पर्सामा भूईं तहको संगठन भएका उम्मेद्वार अक्क न बक्क

वीरगन्ज । भूईं तहसम्म सु–सज्जित संगठन भएका पुराना दलका उमेद्वारलाई अक्क न बक्क पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) घण्टी छापका उमेद्वारको मत अग्रता पर्सामा पनि फराकिलो बन्दै गएको छ । पर्साका चारवटै निर्वाचन क्षेत्रमा रास्वपाका उमेद्वारको अग्रता अझ फराकिलो बन्दै गएको हो ।

यो समाचार तयार पार्दासम्म नयाँ र पुराना सबै पार्टीका उमेद्वारलाई घण्टी छापका उमेद्वारको प्राप्त मतले हेरेको–हेरेकै पारेको छ । पर्साको क्षेत्र नम्बर १ मा रास्वपाका उमेद्वार घण्टी छापका बुद्धि प्रसाद (हरि) पन्तले साँझसम्ममा ५ हजार ९ सय १५ मत ल्याई सबै प्रतिस्पर्धीलाई पछाडी पारेका छन् । उनका निकटतम प्रतिद्धन्दी पूर्वमन्त्री सूर्य छापका प्रदिप यादवले ३ हजार ३ सय २ मत ल्याई पच्छ्याई रहेका छन् । त्यसैगरी रुख चिन्हका अनिल रुँगटाले पनि २ हजार ६ सय ८७ ल्याई यादवलाई पच्छ्याई रहेका छन् । अन्य उमेद्वार भने निकै कम मत ल्याई पुछारतिर रहेका छन् ।

पर्साको क्षेत्र नम्बर २ मा पनि घन्टी छापका सुशिल कुमार कानुले ९ हजार ४ सय ३२ मत ल्याई पूर्व कानूनमन्त्री समेत रहेका अजयकुमार चौरसियालाई निकै तल छाडेका छन् । रुख चिन्हका चौरसियाले ३ हजार ९ सय ७५ मत मात्र ल्याएको निर्वाचन अधिकृत मधुसुदन आचार्यले बताए । सूर्य चिन्हका रीमा कुमारी यादवले पनि ३ हजार ६ सय मत ल्याई उनलाई पनि पच्छ्याई रहेकी छन् ।

त्यसैगरी पर्साको क्षेत्र नम्बर ३ मा पनि पछिल्लो अपडेट अनुसार घण्टी चिन्हका रामाकान्त प्रसाद चौरसियाले ४ हाजर १ सय ११ मत ल्याई पूर्व मन्त्री सुरेन्द्र चौरसियालाई पछि पारेका छन् । चौरसियासँगै सूय छापका रुपेश कुमार पाण्डे पनि १ हजार ९ सय १३ मत ल्याई पच्छ्याई रहेको क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत बुद्धिनारायण श्रेष्ठले जानकारी दिए । अरु उमेद्वारले भने ५ सय पनि कटाउन नसकेको उनको भनाइ छ ।

पर्साको क्षेत्र नम्बर ४ मा पनि घण्टी छापकै टेकबहादुर शाक्यले पूर्व मन्त्री रमेश रिजाललाई निकै पछि छाड्दै २ हजार ६ सय ७७ मतसहित अग्रस्थान बनाएका छन् । उनलाई पछ्याउँदै गरेका रुख चिन्हका रिजालको ८ सय ८१ मत प्राप्त गरेका छन् । त्यसैगरी सूर्य चिन्हका एमाले नेता जालिम मियाले शाक्यको भन्दा निकै कम ४ सय ३८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पर्सामा रोचक त के छ भने यहाँका चारवटै निर्वाचन क्षेत्रमा पुराना पार्टीका पूर्व मन्त्रीहरुसँगै घण्टी छापका सामान्य नेताहरुको उमेद्वारी थियो । यो उमेद्वारी अहिले पुराना र पूर्वमन्त्री भइसकेका एमाले काँग्रेस पार्टीका नेताका लागि प्रतिष्ठा नजोगिने आँकलन स्थानीयमा बढेर गएको छ ।

पर्साको क्षेत्र नम्बर १ मा झन तीन पटक मन्त्री भएका प्रदिप यादव ह्याट्रिक गर्ने दाउमा थिए । घण्टी छापका पन्तको फराकिलो मत अन्तरले उनलाई पनि तनाव थपिएको छ । पर्सा क्षेत्र नम्बर १ मा झन पैसावाल उमेद्वारसँग पौठेजोरी खेल्न खोज्नु पन्तको भूल भएको बताउने पनि अहिलेको मत परिणामले तीन छक्क पर्न थालेको स्थानीयको तर्क छ ।

भूईं तहमा जोडिएका एमाले, काँग्रेस जस्ता ठूला र पुराना पार्टीका नेताहरुको पराजय हुने संकेत जिल्लास्तरीय नेता कार्यकर्ताको अहँकार र माथिका पार्टी प्रमुख तथा नेतृत्वकर्ताको कपडाको फेर समातेर आफूभन्दा जुनियर नेता कार्यकर्तालाई केही नदेख्ने शैलीले रास्वपाको पछिल्लो मत अन्तर झन फराकिलो हुने आँकलन सर्वसाधारणको छ ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल