कोभिड–१९ : डिप्रेसन र मेनिया दुवै घातक

दिनपछि रात र जन्मपछि मृत्यु भएझैं सुख–दुःख, राम्रो–नराम्रो, संयोग–वियोग पनि नियमित चक्रका दुई पाटा हुन् । यसैले ब्रह्माण्डको नियमित चक्रमा प्राकृतिक विपत्ति, भौगोलिक उथलपुथल र जैविक सन्तुलन सामान्य क्रियाकलापअन्तर्गत नै पर्दछन् । ब्रह्माण्ड तथा पृथ्वीका प्राकृतिक परिवर्तन विश्व ब्रह्माण्ड सिस्टमबाटै सञ्चालित हुने भएकाले मानव गतिविधिबाट सन्तुलन बिग्रिन थाल्दा प्रकृतिले नियमनकारी भूमिका निर्वाह गरेको हुन्छ । संसारको इतिहासमा अनेकौंपटक देखापरेका आकस्मिक जलवायु परिवर्तन तथा महामारीका घटनालाई प्रकृतिको नियमनकारी भूमिकाअन्तर्गत राख्न सकिन्छ ।

मानव स्वयं प्रकृतिको अंश भएकाले प्रकृतिका घटकबीच तीव्र परिवर्तन र नवीन समीकरण हुन थाल्दा मानव मनमा पनि ज्वारभाटाहरू चल्न थाल्दछन् । परिणामतः प्राकृतिक विपत्तिका बेलामा मानव मनले पनि सन्तुलन गुमाउन पुग्दछ र असाधारण क्रियाकलाप देखाउन थाल्दछ । प्राकृतिक वा महामारीजन्य विपत्तिका बेला एकथरी मानिस म्यानिक व्यवहार देखाउन थाल्दछन् भने अर्काथरी विपत्तिका कारण संसारलाई सदाका लागि अन्धकारमय देखी उदासीन वा डिप्रेस्ट व्यवहार गर्न थाल्दछन् । दुवै अवस्थामा आत्मसंयम गुम्ने भएकाले जीवनका लागि डिप्रेसन र मेनिया दुवै अवस्था घातक हुन्छन् ।
कोभिड–१९ को सन्त्रास बढ्दै जाँदा धेरै मानिस आवश्यकताभन्दा बढी डराएर जीवनको सामान्यावस्थाबाट विचलित बनेका छन् । विपत्तिबाट बच्न पूर्वसावधानी अपनाउनु तथा सामनाका लागि आवश्यक तयारी गर्नु स्वाभाविक भए पनि निराशा र एन्जाइटीको मात्रा निकै बढ्न गई असाधारण र अतार्किक क्रिया गर्न थाल्नु स्वस्थ मानसिकताको परिणति मान्न सकिन्न ।

हात धोएर संक्रमित हुनबाट बच्न सकिन्छ भन्दैमा हातको छाला खुइलिने गरी धुने अब्सेसिभ कम्पल्सिभ व्यवहार बढ्दै जाँदा हरेक मिनेटमा स्यानिटाइजरको प्रयोग, पैसा र कपडाहरू पकाएर विषाणुरहित पार्न खोज्ने डिल्युजन र सस्पेक्टिभ अवस्थामा केही व्यक्ति पुग्न थालेको देखिन्छ । मानसिक स्वास्थ्यका दृष्टिकोणले यो अवस्था भयानक मनोदुर्घटनाको तयारी अवस्था हो । दुई साता वा सोभन्दा लामो समय अतिशंका र त्रासले विक्षिप्त अवस्थामा रहिरहने हो भने पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर, गम्भीर डिप्रेसन, अब्सेसिभ कम्पल्सिभ डिसअर्डर अनि डिल्युजन र सस्पेक्सनका कारण व्यक्तित्व विघटन तथा स्किजोफेर्नियाको अवस्था सिर्जना हुन सक्दछ । जुन अवस्था जीवनलाई दुर्घटित पार्ने प्रमुख कारक बन्न सक्दछ । यसै कुरालाई दृष्टिगत गरी विश्व स्वास्थ्य संगठनले महामारी केही समयमा नियन्त्रणमा आए पनि यसको मनोवैज्ञानिक दुष्प्रभाव हराएर जान वर्षौं लाग्ने चेतावनी दिएको छ ।

रचनात्मक क्रियाकलापसहित व्यवहार तथा मनमस्तिष्कलाई सन्तुलित राख्नुपर्छ

संसार नै त्राहिमाम बनिरहेको वर्तमान अवस्थामा अर्काथरी मानिसको आत्मविश्वास यति बढिरहेको हुन्छ कि जुन अवस्थाको अनुभव उनीहरू स्वयंले जीवनमा कहिल्यै पनि नगरेका हुन सक्दछन् । विपत् बढ्दै जाँदा यस्ता व्यक्तिमा विपत्तिले त्रास थप्नुको सट्टा उमंग थपिदिन्छ । व्यक्ति आफू यस्ता विपत्तिलाई सहज रूपमा सामना गर्ने अमूर्त योजना बनाउँछ । संकटलाई अति कम आँकलन गरेका कारण यस्ता व्यक्ति आधारभूत सुरक्षा सावधानीलाई पनि नकार्न पुग्दछन् । वास्तविक रूपमा आफ्नो कत्ति पनि हुती नहुँदा पनि पखेटाबिना उड्न सक्ने, उपचारबिना गम्भीर रोगबाट मुक्त हुने, आधारबिना महŒवपूर्ण र बृहत् योजना पूरा गर्ने मनसाय यस्ता व्यक्तिमा पाइन्छ । यिनीहरूले गरेको मुख्र्याइँलाई सुरुसुरुमा नजिकका मान्छेले उसको बहादुरी र साहस ठान्न सक्दछन् ।

जीवनका लागि चाहिने आधारभूत आवश्यकताबिना नै चमत्कार गरेर देखाउने फुर्ति छाँट्ने यी व्यक्तिहरू आफंैलाई पनि ‘म मेनियाबाट ग्रस्त छु’ भन्ने पटक्कै ठान्दैनन् बरु आफूलाई जस्तोसुकै समस्या समाधान गर्ने असाधारण ‘आइडिया’ भएको व्यक्ति ठान्दछन् । मेनियाको क्रम बढ्दै गएपछि जोखिमलाई अँगालो मार्न थाल्दा यस्ता व्यक्तिको जीवन दुर्घटनामा पर्दछ । कोभिड–१९ को सन्दर्भमा मेरो इम्युन कडा छ, भाइरसले छुनै सक्दैन, छोइहाल्यो भने बेसार छँदै छ नि भनेर बेपर्वाह काम गर्ने व्यक्तिहरू उनीहरू स्वयं तथा समाजका लागि नै घातक बन्दछन् । नेतृत्वको यस्तै म्यानिक व्यवहारका कारण अमेरिकाले ठूलो क्षति बेहोर्दै गरेको आशंका गर्न थालिएको छ ।

जीवन सधैं एकैनासको हुँदैन र हुनु पनि हुँदैन । यदि त्यस्तो हुने हो भने र जीवनका सम्पूर्ण कुरा क्रमबद्ध हुन्थे भने जीवन नै दिक्दार लाग्दो हुन्थ्यो । रहस्यमय भएकाले नै जीवन सधैं नवीन रहन सकेको छ । प्राकृतिक तथा महामारीजन्य विपत्ति सधैंभरि आउने पनि होइनन्, एउटा उत्कर्षमा पुगेपछि विपत्ति साम्य हुन्छ र तुरुन्तै संसार सामान्यीकरणतर्फ लाग्दछ । २०७२ सालको भूकम्पले तर्सिएर आफ्नो दुईतले घरमा बस्न नसकी पालमा बसेका मेरा एक छिमेकीको प्रसंग यहाँ सान्दर्भिक देखिन्छ । उनी भन्थे, ‘ज्यामी पाए त माथिल्लो तला भत्काइदिन्थें र आफ्नै घरभित्र बस्थें तर के गर्नु आफ्नै घर कालको पासोजस्तो लाग्न थालेको छ ।’ भूकम्पको एक वर्षपछि उनको व्यवहार र सोचमा आमूल परिवर्तन आयो अनि भन्न थाले, ‘माथि एउटा तला थप्न लागेको छु, यति भए तलका दुई तला भाडामा दिएर आफू माथिल्लोमा बस्न राम्रो पनि हुन्छ ।’ उनले भूकम्पताका हडबडाउँदै भनेका कुरा त पूर्ण रूपमा बिर्से अनि सामान्यावस्थामा फर्के तर मेरो स्मृतिमा ती दुवै प्रसंग ताजा रहेका छन् ।

यसपटकको महामारीले छियाछिया पारेको मनमा समयले छिट्टै मलम लगाउनेछ र मान्छेले आफूलाई कालजयी ठान्न थाल्नेछ । यद्यपि विपत्ति र सम्पत्तिको चक्र निरन्तर चलिरहनेछ । दुःख, कष्ट र विपत्ति नभएको कुनै पनि ठाउँ हुन सक्दैन । विपत्तिबाट भागेर कहिल्यै उन्मुक्ति पाइँदैन तर विपत्ति सामनाका लागि सदा तयार रहनुपर्दछ । यसैबाट विकासको क्रम अगाडि बढ्न सक्दछ । विपद्का अवस्थामा अति त्रस्त वा बेसुरे बन्नु दुवै घातक भएकाले सही आहार, विहार र संगतका माध्यमबाट व्यवहार तथा मनमस्तिष्कलाई सन्तुलित राख्न कोसिस गर्नुपर्दछ ।
(लेखक मनोवैज्ञानिक परामर्शदाता हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारद्वारा रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी, के गर्न पाइन्छ, के पाइदैन ?

कुरी-कुरी