४१ जनालाई शहीद, सयौ जनालाई घाइते र अंगभंग बनाउने गरी भएको जेनजी आन्दोलनको आँधीबेहरीपछि आज देशमा मध्यावधि निर्वाचन हुँदैछ । सुशासन कायम गर्न नसकेको र तत्कालीन सरकारले सोसल मिडियालाई करको दायरामा ल्याउने नाममा लगाउन खोजेको प्रतिबन्धविरुद्धको आन्दोलनले होनहार युवाको ज्यान लियो । निहत्थामाथिको ज्यादती र राज्य सम्पत्तिमाथिको विद्रुप हमलाले राष्ट्रिय सम्प्रभुताको प्रतीक सिंहदरबार, संसद्, अदालतजस्ता अंगका संरचना ध्वस्त पारिए । यी दुई कारण दुखेको मनमा मलहम लगाउन सक्ने निर्विकल्प ओखतीका रूपमा यो निर्वाचनलाई प्रचार गरिएको छ । निर्वाचनपछि आउने परिणामले मात्र यो ओखती थियो कि थिएन भनेर पुष्टि गर्दैन, जनादेशप्राप्त सरकारले चाल्ने कदम र अख्तियार गर्ने नीतिले सुन्दर र समृद्ध नेपालको सुदूर भविष्य निर्धारण गर्नेछ ।
लोकतन्त्रको सुन्दर फूलबारीभित्र हुर्किएको कुशासनको संस्थागत संरचनालाई राजनीतिक दलहरूले गरेको खुलेआम मलजलको परिणाम २३ र २४ भदौ २०८२ मा सिंगो राज्यले भोग्यो । यो कोणबाट जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको जिम्मेवारीबाट परम्परागत राजनीतिक दल भाग्न पाउँदैनन् । विकृतिविरुद्ध लड्ने नाममा यी दुई दिन मच्चाइएको विध्वंसको जिम्मेवारीबाट उसैगरी नयाँ भनिएका राजनीतिक शक्ति र युवावय पनि भाग्न पाउँदैनन् । यी दुईमध्ये को सही थियो÷हो भनेर जनताले आज फैसला गर्दैछन् । खासमा यो निर्वाचन जेनजी आन्दोलनमा उठेको एजेन्डाको लेखाजोखा भन्दा आन्दोलनपछि उब्जिएको ‘देश जलाउने र देश बनाउने’बीचको कित्ताकाट नै मुख्य हो ।
भदौको आन्दोलनले नेपालको निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन तथा भ्रष्टाचारीमाथि राज्यसंयन्त्रको निर्मम कारबाहीको अपेक्षा पलाएकै हो, तर देशलाई यो परिवर्तन भन्दा ताजा जनादेशमा लैजान बढी मिहिनेत गरियो । यही मिहिनेतको परिणामस्वरूप ताजा जनादेश आउने भयो तर यो जनादेशले परिवर्तनको चाहनालाई बोक्न सक्छ कि सक्दैन भन्ने गम्भीर प्रश्न छ । जेनजी आन्दोलनपछि राजनीतिमा उमेर कित्ताकाटको बहस यसपटक जबर्जस्त उचालिएको छ । राजनीतिक अनुभव, योगदान, त्याग, बलिदान, दूरदृष्टि, कूटनीतिक चातुर्य, जनअपेक्षा बुझाई र सम्बोधनजस्ता धेरै चरित्र र गुणहरूको सम्मीश्रण हो । आन्दोलनपछि यसलाई उमेर समूह र अवधिको गणनामा केन्द्रित गरेर अपव्याख्या गरिएको छ । यो निर्वाचनले नेपालमात्र होइन दक्षिण एसियामै मौलाउँदै गएको यस्ता विद्वेषपूर्ण प्रचारलाई चिर्न सक्छ कि सक्दैन भन्ने अहम् प्रश्न पनि खडा भएको छ ।
विगतमा राजनीतिक दल र सरकारको नेतृत्व गरेकाहरूले जनअपेक्षामाथि अनदेखा गर्दा, आङ्खना र सम्पत्तिको मोहमा फस्दा, आफूलाई निर्विकल्प नेतृत्व ठान्दा भदौमा देशले अकल्पनीय क्षति ब्यहोरेकै हो । यो निर्वाचनले विगतमा देखिएको यो दलीय र नेतृत्वको अहंकारलाई चकनाचुर पार्नुपर्नेछ । सँगसँगै निष्ठा, इमान, निरन्तरता, योगदान, त्याग र समर्पणभन्दा डिजिटल प्रचारबाट स्थापित अनुहारलाई ‘देवत्वकरण’ गर्ने डरलाग्दो ‘रोग र अभियान’लाई पनि निस्तेज पार्नै पर्नेछ । जेनजी आन्दोलनमा उठेका सुशासनको आवाज, शासकीय स्वरूप बदल्ने चाहना, विगतमा राज्यस्रोतमाथि ब्रम्हलुट गर्नेहरूलाई कानुनी कठघरामा ल्याउने कार्य गर्न सक्ने संसदीय शक्ति यो निर्वाचनबाट अपेक्षित छ । दलका घोषणापत्रले यी सबै अपेक्षा सम्बोधन त गरेका छैनन्, तर राम्राहरूमध्येबाट उत्कृष्ट छान्ने ठाउँ भने अवश्य दिएको छ ।
निर्धारित समयभन्दा २ वर्ष अगावै हुन लागेको यो निर्वाचनमा मत बदल्नुअघि र मत खसाल्नुअघि राणा शासनकालदेखि जेनजी आन्दोलनसम्म उठेका सवालको सम्बोधनमा कुन दल खरो उत्रन सक्छ भनेर विचार अवश्य गर्नुपर्नेछ । हामीले अंगालेको निर्वाचन पद्धतिले व्यक्ति होइन, दल रोज्न बाध्य पारेको छ । क्षणिक आवेगले व्यक्ति चयनमा मन जान्छ, तर देशको स्वार्थ र मौजुदा निर्वाचन प्रणालीले व्यक्ति होइन दलको भरोसामा देश छाड्नुपर्छ भन्छ । यस्तो निर्णयमा पुग्न बाध्य पार्छ । नागरिकको सबैभन्दा ठूलो अधिकार ‘मताधिकार’ प्रयोग गर्दा यी मूल सवालमा अवश्य घोत्लिनुपर्नेछ । देश र जनतालाई जिताउने यो महान् अभियानमा तपाई ंको विवेक निर्णायक बनोस्, शुभकामना !






