दाङ । दाङको बबई गाउँपालिकाका निकुञ्ज पीडितले निर्वाचन बहिष्कार गरेका छन्।
बबई गाउँपालिका वडा नम्बर १ जिला र वडा नम्बर ७ मलईका स्थानीयले निर्वाचन बहिष्कार गरेका हुन्। स्थानीयले निर्वाचन बहिष्कार गर्दै मतदानमा सहभागी नभएपछि दुई मतदान स्थलमा मतदान सुरु हुन सकेको छैन।
बिहान ७ बजेदेखि मतदान सुरु भएको भए पनि करिब साढे ९ बजेसम्म वडा नम्बर १ को जनता आधारभूत विद्यालय जिला र वडा नम्बर ७ को देउती मावि मलई मतदान स्थलमा एक जना पनि मतदाता उपस्थित भएका छैनन्।
दाङ प्रमुख जिल्ला अधिकारी विश्वप्रकास अर्यालका अनुसार मतदानको सबै प्रकृया पूरा भएपनि मतदान मतदानका लागि एक जना पनि उपस्थित हुन नसकेको जानकारी दिए । ‘निर्वाचनको सबै प्रक्रिया पूरा भएको छ। अहिलेसम्म मत भने खसेको छैन’ उनले भने।
अर्यालले मतदाता मतदान स्थलमा पुग्दै गरेको हुन सक्ने विश्वाससमेत व्यक्त गरेका छन्। कर्मचारीहरू भने मतदालाई कुरेर बसेका छन्।
बाँके राष्ट्रिय निकुञ्ज प्रभावित क्षेत्रमा रहेका यी दुई केन्द्रमध्ये जिला मतदान स्थलमा ६८२ जना र मलई मतदान स्थलमा ५३२ जना गरी कुल एक २१४ मतदाता रहेका छन्।
निर्वाचनको मिति घोषणा भएपछि आफूहरू राष्ट्रिय निकुञ्जबाट प्रभावित भएको भन्दै यहाँका स्थानीयले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका थिए।






