रोल्पा । चट्याङका कारण रोल्पामा दुई महिलाको ज्यान गएको छ भने एक घाइते भएका छन् । रोल्पा त्रिवेणी गाउँपालिका वडा नं. ७ गाङ नजिक जाङडाँडामा शुक्रबार बिहान पौने १० बजे सविन बुढाको घरमा चट्याङ पर्दा २४ वर्षीया आशा बुढा र उनकी फुवु सासु ७५ वर्षीया खिर्मा बाठामगरको ज्यान गएको हो । चट्याङबाट सविन सामान्य घाइते भएको वडा नं. ७ का वडाध्यक्ष भानबहादुर घर्तीमगर बताए ।
चार जनाको परिवार घरमै बसिरहेका बेला हावाहुरी र पानीसंगै परेको चट्याङले आशा र खिर्मा बेहोस भएका थिए । संगै बसेका आशाका श्रीमान सविनलाई सामान्य चोट लागेको र आशाको काखमा बसेको २ वर्षीय बालक भने सकुशल रहेको त्रिवेणी गाउँपालिका रोल्पाकी उपाध्यक्ष सावित्रा बुढा घर्तीमगर जानकारी दिइन् ।
घटना लत्तगै गाउँले र जनप्रतिनिधिले उनीहरुको उद्धार गरेको र गाउँपालिकाको गाडीमा राखी उपचारका लागि जिल्ला अस्पताल रेउघा पठाउदै गर्दा बाटोबाटै जिल्ला अस्पतालबाट आएको एम्बुलेन्सबाट अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याएर उपचार गर्ने क्रममा दुवै जना महिलाको मृत्यु भएको जिल्ला अस्पतालका डा. प्रकाश बुढाले जानकारी दिए ।
मृतक आशा बुढाकी फुवु सासु खिर्मा बाठा माइती भदैको घरमा माइतमा आएकी थिईन । घाइते सविनको सामान्य उपचार पछि घर पर्किने क्रममा छन् भने मृतक दुवै महिलाको जिल्ला अस्तपालमा पोष्टमार्टम भइरहेको र गाउँमा ल्याई दाहसंस्कार गरिने गाउँपालिका उपाध्यक्ष बुढाले जानकारी दिइन् ।






