भारतमा पनि राम्रो चल्यो अनमोलको ‘जेरी अन टप’

काठमाडौं । भारतमा नेपाली चलचित्र रिलिज गर्न अझै पनि त्यत्ति सजिलो छैन । सेन्सर सहित विभिन्न समस्या पार गरेर भारतमा वर्षमा ४÷५ वटासम्म नेपाली चलचित्र रिलिज हुने गर्दछन् । यसै क्रममा अभिनेता अनमोल केसी अभिनीत नेपाली चलचित्र ‘जेरी अन टप’ भारतका विभिन्न सहरमा अहिले प्रदर्शन भइरहेको छ । नेपालमा ठुलो व्यापार गर्न सफल भएको यो चलचित्र अहिले भारतीय बजारमा पनि नेपाली भाषी दर्शकमाझ राम्रो प्रतिक्रिया पाउन थालेको निर्माण पक्षले जनाएको छ ।

नेपालमा रिलिज भएको चार महिनापछि यो चलचित्र गत शुक्रवार भारतमा रिलिज भएको हो । नेपाली समुदायको उल्लेख्य बसोबास रहेका भारतका दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकाता लगायतका सहरका चलचित्र घरहरूमा यो चलचित्र प्रदर्शन भइरहेको वितरक पक्षले जनाएको छ । यसका निर्माता सरोज न्यौपानेका अनुसार भारतमा पनि पहिलो हप्ता यो चलचित्रले राम्रो दर्शक पाएको छ । दार्जिलिङ, सिक्किम, देहरादुन, कालिङपोङ, सिलिगुरी जस्ता नेपालीभाषीको बसोबास भएको सहरका चलचित्र घरमा धेरै सोहरू हाउस फूल भइरहेका छन् ।

नेपाली भाषी दर्शकलाई लक्षित गर्दै फेब्रुअरी २७ देखि भारतमा यो चलचित्र रिलिज सुरु गरिएको थियो । यो शुक्रवारबाट अझ धेरै चलचित्र घर ‘जेरी अन टप’ले पाएको निर्माण पक्षले जनाएको छ । यो चलचित्र भारतमा रिलिजको पूर्व सन्ध्यामा सिक्किमको गान्तोकमा भव्य प्रिमियर शो आयोजना गरिएको थियो । निर्वाचनकै मुखमा अभिनेता अनमोल केसी चलचित्रको टिमसँग प्रिमियर कार्यक्रममा सहभागी भएका थिए ।

अभिनेता अनमोलसँगै अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङलगायत कलाकार तथा प्राविधिक टोली पनि सिक्किमको प्रिमियरमा सहभागी भएका थिए । कार्यक्रममा गायक तथा संगीतकार कालीप्रसाद बाँसकोटाले पनि विशेष सांगीतिक प्रस्तुति दिएका थिए । प्रिमियरपछि सिक्किममा आइतबारसम्म पनि यो चलचित्र हाउसफुल भइरहेको निर्माण पक्षको कथन छ ।

भारतमा प्रदर्शन सुरु भएपछि पहिलो सातामा ‘जेरी अन टप’ले नेपाली दर्शकको उल्लेख्य उपस्थिति पाएको वितरक पक्षको दाबी छ । सामाजिक सञ्जालमा दर्शकले चलचित्रको कथा, छायांकन तथा अनमोल केसीको अभिनयको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएको यसको निर्माण पक्षले जनाएको छ ।

नेपालमा यो चलचित्रले उल्लेखनीय व्यापार गरेको थियो । प्रदर्शनको करिब तीन साताभित्रै यो चलचित्रले नेपालमा ११ करोड ४३ लाख रुपैयाँभन्दा बढी कमाइ गर्दै यो वर्षको सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्र बन्न सफल भएको थियो । तर, यति बेला भने यो चलचित्र २०८२ सालको धेरै कमाउने सूचीको तेस्रो स्थानमा पुगेको छ ।

सुयोग गुरुङको निर्देशनमा बनेको यो चलचित्रमा अनमोल केसीसँगै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी र उषा खड्गीको अभिनय रहेको छ । हिमाल आरोहणको पृष्ठभूमिमा आधारित प्रेमकथालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रले नेपालका प्राकृतिक सौन्दर्य र पर्यटनलाई पनि आकर्षक ढंगले प्रस्तुत गरेको छ ।

नेपालमा उत्कृष्ट व्यापार गरेपछि अहिले भारतमा समेत प्रदर्शन भइरहेकाले यो चलचित्र विभिन्न देशमा यस अघि नै रिलिज भइसकेको थियो । यसले अस्ट्रेलिया, जापान, अमेरिका लगायत अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो व्यापार गरेको निर्माण पक्षले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रपति पौडेलले गरे सरकारले पठाएको अध्यादेश जारी