मोरङ निर्वाचन क्षेत्र नम्बर २ : आशा, भरोसा र परिवर्तनको खोजीमा मतदाता

सुन्दरहरैंचा (मोरङ) । निर्वाचन मिति नजिकिँदै जाँदा मोरङ निर्वाचन क्षेत्र नम्बर २ राजनीतिक चासो र प्रतीक्षाको केन्द्र बनेको छ । विगतमा प्रायः दुई शक्तिबीच सीमित रहने प्रतिस्पर्धा यसपटक बहुकोणीय बनेको छ, जसले चुनावी समीकरणलाई अझ जटिल र रोचक बनाएको छ ।

परम्परागत रूपमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच कडा टक्कर हुने यस क्षेत्रमा यसपटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सक्रिय उपस्थितिले चुनावी माहौल थप तातेको छ ।

कांग्रेसले पूर्वमन्त्री डा. मीनेन्द्रप्रसाद रिजाललाई उम्मेदवार बनाएको छ । रिजाल यस क्षेत्रका लागि नयाँ नाम होइनन् । २०७४ को निर्वाचनमा उनले तत्कालीन गठबन्धनका उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै कांग्रेसको प्रभाव स्थापित गरेका थिए । तर २०७९ मा पार्टीभित्रको समीकरणका कारण टिकट नपाउँदा कांग्रेस कमजोर बनेको थियो । त्यसबेला सुजाता कोइराला उम्मेदवार भएपनि पराजित हुनुपरेको थियो ।

यसपटक भने कांग्रेसले पुरानो जनाधार पुनर्जीवित गर्ने लक्ष्यसहित रिजाललाई अघि सारेको छ । निर्वाचन प्रचार समितिका सचिव आशीष कार्कीका अनुसार कार्यकर्ता सक्रिय बन्दै गएका छन् र परिणाम सकारात्मक आउने विश्वास गरिएको छ । कांग्रेसले स्थिरता, विश्वसनीय नेतृत्व र विकासलाई मुख्य एजेन्डा बनाएको छ ।

उता एमालेले रंगेली नगरपालिकाका पूर्वप्रमुख दिलीपकुमार अग्रवाललाई उम्मेदवार बनाएको छ । स्थानीय तहमा गरेका विकास निर्माणका कामलाई मुख्य उपलब्धि भन्दै उनी मतदाता माझ पुगिरहेका छन् ।
‘रंगेली जस्तै मोरङ–२ को विकास’ भन्ने नारासहित एमालेले संगठनात्मक शक्ति र अघिल्लो स्थानीय निर्वाचनको नतिजालाई आङ्खनो आधार मानेको छ ।

स्थानीय तह निर्वाचनको तथ्यांकले प्रतिस्पर्धा कति कडा छ भन्ने देखाउँछ । स्थानीय तह निर्वाचनमा २९ वडामध्ये एमालेले १६, कांग्रेसले ११ र माओवादी केन्द्रले २ वडा जितेका थिए । मतगणनामा एमालेले ३१ हजार १ सय ६१ मत ल्याउँदा कांग्रेसले २८ हजार ६ सय ८१ मत पाएको थियो । यही आधारले मुख्य भिडन्त फेरि कांग्रेस–एमालेबीच हुने आकलन गरिएको छ ।

तर यसपटक समीकरण बदल्ने संकेत नयाँ शक्तिको प्रवेशले दिएको छ । रास्वपाबाट कृष्णकुमार कार्की उम्मेदवार छन् । रास्वपाको जिल्ला संगठन विभाग सचिव सुनीलदत्त अधिकारीका अनुसार सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको मुद्दाले विशेषगरी युवालाई आकर्षित गरिरहेको छ ।

त्यसैगरी नेकपाले पुराना कम्युनिस्ट नेता चन्द्रवीर राईलाई अघि सारेको छ । शिक्षण पेसाबाट राजनीतिमा आएका राई लामो समयदेखि वाम आन्दोलनमा सक्रिय छन् । पार्टी नेता प्रकाश पौडेलका अनुसार
विचारधारात्मक राजनीति र जनमुखी कार्यक्रममार्फत मतदाताको विश्वास जित्ने प्रयास भइरहेको छ ।

भौगोलिक रूपमा विविधता बोकेको यो क्षेत्र रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकाका विभिन्न वडाहरू मिलेर बनेको छ । १ लाख २९ हजार १ सय ८४ मतदाता रहेको यस क्षेत्रमा ग्रामीण र शहरी मतदाताको मिश्रणले परिणाम झन् अनिश्चित बनाएको छ ।

विश्लेषकहरूका अनुसार परम्परागत दलहरूको संगठन बलियो भए पनि मतदाताको मनोविज्ञान बदलिँदो अवस्थामा छ । पहिलोपटक मतदान गर्ने युवा, वैदेशिक रोजगारीबाट फर्किएका नागरिक र परिवर्तन चाहने मतदाताको झुकाव यसपटक निर्णायक हुन सक्छ । विकास, रोजगारी, सुशासन र स्थानीय पूर्वाधार अहिले चुनावी बहसका केन्द्रबिन्दु बनेको छ ।

चार स्वतन्त्रसहित १७ उम्मेदवार मैदानमा भए पनि वास्तविक प्रतिस्पर्धा चार दलबीच सीमित देखिन्छ । घरदैलो अभियान, कोणसभा र भेटघाट कार्यक्रम दिनदिनै तीव्र बन्दै गएका छन् । उम्मेदवारहरू उपलब्धि र भविष्यका योजना सुनाउँदै मतदाताको मन जित्ने प्रयासमा छन् भने मतदाता विगतको कामको मूल्यांकन गर्दै अन्तिम निर्णयको घडी पर्खिरहेका छन् ।

मोरङ–२ अहिले केवल एउटा निर्वाचन क्षेत्र मात्र होइन, यो परिवर्तन, भरोसा र भविष्यको दिशा’bout जनताले गर्ने निर्णयको वास्तविक रणभूमि बनेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

epaper

ताजा समाचार

सप्तरीमा एउटा फेला पर्दा अर्को बेपत्ता