कृतिक, शैक्षिक, कृषि तथा साहसिक पर्यटन सर्किट विकास गरिने राईले बताएका छन् । मदन भण्डारी राजमार्गलाई इलाम–१ को आर्थिक मेरुदण्डका रूपमा विकास गर्दै विभिन्न आर्थिक तथा शहरी केन्द्रसँग जोडिने तथा सुरक्षित र व्यवस्थित सहर निर्माण गरिने उल्लेख गरिएको छ । यसै गरी, क्षेत्र नं. १ का सडक सञ्जाललाई वर्गीकरण गरी अन्तरपालिका र अन्तर जिल्ला सडक स्तरोन्नति गरिने योजना छ ।

बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण पूर्वाधार निर्माण, भूमिहीन र सुकुम्वासी समस्याको दीर्घकालीन समाधान तथा वैदेशिक रोजगारीबाट फर्केकाको सीप र उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने योजना छ । आदिवासी, जनजाति तथा स्थानीय समुदायको भाषा, लिपि, कला र परम्परागत ज्ञान संरक्षण गर्दै सांस्कृतिक पर्यटनसँग जोड्ने योजना छ । हात्ती, बाँदर र बँदेलबाट हुने क्षति न्यूनीकरणका लागि वैज्ञानिक समाधान तथा उचित क्षतिपूर्ति व्यवस्था गरिने र बाढी, पहिरो तथा चुरे संरक्षणका लागि तटबन्ध निर्माण र विपद् बिमा कार्यक्रम सञ्चालन गरिने योजना सार्वजनिक गरिएको छ ।

यस्तै, ‘इलाम डिजिटल हब’ स्थापना गरी स्थानीय युवालाई गाउँमै बसेर आइटी तथा आउट सोर्सिङ मार्फत आम्दानी गर्ने वातावरण सिर्जना गरिने तथा तीन तहका सरकार, निजी क्षेत्र र सहकारीबिच समन्वय गरी दिगो विकास लक्ष्य हासिल गरिने राईले बताएका छन् । यस क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण, सबै नागरिकलाई राष्ट्रिय स्वास्थ्य बिमामा आबद्ध गराई ‘डिजिटल हेल्थ रेकर्ड’ प्रणाली लागू गर्ने योजना अघि सारेका छन् । अधुरा खानेपानी आयोजना सम्पन्न गरी प्रत्येक घरमा शुद्ध खानेपानी पु¥याउने तथा कृषि उत्पादन वृद्धि गर्न आधुनिक प्रविधिसहित साना–ठुला सिँचाइ आयोजना निर्माण गरिने राईको योजना छ ।

इलाम १ मा उनका प्रतिद्वन्धिका रूपमा नेकपा एमालेबाट पूर्व प्रदेश सभासद् सदस्य काजीमान कागते छन् भने नेपाली काँग्रेसले युवा उम्मेदवार निष्कल राईलाई अघि सारेको छ । विगतका निर्वाचनहरूमा नेकपा एमालेले विजय हासिल गर्दै आएको ठाउँ हो । स्थानीय तहको पहिलो निर्वाचनमा रणबहादुर राईले पनि एमालेबाटै सूर्योदय नगरपालिकाको मेयर बनेका थिए । स्थानीय तहको दोस्रो निर्वाचनमा भने एमालेबाट फुटेर बनेको समाजवादी र काँग्रेसको गठबन्धनबाट मेयर बनेका थिए ।

अघिल्लो निर्वाचनमा एमालेका महेश बस्नेतले २५ हजार ७५३ मत ल्याएर विजयी बन्दा झलनाथ खनालले २३ हजार ८९ मत ल्याएका थिए । त्यस बेला मङ्गोल नेशनल अर्गनाइजेसनका बुद्ध लाल मेचेले २ हजार ४ सय ४२ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका तोया नाथ शर्मा सापकोटाले १ हजार ५ सय ९९ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी, नेपालका कमल कुमार राईले १ हजार ३ सय १३ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार विक्रम पाण्डेले १ हजार १ सय ८४ मत प्राप्त गरे । यस्तै अर्का स्वतन्त्र उम्मेदवार निमा तेन्जिङ शेर्पाले ६ सय ४० मत पाएका थिए ।

नेपाली काँग्रेस (बी.पी.) का गणेश प्रसाद पौडेलले ३ सय ४७ मत, राष्ट्रिय जनमुक्ति पार्टीका पदम बहादुर लिम्बुले २ सय ६५ मत, स्वतन्त्र उम्मेदवार नेत्र प्रसाद रेग्मीले २ सय ३५ मत प्राप्त गर्दा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीत कुमार मुखियाले १ सय ५१ मत प्राप्त गरेका थिए ।

इलाम–१ मा एमालेका काजीमान, नेपाली काँग्रेसका निष्कल , नेपाली कम्युनिस्ट पाटीका रणबहादुर राई सहित राप्रपाका ज्वाला नेपाल, रास्वपाका विमल गदाल, नेमकिपाका तुलसी केशरी छुँजूू, मङ्गोल नेशनल अर्गानाइजेशनका बुद्धलाल मेचे, उज्यालो नेपाल पाटीका हरिबहादुर गुरुङ, श्रम संस्कृति पाटीका विनोद नेम्वाङ लिम्बू,नेपाल जनमुक्ति पाटीका डम्बरसिंह लिम्बू, नेपाल कम्युनिस्ट पाटीका नारदमणि साङपाङ, जनता समाजवादी पार्टीको तर्फबाट लीला बहादुर सुनुवार र सङ्घीय लोकतान्त्रिक मञ्चका रामप्रसाद लिम्बु चुनावी मैदानमा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

निर्वाचन अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध