नेपालगन्ज । बाँकेका तीनै निर्वाचन क्षेत्रमा मतपेटीकासहित सम्पूर्ण निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नं १ मा आज तथा निर्वाचन क्षेत्र नं २ र ३ मा शनिबार निर्वाचन सामग्री पठाइएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी टेकबहादुर शाहीले बताए । सोमबार मतदान अधिकृतलाई निर्वाचन सामग्री बुझाइने उनले जानकारी दिए ।
“निर्वाचन प्रयोजनका लागि सबै सामग्री पठाएइको छ, सोमबारदेखि मतदान अधिकृतलाई बुझाइन्छ”, उनले भने ।
बाँकेका सीमा नाका तीन दिन बन्द हुने
प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि बाँकेका सीमा नाका मौन अवधि सुरु भएसँगै तीन दिन बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय, बाँकेले सार्वजनिक सूचना जारी गर्दै फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा नाका बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचनका लागि स्वतन्त्र, निष्पक्ष, भयरिहत र विश्वसनीय वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सम्पूर्ण सीमा नाका बन्द हुने जारी सूचनामा उल्लेख छ । भारतसँग बाँकेको सीमा क्षेत्र करिब ६५ किलोमिटर रहेको छ ।






