काठमाडौं । मुलुकको राजनीतिक मुटु मानिने राजधानी काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता हासिल गरेको छ । गए रातिदेखि सुरु भएको मतगणनाको प्रारम्भिक नतिजा अनुसार काठमाडौंका सबै क्षेत्रमा ‘घण्टी’ को लहर देखिएको हो ।
काठमाडौं क्षेत्र नम्बर १ मा रास्वपाकी रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरेकी छन् । उनले नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीलाई ५ हजार ८४८ मतान्तरले पछाडि पारेकी छन् । थापाले ४ हजार ७३३ मत मात्र प्राप्त गरेका छन् । राप्रपाका रवीन्द्र मिश्र २ हजार ७४४ मतका साथ तेस्रो स्थानमा छन् ।
क्षेत्र नम्बर २ मा भने रास्वपाका सुनिल केसी र एमालेका मणिराम फुयालबीच रोचक प्रतिस्पर्धा देखिएको छ । केसी ४२४ मतका साथ अगाडि रहँदा फुयालले २३६ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डेले ४ हजार ६४९ मतका साथ अग्रता लिँदा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ ३ हजार ३४१ मतका साथ दोस्रो स्थानमा छन् ।
क्षेत्र नम्बर ४ मा पुकार बम ३ हजार ९२२ मतसहित अग्रस्थानमा छन् । उनलाई कांग्रेसका सचिन तिमिल्सिना र एमालेका राजन भट्टराईले पछ्याइरहेका छन् । क्षेत्र नम्बर ५ मा सस्मित पोखरेलले ३ हजार ७०० मत प्राप्त गर्दा कांग्रेसका प्रदीप पौडेल १ हजार ७८ मतमा सीमित भएका छन् ।
त्यसैगरी , क्षेत्र नम्बर ६ मा शिशिर खनाल र क्षेत्र नम्बर ७ मा गणेश पराजुलीले ४ हजार ६०० भन्दा बढी मतका साथ फराकिलो अग्रता बनाएका छन् ।
त्यस्तै , क्षेत्र नम्बर ८ मा विराजभक्त श्रेष्ठ ७ हजार ६१७ मतका साथ जितको नजिक पुगेका छन् । उनले कांग्रेस , एमाले र माओवादीका उम्मेदवारलाई निकै पछाडि पारेका छन् ।
क्षेत्र नम्बर ९ मा रास्वपाका डिपी अर्याल १ हजार ५५२ मतका साथ पहिलो स्थानमा छन् । क्षेत्र नम्बर १० मा पनि प्रदीप विष्ट ५ हजार ७६५ मतका साथ अगाडि छन् । उनलाई नेपाली कांग्रेसका हिमाल कार्कीले १ हजार ७८ मतका साथ पछ्याइरहेका छन् ।






